विचार/दृष्टिकोण |

बढ्दो व्यापार घाटाको चुनौती (सम्पादकीय)

नेपालको अन्तर्राष्ट्रिय व्यापार निरन्तर असन्तुलित हुँदैछ । देश बाहिरबाट आउने वस्तु आयात उरुङ हुँदै गएको छ । बाहिर जाने वस्तु निर्यात भने सानो आकारको छ । आयात बढ्ने र निर्यात न्यून हुँदा व्यापार घाटा बढिरहेको छ । बढ्दो व्यापार घाटा वर्षांैदेखि टाउको दुखाई बन्ने गरेको छ । चालू आर्थिक वर्षसमेत अपवाद बन्न सक्ने भएन । तथ्याङ्कहरूले यही बोलिरहेका छन् । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा भइसकेको छ ।

भन्सार विभागको तथ्याङ्कले साउनदेखि माघ मसान्तसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपियाँको आयात भएको छ । यही अवधिमा निर्यात भने एक खर्ब ३१ अर्ब ६५ करोड मात्र रहेको छ । निर्यातभन्दा आयात बढी भएपछि व्यापार घाटा उच्च भएको छ । सात महिनाको अवधिमा मुलुकको व्यापार घाटा रु. दस खर्बभन्दा बढी देखिएको छ । गत आर्थिक वर्षको यही अवधिमा यो व्यापार घाटाको आँकडा रु. आठ खर्बभन्दा केही बढी थियो ।

यी दुई आँकडाबीचको तुलना गर्दा यो सात महिनामा ३८ प्रतिशतभन्दा बढी छ । यसरी बर्सेनि व्यापार घाटामा वृद्धि हुँदै जानु समग्रमा मुलुकको अर्थतन्त्रमा असल सन्देश होइन । आयात गर्न विदेशी मुद्रा चाहिन्छ । त्यो अभाव हुँदै गएको हुँदा बढ्दो व्यापार घाटा चुनौती बन्दै गएको छ । अन्तर्राष्ट्रिय व्यापारका क्रममा नेपालले आयात गरेका सामग्रीको विश्लेषण गर्दा इन्धन उपभोगका क्षेत्रमा हामीले बर्सेनि बढी खर्च गरिरहेको तथ्याङ्क छ ।

यसमा मुख्यतया पेट पट्रोलियम पदार्थ डिजेल, पेट्रोल तथा खाना पकाउने एलपीजी ग्यास आयातमा उच्च हुँदै गएको छ । यो सात महिनाको अवधिमा रु. एक खर्ब ४० अर्बभन्दा बढीको इन्धन आयात भएको छ । हाल विदेशमा नै यी पेट्रोलियम पदार्थको आकाशिँदो मूल्यका कारण यी वस्तुको खरिदका निम्ति भविष्यमा अझै बढी मुद्रा बाहिर पठाउनु पर्ने अवस्था छ । बर्सेनि पेट्रोलियम पदार्थको आयात बढिरहेको छ ।

यसको प्रतिस्थापनका लागि तत्कालै नीतिगत गृहकार्य गर्नु आवश्यक छ । विशेषतः मुलुकको अपार जलस्रोतको उपयोग गरेर जलविद्युत्का रूपमा सेतो सुनमा परिणत गर्न सकिए व्यापार घाटा नियन्त्रणमा सकारात्मक प्रभाव पर्नेमा आशावादी हुने आधार छ । डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको साटो विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहित गरिए परिणाम सकारात्मक आउनेतर्फ कुनै शङ्का छैन ।

यसैगरी खाना पकाउने महँगो एलपीजी ग्यासमा सहुलियत दिएर प्रोत्साहन गर्नुको साटो स्वदेशी उत्पादन जलविद्युत्को महसुल दरमा आमउपभोक्तालाई सहज हुने भाउ निर्धारणको नीति अख्तियार गर्नु आवश्यक छ । यसबाट नेपाली भान्छाबाट एलपीजी विस्थापित गर्न सघाउ पुग्नेमा विश्वस्त हुन सकिन्छ । यी पेट्रोलियम पदार्थ नेपाली अर्थतन्त्रका लागि व्यापार घाटाका मुख्य कारक मात्र होइनन् पर्यावरणलाई समेत प्रदूषित बनाइरहेका यथार्थ हो ।

यी पक्षहरूलाई मनन गर्दै आयात प्रतिस्थापनका प्रभाव कदमहरू चालिनु आवश्यक छ । तथ्याङ्कअनुसार निर्यातको आकार सानो भए पनि गत वर्षभन्दा वृद्धिमा उच्च देखिएको छ । यसलाई सकारात्मक पक्षका रूपमा लिन सकिन्छ । आर्थिक वर्षको सात महिनामा नेपालबाट एक खर्ब ३१ ऋर्ब भन्दा बढीको निर्यात भएको छ । यो गत आर्थिक वर्षको यही अवधिको दाँजोमा ८८ प्रतिशतले बढी हुँदा निर्यातको दिशा भने सही छ भन्न सकिन्छ तर निर्यातको अंश सानो हुँदा वृद्धिले पनि ठूलो प्रभाव भने पार्न सकेको छैन ।

नेपालबाट निर्यात भइरहेका वस्तु हेर्दा शतप्रतिशत नेपालमा उत्पादित भन्दा विदेशबाट आयात गरिएका कच्चा पदार्थमा आधारित वस्तु अत्यधिक देखिएका छन् । पूर्ण रूपमा स्वदेशमा उत्पादन गरिएका स्वदेशी उत्पादन निर्यात हुन नसक्नु भने अर्को चिन्ताको विषय हो । नेपालले निर्यात गरिरहेको भटमास तथा प्रशोधित पाम तेल अग्रपङ्क्तिमा पर्दछ । तिनको अधिकांश कच्चा पदार्थ विदेशबाट नै आयात गरिन्छ ।

तुलनात्मक रूपमा बढी स्वदेशी सीप तथा कच्चा पदार्थमा आधारित गलैँचा तथा जुटबाट बुनिएका लगायतका कपडाको निर्यात निकै कम मात्रामा भएको देखिएको छ । आर्थिक वर्ष समाप्त हुन बाँकी अबका पाँच महिनामा सम्भव भएसम्म निर्यातमा बढी जोड र आयातमा कडाइ गर्ने नीति अर्थतन्त्रका लागि लाभदायक हुनेछ ।