विचार/दृष्टिकोण |

गोरखापत्रको विस्तारित आयाम (सम्पादकीय)

विगत १२१ वर्षदेखि निरन्तर रूपमा प्रकाशित हुँदै आएको गोरखापत्रको विशिष्ट विगत छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक इतिहासको जीवन्त साक्षी हो गोरखापत्र । दक्षिण एसिया क्षेत्रमै एक सय वर्ष पूरा गरेका पत्रिका आधा दर्जन हाराहारी पनि छैनन् । त्यो लामो इतिहासको विरलै समाचारपत्रमा गोरखापत्र चिनिएको छ । यताका छ दशकमा यसको संस्थागत सङ्गठन गोरखापत्र संस्थान भएपछि प्रकाशन गृहको रूपमा विकास हुँदैछ । अङ्ग्रेजी दैनिक दी राइजिङ नेपालको इतिहाससमेत आधा शताब्दी नाघिसकेको छ ।

योसमेत नेपालको पहिलो ब्रोडसिट दैनिक हो र नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन ठूलो योगदान छ । मासिक मधुपर्कका माध्यमबाट देशमा साहित्यको सेवा गरिरहेको छ । युवामञ्च युवा जगत्का ज्ञानविज्ञान विस्तारमा ढुकढुकी भएको छ । मुना मासिकले बालबालिकाको अध्ययन अनुरागलाई बढाएको छ । अनलाइन आयामले गोरखापत्र र राइजिङ नेपाललाई संसारसँग जोड्दै तत्काल सूचना सम्प्रेषणको स्पर्धालाई अग्रता दिँदैछ । गोरखापत्र दैनिकले देशका ३८ वटा भाषालाई आफूमा समेटेर सामग्री सम्प्रेषणमा ल्याएको विविधता पत्रकारिताकोे समावेशीकरणमा नौलो र विशिष्ट मौलिक प्रयोग भएको छ ।

निश्चय नै एक पत्रिकाका रूपमा गोरखापत्रले झन्डै सवा एक शताब्दीदेखि नेपालीजनमाझ समाचार, सूचना, इतिहास, साहित्य, संस्कृतिको विकासका निम्ति गरिरहेको सेवाको पक्कै पनि सबै तह र तप्काका पाठकबाट उच्च मूल्याङ्कन भएर नै यसले निरन्तर प्रगतिको मार्ग अवलम्बन गर्न सम्भव भएको हो । विभिन्न शासकीय कालखण्ड तथा राजनीतिक उतारचढावबीच गोरखापत्रले आफ्नो अस्तित्व कायम राख्न सफल हुनु कम चुनौतीपूर्ण पक्कै थिएन । सरकारी स्वामित्वका रूपमा गोरखापत्रलाई अनेक चुनौती विगतमा नआएका होइनन् तर तिनको समयसापेक्ष सामना गोरखापत्रले गर्दै आएको छ । विभिन्नथरीका सूचना तथा सामग्री बढीभन्दा बढी पाठकसामु पस्किने प्रयासलाई हरसम्भव रूपमा सफलीभूत गर्न गोरखापत्रको प्रयास सफल हुँदैछ र यो प्रयास निरन्तर अगाडि बढ्दै छ ।

गोरखापत्रले आयामहरू निरन्तर विस्तार गर्दै लगेको छ । त्यसक्रममा लुम्बिनी प्रदेशको कोहलपुरबाट फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पश्चिम संस्करण आफ्नै प्रेसबाट सुरुवात गरेको छ । अब लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसमेत तीन प्रदेशका ३१ जिल्लाका लाखौँ पाठकसँग गोरखापत्र र यसका प्रकाशन अब छिटो जोडिने छन् । त्यसो त दुई वर्षअघि दुई महिनासम्म भाडाको प्रेसबाट पश्चिम संस्करणको प्रकाशन सुरु भइसकेको थियो । कोरोना महामारीले त्यसमा अवरोध सिर्जना ग-यो । आफ्नै प्रेस नहुँदा प्रकाशनमा असजिलो छँदैथियो । पछिल्लो प्रयासबाट गोरखापत्र तथा पाठकबीचको सम्बन्धमा अविछिन्न र शीघ्र रूपमा अगाडि बढ्ने वातावरण सिर्जना भएको छ ।

कोहलपुरको पश्चिम संस्करणको भर्चुअल रूपमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखापत्रको पहुँच विस्तारसँगै अझ जिम्मेवार, व्यावसायिक र विश्वसनीय बनाउन जोड दिनुभएको छ । उहाँले नेपालमा अखबारको पर्याय बनेको गोरखापत्रलाई अझै बढी सन्तुलित र व्यावसायिक बन्न दिनुभएको सुझावले पनि आगामी दिनमा गोरखापत्र र यसका प्रकाशनलाई अझ अगाडि बढ्न हौसला मिलेको छ । कुनै पनि अखबारले सही, सन्तुलित र शीघ्र, प्रविधिमैत्री सूचना, समाचार सम्प्रेषित नगरी पाठक बजार सुरक्षित रहँदैन भन्ने मर्म बिर्सन मिल्दैन । गोरखापत्रको प्रकाशनहरूले बिर्सने छैनन् ।

सरकार प्रमुखको सद्भावका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रका प्रकाशनहरूले सञ्चारको माध्यमबाट नेपालको सिङ्गो एकता जोड्न बल पु-याएको स्पष्ट पार्नुभएको छ । गोरखापत्र नेपालको सभ्यता, संस्कृति, साहित्य र भाषिक विविधताको धरोहरसमेत हो । गोरखापत्रले संस्थागत रूपमा प्रविधिमैत्री रूपान्तरणमा प्रयास अगाडि बढाएको छ । यस दिशामा थप जोस, जाँगरका साथ गोरखापत्रसँग आबद्ध जनशक्तिकोे क्रियाशीलता अझ महìवपूर्ण हुनेछ ।

थप संस्करण अखबारका लागि खुसीको विषय हो तथापि यसको दिगोपनप्रति पनि गोरखापत्र त्यत्तिकै सचेत एवं सजग हुनु जरुरी छ, हुनेछ । सन्तुलित र विश्वसनीय समाचार तथा अन्य सामग्रीको प्रस्तुति महìवपूर्ण पक्ष हो । त्यसका लागि व्यावसायिक तौरतरिकाबिना अखबारको भविष्य नै जोखिममा पर्ने तथ्यलाई आत्मसात् गर्नु पर्नेछ । स्मार्ट पाठकको सूचना पहुँच र विश्वासमा खरो उत्रन गोरखापत्र र यसका प्रकाशनहरूको प्रयास सार्थक बन्न आमशुभेच्छा र सद्भाव अपरिहार्य छ र पाइरहने विश्वाससमेत छ ।