विचार/दृष्टिकोण |

सेवा प्रवाहमा सार्वजनिक प्रशासन

डा. दामोदर रेग्मी

सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महत्त्वपूर्ण र आवश्यकीय संयन्त्र हो । सरकार र जनताबीचको दरिलो र स्थायी सम्पर्क सूत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छ । समय, शिक्षा, प्रविधिको परिवर्तनसँगै राजनीतिक र शासकीय आयाम धेरै परिवर्तन आउँछन् र यी परिवर्तनले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै आयाम सिर्जना गर्छन् । यस्ता परिवर्तित परिवेशहरूले सार्वजनिक प्रशासनको भूमिका अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्छ ।

जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ र त्यो आशा र भरोसा सरकारतर्फ लक्षित रहेको हुन्छ । अन्ततः सरकारतर्फ लक्षित जनताको आशा र अपेक्षा पूरा गर्नुपर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्छ । त्यसैले शासकीय पक्षमा देखिने परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तरको प्रत्याभूतिजस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ । यस्ता आवश्यकताको परिपूर्ति गर्न सक्ने प्रशासन नै अहिलेको सामयिक आवश्यकता हो ।

निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषता हुन् । यी विशेषताहरूको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ ।शासन प्रणालीमा प्रजातान्त्रिकीकरण वर्तमान समयको अपरिहार्य र आवश्यकीय पक्ष हो । प्रजातन्त्रको दिगोपन र यसको वास्तविक उपयोगका लागि पारदर्शी सरकारी संयन्त्र र सुसुचित नागरिकको उपस्थिति न्यूनतम आवश्यकताभित्र पर्छ । सुसुचित नागरिकको उपस्थितिले सरकारी काम कारबाहीमा प्रभावकारिता ल्याउने, भ्रष्टाचार न्यूनीकरण हुने, जनउत्तरदायी सरकारको स्थापनाको मार्ग प्रशस्त भई सुशासनको अवधारणाले मूर्त रूप पाउने गर्छ । पारदर्शिताको अभिवृद्धिले सरकार जनउत्तरदायी बन्न र प्रजातान्त्रिक विधिको परिपालनामा सहयोग पुग्ने मात्र होइन कि सर्वसाधारण जनताको तहमा समेत सबलीकरण हुन गई समग्र शासन प्रणालीमा जनताको सहभागिता र अपनत्व निर्माणमा समेत सहयोग पुग्न जान्छ ।

सार्वजनिक निकायका कर्मचारीहरू आचरण र सदाचारयुक्त हुनुपर्छ भन्ने विषय प्रजातान्त्रिक शासन प्रणालीको मूलभूत मान्यता हो । प्रजातान्त्रिक शासन प्रणालीमा शासकीय सहकर्ताहरू धेरै हुने र यिनीहरू जनसरोकार वा राष्ट्रिय सरोकारका क्षेत्रमा कार्यरत रहने हुनाले सार्वजनिक पदाधिकारीहरू सदाचारयुक्त हुनुपर्छ । सार्वजनिक प्रशासकहरूको कार्यशैली सेवाभाव, निष्पक्षता, स्वच्छता, इमानदारिता, सदाचारिता, कार्यकुशलता, जिम्मेवारिता, पारदर्शिता, उत्तरदायित्व, समानता र समता, आदरभाव न्यायिकता आदिबाट अभिप्रेरित हुनुपर्ने विषयहरू अपेक्षित आचरणको दायराभित्र पर्नेछन् ।

सदाचारिताबाट मात्र सुशासनको प्रत्याभूति हुन सक्छ । देश सङ्घीय शासन प्रणालीमा गइसकेको सन्दर्भमा एकात्मक राज्य प्रणालीको अवस्थाको तुलनामा अब हामीसँग शासकीय सहकर्ताको पनि बढोत्तरी भएको छ । हिजो जनताले केन्द्रबाट आचरणको अपेक्षा गर्थे अब आफ्नै घरआँगन अगाडि रहेको सरकार र पदाधिकारीबाट सदाचारको अपेक्षा गर्छन् । अब असल सार्वजनिक चरित्र प्रदर्शन गर्नुपर्ने व्यक्तिहरूप्रति थप जनदबाबको सिर्जना भएको छ । हामीले अपनाएको शासन प्रणालीको कारणले सार्वजनिक पदाधिकारीहरू सदाचारयुक्त बन्नु पर्ने सकारात्मक बाध्यता सिर्जना गराएको छ । समाज सार्वजनिक सरोकारवालाको अन्तरसम्बन्धको सम्मिश्रण हो ।

यी सरोकारवालाको बीचमा धेरै आवश्यकता रहेका हुन्छन् । आवश्यकताको सम्बोधनको आधारमा नै सरोकारवालाको सम्बन्धको निर्धारण हुने गर्छ । सामाजिक आवश्यकताको माग र आपूर्तिमा धेरैको उपस्थिति र सहकार्यले एउटा अन्तरसम्बन्ध स्थापित गरेको हुन्छ र सबै सरोकारवालाको सुमधुर सम्बन्धले सार्वजनिक मामिलाहरूको व्यवस्थापनलाई प्रभावकारी बनाइदिन्छ । जनता, नागरिक समाज, सामुदायिक संस्थाहरू, निजी क्षेत्र, व्यापारिक र व्यावसायिक समुदाय सार्वजनिक मामिलाका सरोकारवाला हुन् । यी सरोकारवाला भिन्न भिन्न परिस्थितिमा भिन्न भूमिकामा देखिने गर्छन् । यस्तो भूमिका कहिले माग पक्ष, कहिले मध्यस्थ पक्ष र कहिले आपूर्ति पक्षको रूपमा रहने गर्दछ । सामान्यतया सरकारबाहेकका सरोकारवालालाई माग पक्ष र सरकारलाई आपूर्ति पक्षको रूपमा बुझिने गरेको भए तापनि नीतिको कार्यान्वयनमा जनअपनत्व कायम हुने पक्षमा सरकार माग पक्षको रूपमा रहने गर्छ ।

साथै सरोकारवालाहरू बीचमा सद्भाव र समन्वय कायम गर्ने तथा नीतिको सकारात्मक बहस पैरवी र कार्यान्वयनमा सरकारबाहेकका पक्षहरू मध्यस्थ र आपूर्तिकर्ताको रूपमा रहने गर्छ । सरकारको भूमिकामा पक्ष वा आपूर्ति पक्ष जुन कित्तामा रहे पनि समन्वयकारी र कानुनको प्रयोगको एक मात्र अधिकारयुक्त सरकोकारवालाको हैसियतले सरकार वा यसको सेवा प्रवाहको वैधानिक संयन्त्र सार्वजनिक प्रशासन प्रक्रियामुखी, परम्परागत, लोसे भयो भने अन्य सरोकारवालाहरूको उपस्थिति पनि स्वभावत प्रभावकारी बन्न सक्दैन । यसर्थ अवको सार्वजनिक प्रशासन सिर्जनशील हुनु आवश्यक छ । यसका लागि प्रविधिमैत्री जनशक्ति, प्रक्रिया र परिणामको बीचमा सामन्जस्यता कायम राख्ने, सहकार्यको संस्कृति, अन्तक्र्रिया आदिको माध्यमबाट प्राप्त पृष्ठपोषणको आधारमा कार्य गर्ने संस्कृतिको विकास गर्नु आवश्यक हुन्छ ।

व्यावसायिकता सार्वजनिक प्रशासनको त्यो चरित्र हो जसले कम साधन स्रोतको अत्यधिक उपयोग गरी उत्पादकत्वमा वृद्धि ल्याउने सामथ्र्य राख्छ । यस अर्थमा व्यावसायिक प्रशासन राज्यका अमूल्य निधि हुन् । साधन स्रोतको उपयोगमा मितव्ययिता, प्राप्त समयको भरपुर उपयोग र निर्धारित समायावधिभित्र गुणस्तरयुक्त सेवा दिन सक्नु व्यावसायिक प्रशासनको गुण हो । आफ्नो कामप्रति पूर्णप्रतिबद्ध, लगावयुक्त, नैतिकता, निष्ठा, इमानदारिता, विश्वास र लक्ष्यप्रति प्रतिबद्ध जनशक्तिले नै व्यावसायिक प्रशासनको प्रत्याभूति दिन सक्छन् ।

प्रशासन र राजनीति शासकीय प्रणालीका अभिन्न र परिपूरक अङ्गहरू हुन् । राजनीति सधैँ भविष्यद्रष्टा, महìवाकाङ्क्षी, शीघ्र परिणाम खोज्ने, जोखिम लिने र परिणामको उपलब्धताबाट सरकारको लोकप्रियता खोज्ने र यसै आधारमा सरकार वा आफ्नो दल विशेषको दिगोपना कायम राख्ने चाहनाबाट अभिप्रेरित भएको हुन्छ तर राजनीतिज्ञको यो चाहना परिपूर्ति राजनीतिज्ञले आफैँ गर्न सक्दैन यसमा कानुनी र प्रक्रियागत प्रयोगको अधिकारको हैसियतले प्रशासनयन्त्रको निरन्तर सहयोगको आवश्यकता पर्छ । राजनीतिज्ञले भविष्यको अमूर्त चित्रको परिकल्पना गर्छ प्रशासनयन्त्रले त्यसलाई मूर्तता दिने गर्छ । राजनीतिज्ञ बसका चालक हुन् भने प्रशासनयन्त्र बसका इन्जिन हुन् ।

प्रजातान्त्रिक शासन प्रणालीमा सरोकारवालाको उपस्थिति र सम्बन्ध महìवपूर्ण विषय मानिने गर्छ । सार्वजनिक सेवा विविध सरोकारवालाको अन्तरसम्बन्धको सम्मिश्रण भएको हुँदा यी सरोकारवालाको बीचमा धेरै आवश्यकता हुन्छन् । सार्वजनिक आवश्यकताहरूको माग र आपूर्तिमा धेरै सरोकारवालाको उपस्थिति र सहकार्यले एउटा अन्तरसम्बन्ध स्थापित गरेको हुन्छ र सबै सरोकारवालाको सुमधुर सम्बन्धले सार्वजनिक मामिलाहरूको व्यवस्थापनलाई प्रभावकारी बनाइदिन्छ । यो नै सार्वजनिक मामिलाको व्यवस्थापनको सुन्दर पक्ष हो ।

यसर्थ प्रजातान्त्रिक शासकीय प्रणालीमा सरोकारवालासँग सहकार्य र समन्वय क्षमताबाट सार्वजनिक मामिलाको व्यवस्थापनमा सार्वजनिक प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् ।प्रजातन्त्रमा सरकार कुनै राजनीतिक दल विशेषको हुने भएकोले सामन्यतया उसले आफू अनुकूलको प्रशासनयन्त्रको अपेक्षा राख्नु स्वाभाविकै हो तर प्रशासनयन्त्र प्रतिस्पर्धात्मक छनोट प्रणालीबाट आएका हुन्छन् । उनीहरूको पेसागत मर्यादा र आचरण, उत्तरदायित्व एउटा निश्चित कानुनी आधारशीलाबाट निर्देशित भएको हुन्छ यसर्थ उनीहरूले चुनाव प्रणालीबाट आएका पदाधिकारीको आदेशलाई स्वेच्छा वा कुनै वादबाट प्रेरित भएर काम गर्न सक्दैनन् । प्रशासनयन्त्रको दायित्व भनेको सरकारले ल्याउने नीति निर्माणमा असल पृष्ठपोषक, व्यवहारकुशल कानुनी आधारशीला प्रदान गर्नमा सहयोगी, नीति कार्यान्वयनका लागि अनुकूल संस्थागत संरचना तयार गर्ने, नीतिको सकारात्मक वकालतकर्ता र सरल सहज झन्झटमुक्त तरिकाबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउनु हो ।

प्रजातान्त्रिक शासन प्रणाली जनमुखी शासन प्रणाली हो । सङ्घीय शासन प्रणाली उच्चतम प्रजातान्त्रिक शासन प्रणाली हो । यस प्रणालीमा जनताको सरकारसँग छिटो, छरितो र सहजतापूर्वक अन्तरक्रिया गर्न, आफ्ना गुनासो राख्न, सेवा लिन र शासन प्रणालीमा सहभागी हुने अधिकार रहेको हुन्छ । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरू र सार्वजनिक सेवा प्रदायकहरू जनताको निकटतम दूरीमा रहनुपर्छ अनि मात्र त्यो सरकार प्रभावकारी हुन्छ भन्ने परिपूरणको सिद्धान्तको वास्तविक प्रतिविम्ब सङ्घीय शासन प्रणाली हो भन्ने गरिन्छ । यस अर्थमा सङ्घीय शासन प्रणालीअन्तर्गतको सार्वजनिक प्रशासन अझै बढी प्रभावकारी, पारदर्शी, परिणाममुखी हुनु आवश्यक हुन्छ । सङ्घीय स्वरूपमा निजामती प्रशासनको भूमिका सेवा प्रवाहको दृष्टिले जति महìवपूर्ण छ तटस्थता र निष्पक्षताको दृष्टिले अझै चुनौतीपूर्ण छ ।

प्रशासकहरू योग्यता प्रणालीका उपज भएकाले आफ्नो कार्यलाई विधिको आवरणबाट सुरक्षित राखी सेवा प्रवाहमा जन प्रशंसा प्राप्त गर्न सक्ने पोख्त योद्धा बन्न सक्नुपर्छ । विषगत विज्ञता र स्थायी सरकारको हैसियतले प्रशासनयन्त्रले राजनीतिप्रति तटस्थता देखाउँदै सेवा प्रवाह र सरकारी नीति कार्यान्वयनमामा सकारात्मक योगदानको निम्ति सदासर्वदा तत्पर र प्रतिबद्ध रहनु नै वास्तविक रूपमा तटस्थतासहितको प्रतिबद्ध दक्षता हो । सङ्घीय शासकीय स्वरूपका तीनै तहमा निजामती प्रशासनको भूमिका सेवा प्रवाहको दृष्टिले जति महìवपूर्ण छ तटस्थता र निष्पक्षताको दृष्टिले अझै चुनौतीपूर्ण छ । यस सन्दर्भमा यो चुनौतीलाई अवसरमा परिवर्तन गर्न निजामती कर्मचारीले हरेक तहमा राजनीतिक तटस्थता प्रदर्शन गर्दै सेवा प्रवाहमा प्रतिबद्धता, कार्य सम्पादनमा प्रभावकारिता र आफ्नो विशिष्टता र दक्षताको कुशल प्रदर्शन गर्दै सरकार जनताबीचको असल र प्रभावकारी सम्बन्ध सेतुको रूपमा आफूलाई प्रखर भूमिकामा प्रस्तुत गर्न सक्नुपर्छ । यो नै नेपालको सङ्घीय शासन प्रणालीको सामयिक आवश्यकता हो ।