विचार/दृष्टिकोण |

राजनेताको भूमिकामा देउवा

डा. जितु उपाध्याय

नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो तीन दशकदेखि क्रियाशील नेता हुनुहुन्छ– शेरबहादुर देउवा । मुलुकको पाँचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका देउवाको नेपाली राजनीतिमा विशिष्ट पहिचान छ । २०१७ सालमा नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त प्रजातन्त्रको चीरहरण गरेर तत्कालीन राजा महेन्द्र शाहले लादेको पञ्चायती व्यवस्थाको विरुद्धमा उत्रिएका देउवाले कष्टकर जेल यातना भोग्नुभयो । शक्तिशाली राजा महेन्द्रको धनगढी सवारीका क्रममा पञ्चायती व्यवस्थाको विरोधस्वरूप उनी चढेको गाडी देउवाले सडकमै रोकेको घटना आज पनि उत्तिकै चर्चामा छ । त्यसमा पनि सुदूरपश्चिमका पुराना नेताले देउवाको यो कदमलाई साहसिक नेताका रूपमा चित्रण गर्ने गरेका छन् ।

पछिल्ला तीन दशकको राजनीतिक यात्रामा निकै आरोह अवरोह झेल्दै देउवा फेरि एकपटक मुलुककै राजनीतिको केन्द्रीय भागमा हुनुहुन्छ । उहाँकै नेतृत्वमा मुलुक यतिबेला अगाडि बढिरहेको छ । देउवा कम बोल्नुहुन्छ तर जे हो त्यही बोल्ने उहाँको शैलीलाई व्यक्तिहरूले आआफ्नै ढङ्गले व्याख्या गर्ने गरेका छन् । उहाँले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा होस् या सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदा बोल्ने शैली एउटै छ तर आफ्नो अडानमा अडिग हुने र विपक्षी हुन् वा आफ्नै पार्टीका फरक समूहलाई पनि मिलाएर लैजान सक्ने उहाँको खुवी अकाट्य छ । साथै देउवाको हक्की स्वभाव पनि राष्ट्रिय राजनीतिमा बेलाबेलामा चर्चाको विषय बन्ने गरेको छ ।

२०४८ सालदेखि अहिलेसम्मका सबै संसदीय निर्वाचनमा अपराजयको एक्ला यात्री हुनुहुन्छ– देउवा । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि बनेको काँग्रेस नेतृत्वको एकल सरकारका शक्तिशाली गृहमन्त्रीका रूपमा देउवाले पहिलो पटक राजकीय जिम्मेवारी सम्हाल्नुभयो । त्यसपछि जबजब मुलुक सङ्कटको अवस्थामा पुग्यो, त्यसबाट देशलाई निकास दिने जिम्मेवारी पनि देउवाकै काँधमा आएको इतिहासबाट प्रस्ट हुन्छ । जसको पछिल्लो उदाहरण हो– उहाँको प्रधानमन्त्रीमा नियुक्ति ।

नेपाली जनताले स्थिर सरकारको अपेक्षा गर्दै झन्डै दुईतिहाइ मत दिएर कम्युनिस्ट पार्टीलाई जिताए । देउवाले स्थिरता र समृद्धिका लागि प्रतिपक्षीमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो तर सरकार सञ्चालनको दुई वर्ष नपुग्दै कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा)को सरकारमा द्वन्द्व बढ्यो । मुलुक अनिश्चितताको बाटोमा अगाडि बढ्ने खतरा भयो । लामो सङ्घर्ष र त्यागबाट प्राप्त उपलब्धि गुम्दै अर्काे अधिनायकवादको बाटोमा जाने अवस्था देखिएपछि प्रतिपक्षी भूमिकामा रहेको काँग्रेसले नै मुलुकलाई सही दिशामा ल्याउनुपर्ने अवस्था आयो । जसको नेतृत्व काँग्रेस सभापति देउवाले गर्नुभयो । राजनीतिक र संवैधानिक लिकबाट बाहिर गइरहेको देशलाई सही दिशामा ल्याउन देउवाले सबै दललाई आफूमातहतमा समेटेकैले देशले लोकतन्त्रको मार्ग समात्यो ।

आफ्नो चर्काे विरोधी दल होस् वा प्रतिस्पर्धी, सबैलाई मिलाएर सरकार चलाउन सक्ने खुवी देउवामा रहेको चर्चा राजनीतिक वृत्तमा हुने गरेको छ । पार्टीभित्र पनि उहाँकै समूहका नेताहरूले देउवाले छिटो निर्णय नलिने भनेर आलोचना गर्ने गरेका छन् तर देउवा छिटो निर्णय गर्ने नाममा पार्टीभित्र विवाद बढाउने र अर्काे पक्षलाई थप चिढ्याउन चाहनुहुँदैन । त्यसैले देउवा बरु निर्णय गर्न समय लगाउने तर निर्णयमा सबैको अपनत्व गराउन चाहनुहुन्छ । उहाँले राष्ट्रिय राजनीतिका महìवपूर्ण विषयमा पार्टीभित्र व्यापक छलफल गराएर मात्र निर्णय लिन थाल्नुभएको छ । २०७४ सालमा सम्पन्न तीन तहको निर्वाचनपछि हरेक निर्णय पार्टीको केन्द्रीय समितिबाटै गराउनुले देउवा पार्टीभित्रको आन्तरिक लोकतन्त्रप्रति कति प्रतिबद्ध हुनुहुन्छ भन्ने प्रस्ट हुन्छ ।

समावेशी राजनीतिका सूत्रधार
नेपालका राजनीतिक दलभित्र समावेशिताको मुद्दा उठेको २०६२÷६३ सालको जनआन्दोलनपछि मात्रै हो । त्यसमा पनि पहिलो संविधान सभा निर्वाचनपछि संविधान निर्माणका क्रममा सबै जातजाति र समुदायको पहुँच र प्रतिनिधित्व राज्यका सबै निकायमा हुनुपर्छ भन्ने बहस व्यापक बन्यो तर देउवाले धेरै अगाडिदेखि नै समावेशी प्रतिनिधित्वको मुद्दा उठाउनुभएको मात्रै थिएन, व्यवहारबाटै कार्यान्वयन गराउन सफल हुनुभयो । मुलुकको संविधानमा नभएको र राजनीतिमा पनि छलफल नभएको विषयमा देउवाले आफू नेतृत्वको तत्कालीन काँग्रेस प्रजातान्त्रिकमा समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्नुभएको थियो ।
देउवाले राज्यको मूलधारबाट निकै पछाडि परेको कर्णाली, दलित, मधेसी, जनजाति र महिला (कदमजम) को अवधारणा अगाडि सार्नुभयो । राजनीतिक दलभित्र नेतृत्व तहमा प्रतिनिधित्वको सुरुवात पनि उहाँले नै गर्नुभएको हो । साथै प्रधानमन्त्रीका रूपमा पहिलो पटक महिला आयोग, दलित आयोग, सुकुम्बासी आयोगदेखि जनजाति प्रतिष्ठानलगायत गठन गर्नुभयो । देउवा प्रधानमन्त्री भएकै बेला सुरक्षा निकायमा पनि महिलालाई भर्ती गर्ने काम भयो । त्यस्तै युवा मन्त्रालयको गठन पनि देउवाकै पालामा भयो ।

अडान भएका नेता
मुलुक तीन तहको निर्वाचनमा जाँदै छ । एक वर्षभित्रै स्थानीय तह, प्रदेश सभा र सङ्घको निर्वाचन हुँदै छ । स्थानीय तहको निर्वाचन हुन दुई महिना पनि बाँकी छैन । निर्वाचन नजिकिँदै जाँदा मुलुकको जनमत एउटा परियोजनाको विषयमा पूर्णतया विभाजित अवस्थामा पुग्यो । अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा जनमानसमा यतिसम्म भ्रम र अपवाह फैलाइयो कि एमसीसीका पक्षमा बोल्ने हरकोही व्यक्ति राष्ट्रघाती करार भइरहेका थिए । धेरै बुद्धिजीवी र नेता एमसीसीका बारेमा बोल्नै डराउने अवस्था थियो । एमसीसीलाई अगाडि बढाउँदा निर्वाचन परिणाममै असर पर्ने भन्दै काँग्रेसभित्रै ठूलो समूह एमसीसीका बारेमा पार्टी मौन बस्नुपर्ने धारणा बनाइरहेको थियो ।

पाँचदलीय सत्ता गठबन्धनमा काँग्रेसबाहेक सबै दल एमसीसीको विरोधमा थिए । समयक्रममा जब एमसीसी संसद्मा प्रक्रियामा अगाडि बढ्यो, एकाध सांसदबाहेक सर्वसम्मत रूपमा अनुमोदन भयो । एमसीसीको विपक्षमा मत दिने औपचारिक निर्णय गरेका दल अनुमोदनका पक्षमा उभिए । एमसीसीको विरुद्धमा जुन खालका भ्रम र अपवाह फैलाएर जनमतलाई विभाजित गर्ने खेल भएका थिए, ती सबै असफल भए र मुलुकको अन्तर्राष्ट्रिय छवि धमिल्याउने कतिपयको प्रयास पनि सफल भएन । एमसीसीलाई सदनबाट सर्वसम्मत पारित गराउने र विभाजित जनमतलाई एकताबद्ध बनाउन प्रधानमन्त्री देउवाको भूमिका प्रशंसनीय छ ।

‘नेताले एउटा निर्वाचन हेर्छ, राजनेताले मुलुकको भविष्य हेर्छ’ भन्ने चर्चित भनाइ प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवाको हकमा अहिले लागू हुन्छ । एमसीसीकै कारण पार्टी पराजित हुन सक्ने धारणा काँग्रेसभित्रबाटै चर्काे आवाजमा उठिरहेका बेला देउवाले मुलुकको अन्तर्राष्ट्रिय छवि र देशको आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्नुभयो । कम्युनिस्ट सरकार (झलनाथ खनाल प्रधानमन्त्री हुँदा)कै पालामा सुरु भएको र कम्युनिस्ट सरकार (केपी ओली प्रधानमन्त्री हुँदा)का पालामा एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा दर्ता भएको थियो । तिनै पार्टी नेताहरू एमसीसीको विपक्षमा उभिँदा देउवा एमसीसी पारित गर्ने विषयमा एक्लो वृहस्पति हुनुहुन्थ्यो एक समयमा । कालान्तरमा सबैलाई एकै ठाउँमा उभ्याएर एमसीसी अनुमोदन गर्न सफल बन्नुभएका देउवा राष्ट्रिय राजनीतिमा मात्रै नभएर अन्तर्राष्ट्रिय समुदायमा पनि एक विश्वासिलो र परिपक्व नेताका रूपमा
स्थापित हुनुभयो ।

पार्टी सभापतिमा दोस्रो कार्यकालका लागि शानदार जित हासिल गर्नुभएका देउवाले अहिले युवापुस्ताका लोकप्रिय नेता गगन थापालाई साथमा लिएर पार्टीभित्र र बाहिर काम गरिरहनुभएको छ । महाधिवेशनअघिसम्म आफ्ना कटु आलोचक रहेका गगनलाई साथमा लिएर देउवाले अब पार्टीभित्र फरक समूहलाई पनि स्थान दिएको सकारात्मक सन्देश मात्रै दिनुभएको छैन, युवापुस्तालाई पार्टी हस्तान्तरण गर्न खोजेको सन्देश पनि गएको छ । झन्डै दस दशक लामो प्रजातान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित प्रधानमन्त्री देउवाले निर्वाह गरेको अभिभावकीय भूमिकाले देशलाई समृद्धि र स्थिरताको बाटोमा लैजाने निश्चित छ ।