परराष्ट्र नीतिको आधार (सम्पादकीय)
विगतदेखि नै नेपालले कुनै पनि शक्ति राष्ट्र वा सैनिक गुटमा संलग्न नरही तटस्थ रूपमा आफ्नो परराष्ट्र नीति अवलम्बन गरिरहेको छ । असंलग्न परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित नीति नै हो । नेपालको परराष्ट्र नीतिको विशेषता एवं सौन्दर्यका रूपमा यो नीतिलाई औँल्याउन सकिन्छ । यसैको परिणामस्वरूप विश्व रङ्गमञ्चमा नेपालले आफ्नै गौरव एवं गरिमा कायम राख्न सफल भएको हो । शान्ति सेनामार्फत संयुक्त राष्ट्रसङ्घलाई नेपालले निरन्तर सहयोग पु-याउँदै आएको छ । नेपाल कुनै पनि शक्ति राष्ट्र वा सैनिक गुटको पक्ष विपक्षमा नरहेको तथा नरहने स्पष्ट पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको असंलग्न परराष्ट्र नीतिको सम्बन्धमा वर्तमान सरकारको नीति स्पष्ट पार्नुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसङ्घको बडापत्रले अवलम्बन गरेको उद्देश्य र सिद्धान्तमा नेपालको प्रतिबद्धता स्पष्ट पार्नुभएको छ । नेपाल भूपरिवेष्टित मुलुक हो र भूपरिवेष्टित मुलुकहरूको साझा विकास र हितमा नेपाल उभिएको पनि उहाँले प्रस्ट पार्नुभएको छ । प्रधानमन्त्रीका अभिव्यक्तिबाट नेपालले राष्ट्रसङ्घको बडापत्रलाई दिएको महìव तथा भूपरिवेष्टित मुलुकको विकास एवं भलाइ सम्बन्धमा व्यक्त चासोका रूपमा पनि लिन सकिन्छ ।
असंलग्नता तथा तटस्थताकै सिद्धान्तको मूल नीति अख्तियारबाट नै विश्वव्यापी स्तरमा नेपालको छवि शान्तिप्रिय मुलुकका रूपमा रहँदै आएको छ । यसका अतिरिक्त छ दशकभन्दा बढी अवधिदेखि विश्वका विभिन्न अशान्त क्षेत्रमा नेपालले शान्ति स्थापनाका लागि सैनिक खटाएर गरिरहेको सहयोग एवं प्रयासको पनि अन्तर्राष्ट्रिय स्तरमा प्रशंसित हुँदै आएको हो । नेपाली शान्ति सेनाको शान्तिप्रतिको प्रतिबद्धता एवं कार्यशैलीलाई सबै पक्षबाट समेत उच्च मूल्याङ्कन हुने गरेको प्रसङ्ग आफँैमा अन्तर्राष्ट्रिय महìवको छ । यसबाट समेत नेपालको तटस्थता एवं शान्तिप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गर्छ । यस्तै यस किसिमको सहयोग एवं प्रयास निरन्तर जारी राख्ने प्रतिबद्धताबाट विश्व शान्तिप्रति नेपालको प्रतिबद्धतामाथि प्रकाश पार्न सघाउँछ ।
ऐतिहासिक कालदेखि नै नेपालले आफ्ना दुई ठूला छिमेकी राष्ट्र भारत तथा चीनसँग समदूरी, समानता तथा तटस्थतामा आधारित सम्बन्ध विस्तार गरिरहेको सर्वविदितै तथ्य हो । विगतमा कतिपय छिमेकीबीच आपसी मनमुटावका घटना सिर्जना भए पनि नेपालले कसैको पक्ष नलिई तटस्थ भूमिका निर्वाह गरेको इतिहास साक्षी छ । फलस्वरूप छिमेकीबीचको सम्बन्धलाई लिएर कटुता सिर्जना भएको देखिँदैन । यति मात्र होइन, मेलमिलापका लागि सद्भावको प्रयास पनि नेपालबाट नभएको होइन । यसलाई नेपालको असंलग्न परराष्ट्र नीतिको सफलताको द्योतकका रूपमा पनि औँल्याउन सकिन्छ ।
प्रधानमन्त्री देउवाले सबै छिमेकी राष्ट्रका साथै अन्तर्राष्ट्रिय विकास सहयोगी संस्थाहरूसँग समानता, आपसी हित एवं विश्वास तथा सम्बन्धका आधारमा सम्बन्ध राख्ने बताएर कुनै पनि राष्ट्र वा विकास सहयोगी संस्थासँग समानता वा अन्य किसिमको पारस्परिक सम्बन्धका विपरीत कुनै पनि सम्बन्ध नराखिने तथ्यमा जोड दिनुभएको छ । यसबाट मुलुकको हितको रक्षा वर्तमान सरकारको सर्वोपरि दायित्व भएको सन्देश उहाँका अभिव्यक्तिबाट प्रस्ट भएको छ । नेपालको संविधानले यही दिशाको परराष्ट्र नीति निर्देशितसमेत गरेको कुरालाई सरकारले गहन रूपमा मनन गरेको देखिन्छ । मुलुकको छवि एवं पहिचान अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि भए मात्र नेपाल र नेपालीले गौरवान्वित महसुस गर्न सक्छन् । यसका लागि मुख्यतया सरकारको भूमिका बढी महìवपूर्ण हुन आउँछ । यस प्रसङ्गमा पनि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्ने विषयमा सरकार संवेदनशील तथा गम्भीर भएको सार्वजनिक गर्नुभएको छ । यस सम्बन्धमा सरकारले आगामी दिनमा अन्तर्राष्ट्रिय रङ्गमञ्च तथा विषयवस्तुमा अख्तियार गर्ने नीतिहरूले बढी प्रस्टताको वातावरण सिर्जना गर्नेछ ।
नेपालको असंलग्न परराष्ट्र नीति विगतदेखि वर्तमानसम्म एक सफल नीतिका रूपमा देखिएको छ । हाम्रोजस्तो सानो मुलुकले कुनै एक शक्ति राष्ट्र वा सैनिक गुटको अङ्ग हुनुको तुलनामा सबै राष्ट्रसँग पञ्चशील तथा तटस्थताको नीति अख्तियार गरेर सम्बन्ध बढाउने दिशामा अग्रसर हुनु आफैँमा दूरदर्शी नीति हो । शान्ति र विकास एकै सिक्काका दुई पाटा हुन् । यो तथ्य नेपालका लागि सदैव मननीय छ । नेपालको शान्तिप्रिय मुलुकको छवि असंलग्न तथा तटस्थ परराष्ट्र नीतिका कारण कायम रहने एवं सफलीभूत हुने तथ्य शङ्कारहित देखिन्छ ।