किसानको सम्मान गर्न कृषि गणना
रमेशकुमार गौतम
केही महिनाअघि देशमा भएको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाले सबैको ध्यान आकर्षित ग-यो । जनगणनाको परिणामबारे पक्ष र विपक्षमा तर्क वितर्क गरेको देखियो । अब फेरि देशमा राष्ट्रिय पर्वका रूपमा कृषि गणना हुँदैछ । त्यसैले पहिलेको जनगणनामा देखिएका कमजोरी एवं भ्रम हटाउनलाई यो कृषि गणनाको महìव थप बढेको छ । एकातिर यसको आफ्नै महìव छ भने अर्कोतिर केही महिनाअघि भएको राष्ट्रिय जनगणनामा भएको त्रुटि हटाउन उपयुक्त समयसमेत आएको छ ।
अब छलफल गरौँ कृषि गणनाबारे । नेपालमा हरेक १०/१० वर्षमा कृषि गणना हुने गरेको छ । खासगरी केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०१८ देखि राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आएको छ । कृषि क्षेत्रको सबै पक्षजस्तो कि खेतीपाती, यसको उत्पादन यसले ओगटेको क्षेत्र, सिँचाइ, मलको प्रयोग, कृषि उपकरणको प्रयोग, साथै पशुपन्छी, माछापालनलगायत कृषिसँग प्रत्यक्ष सम्बन्ध राख्ने विविध पक्षको विवरण सङ्कलन गर्नु, प्रशोधन गर्नु साथै निश्चित समयभित्र प्रकाशन गर्नु नै राष्ट्रिय कृषि गणना हो । यो नेपालको सातौँ संस्करण हो । यस गणनामा विशेषतः पारिवारिक, व्यावसायिक र संस्थागत रूपमा सञ्चालित कृषि कार्यको विवरण सङ्कलन गरिन्छ ।
पारिवारिक कृषि कार्य भन्नाले मुख्यता परिवारले आफ्नो प्रयोगका लागि गरिने उत्पादन हो । यसलाई निर्वाहमुखी उत्पादन पनि भनिन्छ । यसमा खालि परिवारको पालनपोषण गर्न चाहिने आवश्यक कृषि क्रियाकलाप पर्छन् । तसर्थ पारिवारिक कृषि कार्य भन्नाले परिवारको प्रयोगका लागि चाहिने कृषि, पशुपन्छीपालन, माछापालन, तरकारी एवं फलफूलसँग सम्बन्धित क्रियाकलापलाई जनाउँछ । व्यावसायिक कृषि कार्य भन्नाले दर्ता भएका वा नभएका तर व्यावसायिक प्रयोजनका लागि बिक्रीवितरण गर्ने उत्पादन पर्छन् । खासगरी व्यावसायिक रूपमा व्यक्ति वा परिवारले गरेका फलफूल तथा तरकारी खेती, ठूलो सङ्ख्यामा बिक्रीका लागि गरिएको बाख्रा, भैँसी, गाई तथा कुखुरापालन, दूध तथा दूधजन्य उत्पादन आदि पर्छन् । त्यसैगरी संस्थागत कृषि कार्य भन्नाले सहकारीको व्यवस्थापनमा सञ्चालन भएका कृषि फार्म, सरकारी, अर्धसरकारी तथा गैरसरकारी फार्म पर्छन् ।
कृषि गणनामा राष्ट्रिय जनगणनाको जस्तै सबै घरपरिवारको गणना हँुदैन । यसमा ७५३ वटै स्थानीय तहको प्रतिनिधित्व हुनेगरी साथै पूर्ण विवरण आउने गरी तथ्याङ्कीय विधिबाट छानिएका करिब तीन लाख पचास हजार किसान घरपरिवारको मात्रै पूर्ण गणना गरिन्छ । राष्ट्रिय जनगणनामा सूचीकृत ४१ लाख किसान परिवारबाट नै उक्त सङ्ख्या निकालिएको हो । कृषिगणना तथ्याङ्क सङ्कलनका लागि फिल्ड कार्य यही २०७८ चैत १ बाट ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी आगामी वैशाख ६ र जेठ १९ गतेसम्म सबै स्थानीय तहमा छनोटमा परेका किसान परिवारबाट कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य सञ्चालन हुनेछ । यस पटकको नारा ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ रहेको छ ।
राष्ट्रिय कृषि गणनाअन्तर्गत किसान परिवार, कृषि चलन, कृषि कामदार, कित्ताको विवरण र सिँचाइ, कित्ताअनुसारको भूउपयोग, कित्ताअनुसार खेती, गरिएका अन्न बाली, कोसे बाली, दलहन, कन्दमूल, तेल बाली, नगदे बाली, मसलाबारी, अन्य तरकारी फलफूल, बीउबिजन, विषादी तथा मलखादको प्रयोग, पाल्तु पशुपन्छीको उमेरअनुसारको सङ्ख्या, कृषि फार्ममा प्रयोग हुने भवन र संरचना, कृषि औजार, पोखरीको विवरण र माछापालन, भैँसी पालन, च्याउ र पुष्पखेती, रेशम खेती, कृषि ऋण, बिमा र अनुदान, कृषि जग्गा र परिवारका अन्य आर्थिक क्रियाकलापसम्बन्धी विवरण सङ्कलन गरिनेछ ।
राष्ट्रिय कृषि गणनाको महìव बहुआयामिक छ । यसले संस्थागत रूपमा तीनै सरकारको नीति तथा कार्यक्रममा उपयोगी भूमिका खेलेको छ । यसले कृषि क्षेत्रको समस्या त्यसको पहिचान अनि सोहीअनुसारको कार्यक्रम तर्जुमा गर्न सहयोगी भूमिका रहन्छ । तीनै तहका सरकारलाई योजना तर्जुमा, अनुगमन, मूल्याङ्कन गर्न सहयोग पुग्छ । कृषि परियोजना सञ्चालन गरिरहेका विभिन्न सङ्घसंस्था, यस क्षेत्रको नीति निर्माणकार्य संलग्न व्यक्ति र संस्था, विद्यार्थी, अनुसन्धानकर्ता र सञ्चारजगत् सबैका लागि उत्तिकै महìव रहनेछ । त्यसैगरी तथ्याङ्कको खण्डीकृत रूपमा पनि यसको महìव रहेको छ ।
महिलाको कृषि क्षेत्रमा सहभागिता उच्च रहेकाले उनीहरूको अगुवाइमा रहेको खेतीपातीको विवरण, उनीहरूको स्वामित्वमा रहेको जग्गाजमिन, कृषि कार्यसम्बन्धी निर्णयमा उनीहरूको भूमिका, कृषि कार्यमा व्यस्त रहेको समय अवधिलगायतका विवरणसमेत सङ्कलन गर्ने हँुदा यो लिङ्गीय हिसाबले समेत महìवपूर्ण छ । त्यसैगरी लिङ्गीय हिसाबले महिलाको छुट्टै प्रतिवेदन समेत प्रकाशन गरिन्छ । त्यसैगरी सरकारको पन्ध्रौँ पञ्चवर्षीय योजनाको उद्देश्य, लक्ष्य र नीति तथा कार्यक्रमलाई यस गणनामा प्राथमिकतामा राखी कृषि गणनाको अवधारणा र निर्देशिका समेत तयार भएकाले सोहीबमोजिमको नतिजा एवं प्रतिवेदन विश्लेषणात्मक रूपमा प्रकाशित गरिने हुनाले समेत यस गणनाको महìव छ । त्यसैगरी नेपाल सरकारले कृषिसँग सम्बन्धित लामो तथा छोटो अवधिका रणनीतिक एवं दीर्घकालीन कार्यक्रमका लागि समेत यो सहयोगी भूमिकामा रहन्छ । दिगो विकास लक्ष्यका विभिन्न सूचकमध्ये भोगमरी, खाद्य असुरक्षा, ग्रामीण गरिबीको अन्त्यसँग सम्बन्धित नतिजासमेत यस गणनामा समावेश हुन्छ ।
त्यसैगरी पछिल्लो महामारीका रूपमा कोभिड १९ को सन्दर्भमा समेत कृषि गणना महत्त्वपूर्ण छ । कोभिड १९ को महामारीले आक्रान्त क्षेत्रमध्ये कृषि क्षेत्र पनि एक हो । यसले लकडाउन र बाह्य तथा आन्तरिक पर्यटकको कमीले तरकारी, फलफूल, दूध तथा मासुको बजार खस्किएर किसान मारमा परेको तथ्याङ्कसमेत सङ्कलन गरिने हुँदा कोभिडको कारण व्यवसाय एवं जागिर गुमाएर गाउँ फर्केका युवालाई नयाँ सोचका साथ रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्ने छ ।
यस्तो महत्त्वपूर्ण कार्यलाई सफल बनाउन सबैको उत्तिकै भूमिका हुन्छ । खासगरी स्थानीय निकाय, गापा, नपा, का अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर वडा सदस्यले अन्य स्थानीय कार्यालयसँग समन्वय गरी गणक तथा सुपरीवेक्षक गणना क्षेत्र, वडाको सिमाना पहिचान गर्न, समुदायको प्रश्नावली भर्न किसान परिवार पहिचान गर्न, साथै किसानलाई गणनाको महìव बुझाउन, प्रचार प्रसार गरी विश्वसनीय तथ्याङक सङ्कलन गर्न सहयोग गर्ने भूमिका रहेको हुन्छ । खासगरी गएको राष्ट्रिय जनगणनाको नतिजाबारे धेरैको टीकाटिप्पणी आएकाले यस गणनामा त्यस्तो प्रकारको टीकाटिप्पणी हुन नदिन केन्द्रीय सरकारले स्थानीय सरकारलाई बढी जिम्मेवारी बनाउनुपर्छ ।
विशेषगरी गणकहरूको परिचालनमा र तथ्याङ्क सङ्कलनमा स्थानीय सरकारको महìवपूर्ण भूमिका रहने हुँदा स्थानीय सरकारलाई समेत अपनत्वको विकास हुनेगरी तथ्याङ्क विभागले काम गर्नुपर्छ । प्रत्येक पालिकामा तथ्याङ्क शाखाको एउटा युनिट रहनुपर्छ ताकि गणकको परिचालन र अन्य स्थानीय कार्यालयसँग समन्वय गर्न मद्दत पुग्छ । त्यसैगरी यसको महìवबारे आम जनमानसमा प्रचार–प्रसार गरी तथ्याङ्क सङ्कलन गर्ने कार्यमा सहयोग गरी सफल पार्नु सर्वसाधारण एवं समुदायको कर्तव्यसमेत रहनेछ ।