पहिला आफैँलाई चिनौँ
गीता श्रेष्ठ
आज मार्च ८ (फागुन २४) अर्थात् नारी दिवस । नारीका चाहना, आकाङ्क्षा, क्षमता अनि उनीहरूमा रहेको गुणवत्ताका विषयमा राजनीतिक नेतृत्वदेखि अभियानकर्मीसम्मले धुवाँधार भाषण गर्छन् । नारी अधिकारका विषयमा अनेक योजना सुनाउँछन् । नारीको महिमाले भरिएका भाषण सकिएसँगै दिवस पनि सकिन्छ । नारीको महìवका बारेमा पुरुषले भाषण गर्छन्, नारी स्वयं दर्शक बनेर सुनिरहन्छे तर आफ्नो महìव आफैँ नबुझेर अरूले घोकाइदिएका नाराको पछि कुदिरहन्छे ।
नेपाली समाजमा नारीको स्थान उच्च थियो र अहिले पनि विविध कर्ममा नारीलाई नै अग्रस्थानमा राखिन्छ । सामाजिक व्यवस्थामा आएको परिवर्तन र भौतिकवादको जन्मसँगै ‘नारीवाद’ कमजोर भयो र नारीले आफ्नो अधिकारका लागि राजनीतिक दलको सहारा लिनुप¥यो, सडकमा नारा घन्काउनु प-यो अनि पुरुषको आलोचना गर्नुप¥यो । यो कति आवश्यक र जायज भन्ने प्रश्न आफ्नै ठाउँमा छ तर आम नारी वर्गले पहिला आफ्नो क्षमताको पहिचान गर्ने हो भने अहिलेका तमाम असमानता सहजै हल हुन्छ ।
नेपालमा नारीको स्थानका विषयमा जो कोहीले पनि उच्च आदरभाव प्रकट गर्छन् । घरमा छोरी जन्मे लक्ष्मीको आगमन भएको बताउँछन् तर त्यही छोरी हुर्कंदै गएपछि भेदभाव सुरु हुन्छ र पूर्ण रूपमा फक्रन नपाउँदै विवाह गरेर पठाइदिन्छन् । अनि छोरी देवी दुर्गाको प्रतिमूर्ति हो भनेर बखान गर्न पनि छाड्दैनन् । पूर्वीय सभ्यता मातृसत्तात्मक थियो र धार्मिक–सामाजिक अनुष्ठानमा यो परम्परा अझै कायम छ भने महिलाले आफूले आफूलाई चिन्न नसकेको भन्न कुनै अप्ठ्यारो पर्दैन । यसको ज्वलन्त उदाहरण मातृशक्तिको उच्च गुणवत्ता, शक्ति र सामथ्र्यको महिमा गाउँदै पुरुषले नतमस्तक भएर मातृशक्तिको उपासना गर्ने पर्व दशैँलाई लिन सकिन्छ । तिहारलाई पनि लिन सकिन्छ । दिदीबहिनीको हातबाट भाइटीका लगाएको टीका रक्षाकवच मानिन्छ ।
काठमाडौँ उपत्यकामा जीवित देवी ‘कुमारी’को आराधना गरिन्छ । यति महìवपूर्ण नारीलाई भेदभाव किन ? अनि नारी स्वयं अपहेलित भएको अनुभूति किन गर्ने ? बाबुआमाले लक्ष्मीको आगमन भएको भनिएकी छोरीलाई ‘अर्काको घर जाने जात’ भनेर धन सम्पत्तिसहित अरूको घरमा पठाउने चिन्ता मात्रै किन गर्ने ? छोरीलाई असल र शिक्षित बनाउने हो भने घरदेखि पराइघरसम्मै प्रकाश छर्ने क्षमता राख्छे भन्ने बाबुआमाले बुझ्नुपर्छ । नारीले पनि आफ्नो क्षमता र सामथ्र्य पहिला आफैँले चिन्नुपर्छ । किनभने नारीलाई ज्ञान, धन र शक्तिको स्रोतका रूपमा लिइन्छ । हामीले धनकी देवी लक्ष्मी, ज्ञानकी देवी सरस्वती अनि शक्तिकी देवी दुर्गाको पूजा–आराधना गर्नुका कारण पनि यही हो ।
समाज विकासका क्रममा भित्रिएका विकृतिले यस्तो रूप लियो कि मन्दिरमा देवीको पूजा गर्नेहरू, लक्ष्मी भित्रियोस् भनेर कामना गर्नेहरू घरभित्रै रहेकी ती सबैको स्रोत छोरीलाई भने हेला गर्छन् । विडम्बना नै यही हो कि नारीपूजाको सुन्दर प्रथा रहेको नेपाली समाजमा आजभोलि नारीका विषयमा अनेकथरि नारा घन्काउनु परेको छ । आयातित नाराले समाज भाँडिन पुगेको छ, विभाजित हुन पुगेको छ । कमसेकम हाम्रा शास्त्रीय मान्यता र स्थापित अभ्यासकै मात्र अनुसरण गर्ने हो भने महिला–पुरुष समान मात्र हैन, पुरुषभन्दा महिला नै धेरै माथि रहेको पाउँछौँ । यसका लागि सर्वप्रथम नारीलाई शिक्षित बनाउनै पर्छ ।
नेपालमा ‘विद्या धनम् सर्वधनम् प्रधानम्’ भन्ने मान्यता स्थापित छ । जो शिक्षित छ, त्यो शिक्षा अथवा ज्ञान नै उसको धन हो र त्यो भौतिक धनसम्पत्तिभन्दा श्रेष्ठ धन हो भनिन्छ । यसमा पनि नारी शिक्षित हुनु भनेको अरू श्रेष्ठ कार्य हो । त्यसैले नारीलाई शिक्षाको अवसर दिनु भनेको घरपरिवारको उन्नति र समाजको विकास हो । एउटा नारी शिक्षित हुँदा उसले धेरैलाई शिक्षित र सही बाटो देखाउँछिन् । एउटा शिक्षित र सक्षम नारीले घर मात्र हैन, सिङ्गो समाजलाई सत्मार्गमा डो¥याउन सक्षम भएका उदाहरण अनेक छन् ।
तर विकसितदेखि अल्पविकसित र अति कम विकसित मुलुकमा समग्र नारीले सम्मान मात्र हैन, सामान्य अवसरसमेत पाउन सकेका छैनन् । अझै नारीलाई शिक्षा कि पैतृक सम्पत्ति, कति उमेर पुगेपछि विवाह गर्नेजस्ता बहस चलिरहेका छन् । विश्वको जनसङ्ख्यामा नारीको सङ्ख्या बढी छ तर त्यही नारी धेरै अवसरबाट वञ्चित छन् । नेपाल अपवाद रहने कुरै भएन ।
हुन त नेपाल नारी अधिकारमा विश्वका धेरै मुलुकभन्दा अग्रणी छ तापनि यिनै विषयका नारा घन्कन छाडेका छैनन् । नेपालमा कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी छ । उनीहरू श्रमका हिसाबमा पुरुषभन्दा बढी सक्रिय हुन्छन्, उनीहरूको मेहनतको गणना राष्ट्रिय आयमा हुनै सकेको छैन । शिक्षाको हकमा पनि उनीहरू पछि छन् । सङ्कुचित सोचाइका कारण घरायसी कामकाजमा मात्र भुलेर शिक्षा आर्जनबाट वञ्चित भएका नारीलाई पुरुषसरह शिक्षाको अवसर दिलाउनुपर्छ भन्ने मान्यता कानुनी रूपमा स्थापित भए पनि अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकिरहेको छैन ।
नारीको कोखबाट जन्मिएर उसैको काखमा लडिबुडी गर्दै हुर्किएका बालबालिकाका निम्ति आमाको काख नै पहिलो शिक्षालय हो । जुन नारी शिक्षित छे, उसले आफ्नो अन्तरमनको कुनामा सन्तानलाई जन्मदेखि नै प्रत्येक पल असल नागरिक बनाउने सपना सजाएकी हुन्छे र त्यसैका लागि निरन्तर प्रयत्नरत रहन्छे । आजका बालक राष्ट्रका लागि भोलिका कर्णाधार भएकाले एउटा बालक शिक्षित बनाउन पनि आमा शिक्षित हुनु आवश्यक छ । शिक्षित नारीले आफ्ना सन्ततिको स्वास्थ्य, शिक्षा र बानी–बेहोराप्रति सचेतता देखाएर असल अनि निस्वार्थ भूमिका निर्वाह गर्न सक्छे, त्यति अशिक्षितबाट अपेक्षा गर्न सकिँदैन । तसर्थ राष्ट्रका लागि योग्य र असल नागरिक उत्पादनका लागि पनि नारी शिक्षा अत्यावश्यक छ ।
नारी शक्ति हो, भक्ति हो, सहनशीलताको खानी हो । औपचारिक शिक्षा नपाए पनि पुस्तान्तरण हुँदै आएको ज्ञान, सीप, क्षमताबाट भरिपूर्ण एउटी नारीमा रहेको त्यो क्षमतालाई समाज विकासको आधारशीला बनाउन सके हाम्रा धेरै समस्या र अप्ठ्याराको गाँठो सहज रूपमा खुल्नेछन् । नारीमा रहेको सिर्जनशीलताको ऊर्जा, परिश्रमको स्रोत बनिरहेका नारीको त्यो क्षमतालाई औपचारिक शिक्षाको जलप लगाइदिँदा अरू चम्किलो हुनेछ । तसर्थ शक्ति, विद्या, धन र सृष्टि धान्ने नारीलाई भेदभाव वा अवहेलना हैन, आफ्नो भाग्य र भविष्य सुनिश्चित गर्ने स्रोतका रूपमा व्यवहार गरी कम्तीमा शिक्षित मात्र बनाउन सकियो भने हाम्रा लागि यो नै सबैभन्दा ठूलो सम्पत्ति हुनेछ ।
यी सबै पक्षको चेतना आम नारीवर्गमा पनि हुनु आवश्यक छ । जबसम्म चेतना विकसित हुँदैन, तबसम्म अगाडि बढ्न सकिँदैन । यथास्थितिमा नेपाली समाज र धार्मिक रीतिरिवाज अनि शास्त्रले नारीलाई दिएको स्थान, उनीहरूको महिमा र सामथ्र्यका विषयमा गरिएका वर्णनको व्याख्या–विश्लेषण गरी नारी स्वयंले पहिला आफैँलाई चिन्न सक्नुपर्छ । जबसम्म आफूले आफैँलाई चिनिँदैन, तबसम्म आयातित नाराका भरमा मात्र समानता प्राप्त हुँदैन । अहिलेको आवश्यकता के हो भने समानता मात्र हैन, हिजोको त्यो स्थान प्राप्त गर्नु हो; जसलाई देवताले पनि स्वीकार गरेका थिए । त्यसैले पुनः स्मरण गराऊँ, “आम नारीले पहिला आफैँलाई चिन्नु परेको छ ।”