फोहोरको तत्कालै व्यवस्थापन (सम्पादकीय)
काठमाडौँका गल्ली, चोकमा एक सातादेखि फेरि फोहोरका डङ्गुर थुप्रन थालेको छ । कीर्तिपुर नगरपालिका बाहेक उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको काठमाडौँ महानगरले थुप्रिएको फोहोर कहिलेबाट उठाउन सक्ने हो अझै निधो दिन सकेको छैन । धेरै वर्षदेखि काठमाडौँ महानगरसहित उपत्यकाका अन्य नगरपालिकाको फोहोर काठमाडौँको सीमावर्ती क्षेत्र नुवाकोटका सिसडोलमा विर्सजन गरिँदै आएको छ ।
सिसडोललाई फोहोर व्यवस्थापनको दीर्घकालीन स्थलकै रूपमा विकास गरिएको हो तर फोहोर विसर्जन गर्ने कार्यमा स्थानीयले अवरोध गरेपछि काठमाडौँको फोहोर उठ्न छाडेको हो । सिसडोल क्षेत्रमा ल्यान्डफिल्ड साइट बनाउनुपूर्व स्थानीयको सडक मर्मतलगायतका मागलाई सम्बोधन गर्ने सहमति भएको थियो । सहमतिअनुरूप फोहोर विसर्जन स्थलको पहुँच मार्ग मुड्खु तीनपिप्ले सडकखण्ड मर्मत तथा स्तरोन्नतिका लागि कार्य अगाडि बढाउनुपर्ने थियो तर सहमतिअनुरूप कार्य अगाडि बढ्न सकेन । परिणामस्वरूप स्थानीयले अवरोध सुरु गरे त्यसपछि काठमाडौँका फोहोरसहित गाडी गन्तव्यसम्म पुग्न सकिरहेका छैनन् । यसैको परिणामस्वरूप काठमाडौंँवासी एक सातादेखि फोहोरको दुर्गन्धमा बस्नु परेको छ ।
कुनै पनि विषयमा समस्या परेपछि तत्कालका लागि गर्जो टार्न सबै कुरामा सहमति, सम्झौता गर्ने प्रवृत्ति छ । मुड्खु तीनपिप्लेको सडक मर्मत तथा स्तरोन्नतिका सम्बन्धमा पनि यस्तै भइदियो । सडक मर्मत सम्भारका लागि स्थानीयसँग सहमति त गरियो तर त्यसको कार्यान्वयनमा अग्रसरता लिइएन । स्थानीयले जहिलेदेखि अवरुद्ध गर्न थाले अनि मात्र आँखा खुल्यो । सरोकारवाला पक्ष हात बाँधेर बसेपछि आठ वर्षदेखि बाटो निर्माणको ठेक्का अलपत्र पर्नुका साथै पैदल यात्रामा समेत कठिनाइ भएको भुक्तभोगीहरूको भनाइ छ । त्यसैलाई अगाडि सारेर स्थानीयले फोहोरको व्यवस्थापनमा व्यवधान सिर्जना गरेका छन् ।
महानगरले नागरिकसित करवापत ठूलो रकम असुल गरिरहेको हुन्छ । फोहोर व्यवस्थापनका लागि काठमाडौंँवासीले निजी क्षेत्रका फोहोर सरसफाइ कम्पनीलाई मासिक रूपमा थप शुल्कसमेत तिरिरहेका हुन्छन् तर महानगरवासीलाई फोहोरको दुर्गन्धमा बस्नुपर्ने अवस्था पटक पटक आइरहन्छ । फोहोर महिनौँ नउठ्दा पनि पूरै पैसा तिर्नुपर्छ । महानगरका निर्वाचित पदाधिकारीले निर्वाचनका बेलामा मोनोरोल र मेट्रो रेलका सपनासमेत महानगरवासीसित बाँडे तर निर्वाचित पदाधिकारीको कार्यकाल सकिनै लाग्दा त्यो सपना पूरा हुनु त परको कुरा दैनिक दुर्गन्धसित सहयात्रा गरेर जीवन जीउनु पर्ने बाध्यता महानगरवासीलाई आइलागेको छ । यो महानगरवासीका लागि दुर्भाग्यको विषय हो भने नेतृत्वका लागि लज्जाको विषय हुनुपर्ने हो ।
आठ आठ वर्षसम्म सडक मर्मतको ठेक्का अलपत्र पारिएको विषयलाई महानगरपालिकाले बेलैमा सम्बोधन गरिदिएको भए अहिले यो समस्या नै आउने थिएन । यसले महानगरपालिकाको गैरजिम्मेवारीपनलाई प्रष्ट्याउँछ । यसमा दोषी पक्षलाई सजायको भागीदार नबनाएसम्म यस्ता लापारबाहीले निरन्तरता पाइराख्नेमा शङ्का छैन । अहिले पनि सडक मर्मतबारे सम्बन्धित मन्त्रालयसँग पहल भइरहेको झारा टराइ सूचना सार्वजनिक गरिएको छ । महानगरवासीको स्वास्थ्य स्थितिप्रति संवेनशीलता देखाइएको छैन । फोहोरको समस्यालाई निकै हलुका फाराले लिएको प्रतीत हुन्छ । महानगरवासीको सरसफाइयुक्त वातावरणमा बाँच्ने अधिकारलाई सुनिश्चित गर्नु आफ्नो दायित्व हो भन्ने कुरामा महानगरको नेतृत्वले सोच्न सकेको देखिँदैन । अर्कोतर्फ, स्थानीयवासी पनि अन्तिम समयमा मात्र फोहोरका सवारी रोक्नका लागि सडकमा उत्रने र फोहोरको नाममा सधैँ प्रदर्शन गर्ने प्रवृत्तिमा पनि नेपाली समाजमा नयाँ हुँदै होइन ।
महानगरवासीको फोहोरको यो समस्या तत्काल समाधान गरिनुपर्छ । स्थानीयको माग पूरा गरिनुपर्छ फोहोर पनि उठ्नु पर्छ । यतिबेला हिउँद सिद्धिएर गर्मी याम सुरु हुन लागेको छ र विस्तारै फोहोरमैलाकै कारण विभिन्न किसिमका सरुवा रोगको प्रकोपको सम्भावना रहेको बेला छ । यो अवस्थामा महानगरवासीको स्वास्थ्यसित सबै पक्ष जिम्मेवारी बन्नुपर्ने भएको छ । भोलि यसैका कारण अर्को खालको महामारी फैलन सक्छ भन्नेतर्फ पनि हामी सबै सचेत बन्नैपर्छ । विभिन्न देशले फोहोरबाट मल बनाएका छन्, यसबाट गरिब किसान लाभान्वित भएका छन्, फोहोरबाट उल्टै मोहोर आर्जन गरेका छन् तर काठमाडौँवासीलाई पैसा खर्च गरेर फोहोर फाल्ने काममा समेत सफलता मिल्न सकेको छैन । अब विलम्ब नगरीकन काठमाडौँको फोहोर तत्काल उठाइनुपर्छ र आगामी दिनमा यस्तो समस्या नआउने गरी दीर्घकालीन रूपमा समाधान खोजिनुपर्छ । यसका लागि सम्बद्ध निकायको ध्यान त पुग्नु नै पर्छ ।