विचार/दृष्टिकोण |

साझा पर्व होली

विनायकप्रसाद धिताल

धार्मिक, सामाजिक र सांस्कृतिक पर्व होली रङ दलेर खुसियाली साटासाट गर्ने र भाइचाराको सम्बन्ध सुदृढ पार्ने पर्व हो । मनमा आनन्द प्रवाह गर्ने वसन्त ऋतुको रङ्गीविङ्गी वातावरणमा मनाइने यो पर्वले प्रकृतिसँग पनि तादात्मता राख्छ । पौराणिक पात्र हिरण्यकशिपुले आफ्नो छोरा प्रह्लाद विष्णुभक्त भएकाले उनलाई मार्न गरेका प्रयास असफल भएपछि आगोले डढाउन नसक्ने वरदान पाएकी उसकी बहिनी होलिकालाई काखमा लिएर आगोमा प्रवेश गराए पनि प्रह्लादलाई केही भएन । होलिका आफ्नो दुष्ट प्रवृत्तिको कारण डढेर मरी । ईश्वरको भक्तको रक्षा भएकाले सबै खुसीले गदगद् भए । तत्पश्चात् पत्थरको खम्बाबाट आधा मनिस आधा सिंह भएको नृसिंह अवतार प्रकट भई हिरण्यकशिपुलाई चिरफार गरे । त्यही अवस्थाको रगतबाट होली अथवा फागु खेलिएको त्यो दिन फाल्गुण शुक्ल पूर्णिमाको दिन भएको पौराणिक कथनमा उल्लेख छ । त्यही दिनको सम्झनामा परापूर्वकालदेखि होली पर्व मनाउने परम्परा बसेको पाइन्छ । जसको सन्देश सत्यको जित भन्ने हुन्छ ।

होलीको पौराणिक स्रोत एउटै भए पनि मनाउने शैलीमा भिन्नता पाइन्छ । पहाड र तराईमा मनाइने होलीका विशेषता फरक फरक छन् । पहाडमा होली अति सामान्य रूपले मनाइन्छ भने काठमाडौँ उपत्यकामा भिन्न भिन्न सांस्कृतिक परम्पराअनुसार एकापसमा अबिर ढल्दै रमाइलो गरेर मनाइन्छ । इच्छाविपरीत रङ दल्ने लोला हान्ने हिलो छ्याप्ने आदिको बिगबिगी नभएको होइन । तराई क्षेत्रमा भने उल्लासमय वातावरणमा मनाइन्छ ।
उपत्यकामा फागु पर्व ज्योतिषीबाट शुभ साइत हेराएर काठमाडौँस्थित हनुमान ढोका मोहनकाली चोक तथा वसन्तपुर क्षेत्रमा मेलको रुख गाडेर पूजा अनुष्ठान सिँगारपटार गरेर तीनतले चीर ठडाएपछि होली पर्व प्रारम्भ हुन्छ । मेलको रुख र त्यसमा टाँगिएका ध्वजापताकाको वर्णन भक्तपुर दरबारको मालती चोकमा भुपतिन्द्र मल्लको ६७ हरफको शिलालेखमा वर्णन गरिएको इतिहासकार बताउँछन् । मनोरञ्जन ख्याल ठट्टा, हास्य व्यङ्ग मजाकको अवधि फागुन शुक्ल अष्टमी तिथिदेखि पूर्णिमासम्म हुन्छ । अन्त्यचाँहि त्यसै पूर्णिमाको पहिलो पक्षको रातमा लिङ्गो वरपर आगो बालेर चीर ढालेपछि हुन्छ । विभिन्न कपडाका ध्वजा झुण्डयाइ होली पर्व सम्पन्न गरिन्छ । ध्वजापताकाको विशेषता पुरातनकालमा गोपिनीहरूले नदीमा निर्वस्त्र नुहाउन लाग्दा उनका कपडा श्री कृष्णले मेलको रुखमा लुकाइदिएको घटनाको सम्झनामा त्यसै कपडाका प्रतीक ध्वजापताकालाई लिइन्छ ।

फागुलाई अनौठो रौनक पर्व पनि मानिन्छ । भक्तपुरमा दत्तात्रेय मन्दिरसँगै रहेको भैरव मन्दिरमा भीमसेनका लिङ्ग र द्रौपदीको योनीको प्रतीक काठ र रातो कपडा जुधाएर होली पर्वको सुरुवात गरिन्छ । काठबाट निर्मित भीमसेनको लिङ्ग घर, पसल, टोल वरपर प्रायः सबै ठाउँमा घुमाएर दर्शन गराइन्छ । लिङ्ग प्रदर्शन गर्ने भक्तजनले लिङ्गलाई ढोगेर दानदक्षिणा दिने चलन छ । यो पर्वलाई भीमसेन गुठीले परम्परादेखि चलाउँदै आएको पाइन्छ । अनि काठको लिङ्ग बोकेर ब्रह्मायणी मन्दिरको नजिक खोलामा सफा गर्न लग्ने व्यक्तिको त्यसै साल छोरा जन्मने प्रसिद्धि फैलिएकोले लिङ्ग बोक्न छोरा नहुने बीचमा प्रतिस्पर्धा हुन गरेको चर्चा लिङ्ग योनीको गीत गाउनको भनाइमा पाइन्छ । वसन्त ऋतुको आगमन फागुनदेखि हुने र यो समय यौन ऊर्जाको अत्यधिक सक्रियताको समय मानिने हुँदा होली पर्वसँग यसको सम्बन्ध रहेको मानिन्छ ।

होलीजस्तै पर्व विश्वका अन्य देशमा पनि मनाउने प्रचलन छ । चीनको एक प्रान्तमा ‘ताई’ जातिका मानिसले प्रायः पुरुष विशेषतः नारी÷महिला वर्गमा एक अर्कामाथि प्रशस्त पानी छेपाछेप गरेर ‘पोयावामा’ पर्व मनाउँछन् । नारी वर्गमा धेरै पानी छेप्ने कारण चीनको ‘छुङविङ्ग’ नामको राक्षसले धेरै सुन्दरी केटीको समूह देख्नासाथ कुनै न कुनै कारणले आफ्नो काबुमा लिने र बन्धक बनाउनेजस्ता अनैतिक काम गर्दथ्यो । त्यस्तो दुःखबाट छुट्कारा पाउन र मुक्त हुन कुनै एक साहसी धैर्यवान युवतीले उक्त राक्षसलाई चलाखीपूर्वक जादुमय तरिकाले मारी नै दिई बन्धक बनाइएका युवतीलाई बन्धनमुक्त बनाउन सफल भइन् । त्यसै खुसियालीमा उक्त ‘पोयावामा’ पर्व मनाइएको किम्बदन्ती पाइन्छ । चीनमा नै होलीजस्तै अर्काे ‘ज्वे जे’ नामक पर्वमा वसन्त ऋतु सकिएलगत्तै स्थानीय बासिन्दाले आगो बालेर आगोको पूजा गरेर रङ्गीचङ्गी विभिन्न भेषका लुगा लगाएर एक अर्कालाई बधाई÷आशिर्वाद दिँदै रोमाञ्चकारी होली खेल्दै भरपुर मनोरञ्जन लिएर खुसियाली व्यक्त गर्ने गरेको पाइन्छ । यसरी नै स्विट्जरल्यान्डमा होलीजस्तै पर्व तीन दिनसम्म लगातार मनाइँदा पहिलो दिनमा मानिस बाँसुरी बजाउँदै विभिन्न रङका भेष र विभिन्न प्रकारका टोपी, भकुण्डोमा सजिएर विभिन्न ठाउँमा जम्मा हुन्छन् । दोस्रो दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा रमाउँदै र तेस्रो दिन भोजको आयोजनामा सम्मिलित भई भरपुर खानपिन गरेर एक आपसमा रङ दलेर आकाशमा देखिने इन्द्रेणीजस्तै नै भई पर्वलाई बिदा गर्ने चलन पाइन्छ ।

यस्तै स्विडेनमा जुन १५ तारिखका दिन स्थानीय बासिन्दा कुनै पर्वतमा जम्मा भई विभिन्न ठाउँबाट काठदाउरा जम्मा गरी आगो बालेर आगो वरपर नै बसी भरपुर नाचगान गरेर मनोरञ्जन लिन्छन् । फ्रान्समा सम्पन्न हुने ‘गोचो’ नामको पर्वमा त्यहाँका स्थानीय बासिन्दाले घाँस र भुस मिसाएर ठूलो पुतला निर्माण गरी उत्साह उमङ्गका साथ दहन गरी (जलाएर) सहरको कुनै मानिसलाई खुसी साथ गधामा चढाएर घुमाउने प्रथाको उल्लेख पाइन्छ ।
त्यस्तै हाम्रो पूर्वीय संस्कृतिको पौराणिक कालको हिण्यकशिपु होलिका दहनसँग मिल्ने ‘वोगा’ को कथा अफ्रिका देशमा पाइन्छ । पुरातन समयमा अफ्रिकाको प्राचीन ग्रन्थमा ‘वोगा’ नामको एक क्रुर अत्याचारी शासकले स्थानीय जनता (प्रजा) लाई धेरै नै अन्याय अत्याचार गर्दा त्यस्तो अत्याचार सहन नसक्दा उक्त ‘वोगा’ लाई जिउँदै जलाउन सफल प्रयास गरे अफ्रिका वासीले । त्यसै सफलताको खुसियालीमा ‘वोगा’ को पुत्ला बनाएर जलाउँदै उक्त विजयोत्सवको अभियानलाई ‘ओमेना वोगा’ भनी सम्बोधन भएको उल्लेख छ ।

भारतीय संस्कृतिको प्रभाव रहेको पाकिस्तान तथा बङ्गलादेशमा होलीको समयमा आ–आफ्नो घर आँगन, अन्य क्षेत्र वरपर विशेष सफा सुग्घर गर्ने र चिनजानका साथीभाइ, अन्य इष्टमित्रसँग साङ्गीतिक कार्यक्रम गरेर मिष्ठान्नका परिकार खाने÷खुवाउने गरी मनाइएको सुनिन्छ । प्रचलित टुक्कामा नेपालका राणा प्रधानमन्त्री जुद्धशमशेरले फागु खेल्ने र रमाइलो गर्नेका लागि दरबारको पटाङ्गिनीमा निःशुल्क बोराका बोरा अबिरको व्यवस्था गर्दथे । एउटा बोराभित्र दाह्रा झिकिएका तालिमप्राप्त सानो चितुवा राख्न लगाई जुद्धशमशेरले ‘होली फुक्यो’ भन्ने आदेश दिन्थे । उपस्थित रसिला हँसिला व्यक्तिले तँछाडमछाड गर्दै बोराबाट अबिर झिक्दा एउटा बोराभित्रबाट चितुवा निस्केको देखेर भागाभाग गर्दा जुद्धशमशेरलगायत रानीहरू र मैयाँहरूले पेट मिचीमिची हाँस्दा पिसाब खुस्किएको समेत थाहा नपाउँदा वातावरण हाँसोमय हुने गरेको थियो रे । त्यस्तै तराई भेगका विशिष्ठ साहित्यकार, सांसदसमेतलाई कविता वाचन गराई ‘महामूर्ख राज’ लण्ठा धिराज, रति सर्वस्व आदि परिचय र उपाधिले भव्य स्वागत सम्मान गरी मनोरञ्जन लिएको पाइन्छ ।

आपसी सद्भाव र मैत्रीभावलाई बढोत्तरी गर्ने सामाजिक पर्वका रूप होली मनाउनु हाम्रो दायित्व हो । त्यसैले संयमित र मर्यादित भएर होली खेलौँ र मनोरञ्जन गरौँ भन्ने सन्देश यस पर्वले दिन्छ । अहिलेको परिप्रेक्ष्यमा देशकाल परिस्थितिअनुकूल होली मनाउने तौरतरिकामा पनि फेरबदल भएको पाइन्छ । जसले आधुनिकताका नाममा नयाँ नयाँ विकृति निम्त्याइ मनमुटाव झै–झगडा हट्नुको सट्टा झन् बढ्दै जाने लक्षण देखा परेको छ । जीवनलाई एकदिन जसरी तसरी बिसाउनैपर्छ भन्ने कटु यथार्थका बीच रमाइलो ख्याल ठट्टा गर्न सांस्कृतिक रूपमा विकास भएको रमाइलो पर्व हो होली ।