विचार/दृष्टिकोण |

पृथ्वी जीवजन्तुको समेत हो

प्रमोदकुमार टण्डन

गत माघ ९ गते चितवनको बरण्डाभार वन क्षेत्रमा नाली निर्माणका लागि खनिएको खाल्डोमा परेर एउटा वयस्क गैँडा म-यो । कारण पत्ता लगाउन सरकारी छानबिन कार्यदल गठन भयो र त्यसले पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा १० किलोमिटरभन्दा कम लम्बाइको सडक निर्माण गर्दा ईआईए वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्न नपर्ने कानुनी छिद्रका कारण उक्त घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझायो ।

खाल्डोमा खसेर मर्ने जनावर एकसिङ्गे गैँडा भएकाले यसले चर्चा कमायो तर वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा बनेका सडकलगायतका संरचनाका कारण मरेका अन्य अनगिन्ती पशुपन्छीको सवालमा न छानबिन कार्यदल गठन हुन्छ, न समाचार बन्छ, न त चर्चा नै हुन्छ । सरोकारवालाको ध्यान जान कि त बर्दिया राष्ट्रिय निकुञ्जबीचबाट जाने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करले पाटेबाघ मर्नु पर्छ, कि त बाघ वा गँैडाको आक्रमणमा मानिस पर्नु पर्छ । नत्र देशभरका राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, आरक्ष र विभिन्न खाले वन क्षेत्रमा दिनहुँ मानवीय कारण र विकासनिर्माण सम्बद्ध पक्षको लापरबाहीले जीवजन्तुको ज्यान गइरहेको घटना यत्तिकै सेलाउने गरेका छन् ।

चरा मरेको कुरा त परै जाओस्, हरिण र मृगजस्ता आहारा प्रजाति (प्रे स्पिसिस) जसलाई खाएर बाघ जिउँदो रहन्छ, यस्ता महìवपूर्ण प्राणी मर्दा पनि त्यति चासो र सरोकार दिइँदैन । मानिस जनावरभन्दा बुद्धिमान छ, त्यसमा कसैको फरक राय छैन तर त्यसो भन्दैमा पृथ्वी केवल मानिसको मात्रै हैन भन्ने बिर्सन हुँदैन । विकास जरुरी छ तर विकासनिर्माणका काम पूरा नहुञ्जेल यत्तिकै अलपत्र उदाङ्गो छोडिने संरचनाका कारण पशुपन्छी मात्रै हैन, मानिसको पनि ज्यान जान्छ ।

काठमाडौँमा समेत बाह्रैमास निर्माण भइरहने सडक र नाली बनाउने क्रममा खनिएका खाल्डोमा थुप्रै जनावर पर्ने गर्छन् । सडकमा छाडा छाडिएका पशु मात्रै हैनन्, पैदलयात्री र साइकलयात्रीसमेत त्यस्ता खाडलमा पर्ने गर्छन् । हप्तौँ र महिनौँसम्म सडक र ढल व्यवस्थापनका लागि खनिएका खाल्डामा कहिलेकाहीँ चारपाङ्ग्रे सवारी खस्नु पनि काठमाडौँ उपत्यकाका लागि नौलो होइन तर यस्ता निर्माण भइरहेका संरचनाको बाटो हिँड्नु नै गल्ती भएको भन्दै नागरिकले आफैँलाई दोष दिएर अर्को बाटो लाग्ने गर्दा निर्माण वा मर्मतका क्रममा संरचना यत्तिकै उदाङ्गो छोड्ने क्रम झन् बढ्छ ।

यहाँसम्म कि कतिपय ठाउँमा त कुनै प्रयोजनका लागि सडक खनेर ठूलो खाल्डो बनाइएको छ भने ठ्याक्कै खाल्डोको डिलमा पुगेपछि बल्ल थाहा हुन्छ कि सडक मर्मत भइरहेको रहेछ भनेर । उच्च गतिमा आएका साइकलयात्री त त्यो खाल्डोमा खसेपछि मात्रै थाहा पाउँछन् । अगाडि सडक निर्माण भइरहेको छ भन्ने सन्देश, बोर्ड, सङ्केतलगायत राख्दा मात्रै पनि मानवीय र सवारी दुर्घटना टर्न सक्छ तर यत्ति गर्दैमा संरचना निर्माण वा मर्मत गर्नेको दायित्व पूरा हुँदैन ।

बोर्ड राखेरै निर्माण वा मर्मतको सूचना र सङ्केत दिँदा त ध्यान नदिएर, झुक्किएर वा अँध्यारोमा सूचना एवं सङ्केत देख्न/पढ्न नपाएर राजधानीमै मानवीय दुर्घटना भइरहन्छ भने त्यस्ता क्षेत्र हुँदै उच्च गतिमा कुद्ने र भाग्ने जनावरको के हालत हुन्छ होला ? चितवनको बरण्डाभार, बाँके र बर्दिया निकुञ्जबीचको पूर्वपश्चिम राजमार्गमा सवारीसँग जनावर ठोकिने र मर्ने वा सडक निर्माणमा पर्ने र मर्ने घटना त केवल प्रतिनिधि घटना मात्रै हुन् । देशभरि यस्ता वन र वन्यजन्तुको बासस्थान हुँदै आसपासमा राजमार्ग धेरै ठाउँमा छन् । त्यहाँको समस्या पनि बरण्डाभार र बाँके–बर्दियाको भन्दा कम छैन ।

मानिस त त्यस्ता निर्माणकार्य भइरहेका क्षेत्रबारे सङ्केतबाट बुझेर बच्न सक्छ तर रातदिन मानिसको आँखा छलेर हतारहतार राजमार्ग वा बस्तीबाट ओहोरदोहोर गर्ने क्रममा अवोध वन्यजन्तुले ज्यानै गुमाउनुपर्ने अवस्था आउँछ । यसै पनि मानिसले मिचेर दिनदिनै कम हुँदै गइरहेको वासस्थानमा खुम्चिन बाध्य पशुपन्छी आफ्नो हकअधिकार माग्न सक्दैनन् । कुनै समय मजाले बस्ने, घुम्ने, ओहोरदोहोर र विचरण गर्ने क्षेत्रमा अहिले मानिसले निर्माण गरेका विकासका संरचनाले ती जीवजन्तुको अस्तित्व सङ्कटमा पारेको छ । उनीहरू दिउँसोमा त मानिसको डरले लुक्न बाध्य छन् नै, रातमा पनि कोही नभएको मौका पारेर हतारहतार ओहोरदोहोर गर्दा सडकमा सवारीको ठक्कर वा निर्माणाधीन संरचना भए त्यसमा परेर मर्ने वा अङ्गभङ्ग हुने जोखिम सदैव रहन्छ ।

कथंकदाचित माघ ९ गतेजस्तै विकासनिर्माण भइरहेका संरचनामा परेर वा दुर्घटनामा परेर संरक्षित जनावर मरेमा वन्यजन्तुको पक्षमा चर्चा, वकालत र दुःख व्यक्त हुन्छ अन्यथा कहीँकतै वासस्थान अभावमा वा आहारा खोजीमा हिँड्दा कुनै जीवजन्तुले आफ्नो सुरक्षाका लागि मानिसलाई आक्रमण गरेमा फेरि पृथ्वी केवल मानिसको मात्रै भएको र जीवजन्तु संरक्षण किन गर्नुप-यो भन्ने बहस छेडिन्छ । पहिले मानिसलाई जोगाउने अनि मात्र वन्यजन्तु संरक्षण गर्ने, दुवैलाई बराबर महìव दिने वा संरक्षित वन्यजन्तुलाई विशेष ध्यान दिने भन्ने विषयमा व्यक्तिका आ–आफ्नै विचार र तर्क होलान् तर सरकारले वन्यजन्तु संरक्षणका लागि कूल भूभागको २३ प्रतिशतभन्दा बढी क्षेत्र छुट्याएर उच्च महìव दिइसकेपछि तिनीहरूलाई हरतरहबाट जोगाउनुपर्ने दायित्व रहन्छ । अझ संरक्षित क्षेत्रभित्रबाट आसपासका सडक र त्यहाँ बनिरहेका विकासका संरचना कसरी वन्यजन्तुलाई हानि नपु-याउने गरी निर्माण सम्पन्न गर्ने र सञ्चालन गर्ने भन्नेमा वन्यजन्तुमैत्री संरचना निर्माण/सञ्चालनबारे ध्यान दिनैपर्छ ।

चितवनकै राजमार्गमा बनाइएको वन्यजन्तु वारपार गर्ने अन्डरपासले कुनै बेला राम्रै चर्चा पाएको थियो । त्यस्ता अन्डरपास अन्यत्र कहाँ कहाँ र कति मात्रामा आवश्यक छन् भन्नेतर्फ सम्बन्धित निकाय र सरोकारवालाको ध्यान जानुपर्छ । अन्डरपास मात्रै हैन, त्यस्ता क्षेत्रमा अन्य कस्ता संरक्षणमैत्री विकास निर्माण र सडक सञ्चालनका अभ्यास छन् भनेर विश्वव्यापी अभ्यास बुझ्न सकिन्छ । मानिस खुला रहेर चिडियाखानामा पिँजडा वा तारेबारभित्र पशुपन्छी हेर्ने अभ्यासको ठीक उल्टो अहिले पशुपन्छी खुलेआम विचरण गरिरहने र मानिस तारेबारको बाटोमा कैद रहेर खुला वन्यजन्तु अवलोकन गर्ने व्यवस्था संसारभर छ । भक्तपुरमा निर्माण भइरहेको आधुनिक चिडियाखानामा यै अभ्यास गरिने सरकारी योजना छ ।

संरक्षित क्षेत्र आसपास भइरहेका छिटै सकिने वा वर्षौं चल्ने विकासनिर्माणका काम नसकिँदासम्म त्यसमा कुनै पशुपन्छी नपरून्, घाइते नहोऊन् वा नमरून् भनेर स्थानीय तह र केन्द्रको समन्वयमा ती क्षेत्रलाई जोखिममुक्त बनाउनुपर्छ । तब मात्रै यस्ता निर्माणाधीन विकासका संरचनाबाट हुने वन्यजन्तुको अकाल मृत्यु रोकिन्छ । यस्तो गर्न सकेमा संरक्षण गरिएका र लोपोन्मुख वन्यजन्तुको भइरहेको सङ्ख्या कायम राख्ने र थप सङ्ख्या बढाउने सरकारी लक्ष्य प्राप्तिमा टेवा पुग्छ । हजारौँ डलर खर्चेर पर्यटक हेर्न आउने तिनै संरक्षित र लोपोन्मुख वन्यजन्तुलाई हो ।

विश्वको चासो नेपालको जनसङ्ख्या बढ्यो वा घट्यो भन्नेमा भन्दा सयौँ गुना बढी एकसिङ्गे गैँडा, पाटेबाघजस्ता संरक्षित जीवजन्तु बढे या घटे भन्नेमा रहन्छ । यसर्थ तिनीहरूको अकाल मृत्यु रोक्न सरकारले बेलैमा ध्यान पु-याउनु पर्छ । विकासनिर्माण गर्दैगर्दा यै भेगमा रहेका अबोध जीवजन्तुको जीवन हरण गरिनु हुन्न । किनकि पृथ्वी उनीहरूको पनि हो ।