विचार/दृष्टिकोण |

वैज्ञानिक अन्वेषणको आशा (सम्पादकीय)

आधुनिक युगमा कुनै पनि देशको विकास एवं समृद्धि विज्ञान तथा प्रविधिको अन्वेषणबिना असम्भव छ । विश्वका अधिकाङ्श विकसित देशको आर्थिक तथा भौतिक उन्नतिको आधार नवीन वैज्ञानिक प्रविधि नै हुन् । वैज्ञानिक अन्वेषणबिना नयाँ उपलब्धि हुन सक्दैन । नवीन अन्वेषणले नै देशको सर्वाङ्गीण विकासमा सहयोग पु-याउँछ । अगाडि बढ्न देश र समाज सुहाउँदा प्रविधि आवश्यक पर्छ । उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी प्रविधिको विकास गर्न थप वैज्ञानिक चिन्तन र प्रयास आवश्यक पर्छ । वैज्ञानिक सोच, चिन्तन र अन्वेषणले परम्परागत समाजलाई आर्थिक तथा सामाजिक रूपान्तरणमा मार्ग प्रशस्त गर्ने कुरालाई विर्सन मिल्दैन ।

विज्ञानको यो उपलब्धि र प्रयोगको तथ्यलाई मनन गर्दै ४५ वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को स्थापना गरिएको हो । निश्चय नै स्थापनाको झन्डै आधा शताब्दीको अवधिमा नास्टले केही वैज्ञानिक अध्ययन तथा अनुसन्धानका गतिविधि अगाडि नबढाएको पक्कै पनि होइन, तथापि विविध कारणले यसले अपेक्षित गति लिन नसकेको यथार्थ भने स्वीकार गर्नैपर्छ । तसर्थ नास्टलाई बदलिँदो समय एवं परिस्थितिअनुरूप अझ द्रुततर गतिमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । अध्ययन र वैज्ञानिक अन्वेषणमा यसले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने छ ।

नास्टको शुक्रबार सम्पन्न ४५औंँ प्राज्ञ सभामा प्रधानमन्त्री एवं नास्टका कुलपति शेरबहादुर देउवाले नास्टलाई सशक्त र युग चेतना समात्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । अहिले नास्टका गतिविधि काठमाडाँैं उपत्यकामा मात्र केन्द्रित छ । देश सङ्घीय संरचनामा गइरहेको सन्दर्भमा यसले देशका सातै प्रदेशमा विस्तार गरी काम गर्नुपर्ने आवश्यकता छ । देशका कुनाकाप्चाका स्थानीय मौलिक प्रविधिको थप विकास गर्नेतर्फ नास्टले ध्यान दिनुपर्ने छ ।

प्रधानमन्त्रीले नास्टलाई विस्तार गर्न आह्वान गरेसँगै सरकारको पूरा सहयोग रहने कुरामा दुईमत छैन । नेपाली गाउँघरसँग वर्षांैदेखि प्रयोगमा आइरहेका अनेक मौलिक प्रविधि छन् । ती मौलिक र प्रयोगमा आएका प्रविधिलाई आधुनिक सूचना र सञ्चारका नवीनतम प्रविधिसँग जोड्नु आवश्यक छ । त्यसले ती मौलिक प्रविधिका कार्यक्षमतामा व्यापक परिवर्तन आउने छ । मुलुकका सातै प्रदेशमा नास्टको विस्तार गर्न प्रधानमन्त्रीले दिनुभएको निर्देशनबाट नास्टलाई थप प्रभावकारी बनाउन सकिनेछ र यो नास्टका लागि काम गर्ने ठूलो अवसरसमेत हो । कुनै पनि संस्थाले आफ्ना कमीकमजोरी सुधार गर्दै अगाडि बढ्दा संस्थाको हित त हुन्छ नै, समग्रमा देशकै हित हुनेछ । सरकारले विज्ञान, प्रविधिको विकासलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पक्कै पनि यस क्षेत्रमा सकारात्मक भावनाको सञ्चार गर्नुका साथै भविष्यका लागि कार्यमूलक योजनाका साथ नास्ट अगाडि बढ्न सक्नेछ ।

विशेषतः नास्टले मुलुकको प्रविधि सुहाउँदो वैज्ञानिक खोज र आविष्कारलाई प्राथमिकता दिने हो । वैज्ञानिक खोज र आविष्कारका लागि आधार तयार पार्नसमेत नास्टको भूमिका हुनसक्छ । यसैगरी यसले नयाँ तथा युवा वैज्ञानिक तयार गर्ने संस्थागत भूमिकासमेत निर्वाह गर्नुपर्छ । समकालीन विश्वमा देश विकासका लागि अन्य देशमा खोज तथा विकास गरिएका नवीन वैज्ञानिक प्रविधिको विकास एवं प्रविधि भिœयाउनु र तिनलाई देशको आवश्यकताअनुरूप प्रयोग गर्न उत्प्रेरित गर्नु जरुरी हुन्छ । नास्टले यस्ता विषयलाई महìवका साथ अगाडि बढाउनु समग्रमा मुलुकको हितमा हुनेछ ।

हाम्रोजस्तो मुलुकमा युवामाझ वैज्ञानिक खोजप्रति अभिरुचि वृद्धि गर्न नास्टजस्ता संस्थाले महìवपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । यसबाट भविष्यमा स्वदेशमा नै थप वैज्ञानिक तयार गर्न सकिने वातावरण निर्माण हुन्छ । सर्वसाधारण जनताको जीवनस्तरमा गुणस्तरीय सुधार ल्याउने कार्यमा सघाउ पुग्छ । यी कार्य सम्पन्न हुन सके विज्ञान तथा प्रविधिको माध्यमबाट समग्रमा मुलुक तथा मुलुकवासीको मुहार उजिल्याउने कार्य सम्भव हुनेछ । वैज्ञानिक सोच र चिन्तनमा आधारित विकासले कम लागतमा बढी उपलब्धि हासिल गर्न सकिन्छ । खासगरी नेपालमा रहेको अपार जलस्रोतको उपयोगमा अझ नवीन प्रविधिको विकास आवश्यक छ । देशभित्रका बहुमूल्य जडीबुटीबाट औषधिको अन्वेषण र विकासमा नास्टले आवश्यक भूमिकासमेत निर्वाह गर्न सक्छ । नास्टको त्यसतर्फ ध्यान जानु जरुरी छ ।