विचार/दृष्टिकोण |

जलविद्युत्बाटै आर्थिक विकास (सम्पादकीय)

प्रकृतिले नेपाललाई व्यापक जलसम्पदा दिएको छ । नेपाल पूर्वदेखि पश्चिमसम्म उत्तरबाट दक्षिण बग्ने बेगिला नदीनालाले भरिपूर्ण छ । विश्वमा जलस्रोतको धनी राष्ट्रहरूको अग्रपङ्क्तिमा नेपाल पर्छ । प्रकृतिको यस अनुपम उपहारको सदुपयोग गर्न धेरै पहिले नेपाल सक्षम हुनुपर्ने थियो तर अहिले पनि पर्याप्त जलविद्युत् उत्पादन हुन सकेको छैन । पेट्रोलियलगायत अन्य जैविक इन्धन ऊर्जा उपभोग वर्तमानमा पर्यावरणीयका साथै अन्य दृष्टिकोणबाट समेत संसारकै लागि टाउको दुखाईको विषयमा रूपान्तरित भइरहेको छ । यसको विपरीत जलविद्युत् ऊर्जा वातावरणमैत्री छ र यसैका कारण यसलाई ‘ग्रीन क्लिन इनर्र्जी’ को संज्ञा दिइने गरिन्छ ।

पछिल्लो समयमा रुस र युक्रेनबीचको युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य आकाशिँदो छ । नेपालमा समेत त्यो प्रभाव परेको छ । मूल्य वृद्धि र अभावको त्रास नेपालीहरूमा देखिन थालेको छ । बजार भाउ पनि अन्तर्राष्ट्रिय मूल्यअनुसार वृद्धि भइरहेको यथार्थ हो । यसको मुख्य कारण पेट्रोलियम पदार्थको विकल्पका रूपमा जलविद्युत् ऊर्जालाई स्थापित गर्न नसक्नुको परिणतिका रूपमा औँल्याउनुपर्ने हुन्छ । यसैले आफ्नै माटोको प्राकृतिक स्रोत प्रयोग गरेर जलविद्युत् विकास आजको मुख्य आवश्यकता एवं प्राथमिकता हो ।

यसै सन्दर्भमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृह स्थलमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत्को अधिकतम विकासमार्फत ग्यास र पेट्रोलियम पदार्थको आयात कम गर्न सकिने विषयलाई प्रधानता उल्लेख गरेर वर्तमान सरकारको प्राथमिकता जलविद्युत् विकासमा रहेको स्पष्ट सन्देश दिनुभएको छ ।

नेपालको वैदेशिक व्यापारको आँकडाको विश्लेषण गर्दा सबैभन्दा बढी धनराशि पेट्रोलियम पदार्थ तथा ग्यासको आयातमा खर्च भइरहेको छ । नेपालको वैदेशिक व्यापार घाटा बर्सेनि बढ्दै गइरहेको कटु यथार्थ हो । यस स्थितिमा प्रधानमन्त्री देउवाको अभिव्यक्तिले पनि मुलुकमा प्रकृतिप्रदत्त जलस्रोतको उपयोग गरेर ‘ग्रीन क्लिन इनर्र्जी’ का रूपमा जलविद्युत् उत्पादन विकल्परहित विषय प्रमाणित हुन्छ । जलविद्युत् उत्पादनमा अग्रता दिई मुलुकको आर्थिक तथा सामाजिक विकासमा अग्रता दिनु अबको बाध्यता रहेको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना फगत एक जलविद्युत् उत्पादन आयोजना मात्र होइन । यो नेपालका सन्दर्भमा जलविद्युत् निर्माण परियोजनाको मोडल तथा मार्गदर्शकका रूपमा पनि लिन सकिन्छ । यो आयोजनाभन्दा अघि विशुद्ध नेपाली लगानी, प्रािवधिक जनशक्ति तथा व्यवस्थापनमा यति ठूलो आयोजना निर्माण भएको थिएन । त्यसैले पनि प्रधानमन्त्री देउवाले यो आयोजनाको मुग्धकण्ठले प्रशंसा गर्नुभयो । उहाँले यही आयोजनाको मोडलमा मुलुकका विभिन्न स्थानमा जलविद्युत् उत्पादनमा फड्को मार्न सकिने उहाँको मतसमेत रहेको छ । माथिल्लो तामाकोसी मोडल स्थानीयवासीका साथै देशवासीको लागत सहभागिता, नेपाली प्राविधिक जनशक्ति तथा व्यवस्थापनबाट सम्पन्न भएको जलविद्युत् आयोजना हो ।

यसले नेपालको विद्युत् आपूर्तिमा निकै ठूलो सघाउ पु-याएको कसैबाट लुकेको विषय होइन । यसै आयोजनाको सफल निर्माणकै फलस्वरूप आयात गर्नु परिरहेको विद्युत्को परिणाम पनि उल्लेखनीय मात्रामा घट्न भएको छ । नेपाल विद्युत् आयात होइन, देशभित्र पर्याप्त विद्युत् खपत गरी औद्योगिक विकास गर्दै निर्यातसमेत गर्नुपर्ने मुलुकको हुनुपर्ने हो । अब त्यसै दिशामा अगाडि बढ्नुपर्छ ।

नमुनायोग्य जलविद्युत् आयोजनाहरूको निर्माण सम्पन्नतालाई निरन्तरता दिनु वर्तमानको आवश्यकता हो । हाम्रो विगत हेर्ने हो भने दिनमै १६ घण्टासम्म लोडसेडिङको पीडालाई शायदै कसैले बिर्सेका होलान् । यसका अतिरिक्त पर्यावरणीय स्वच्छता, वैदेशिक व्यापारमा सन्तुलन, स्वदेशी पूँजी एवं श्रमको उपयोगका साथै विभिन्न तहमा रोजगारी अवसरको सिर्जना महìवपूर्ण विषयवस्तु हुन् । अहिले पनि ‘खोला झोलामा’ भनाइ नेपालीमाझ चर्चित छ ।

कतिपयले न जलविद्युत् उत्पादनको अनुमतिपत्र लिएर सुतेर बस्ने गरेका छन् । आफू पनि काम नगर्ने र अरूलाई पनि काम गर्न नदिने प्रवृत्ति छ । कतिपयले अनुमति पत्रकै व्यापार गरिरहेका छन् । तसर्थ यस्ता कार्यको रोकथाम तथा नियन्त्रण पनि त्यत्तिकै जरुरी छ । प्रधानमन्त्री देउवाले यस्ता समस्याबाट मुक्ति दिलाइने स्पष्टसमेत पार्नुभएको छ । अब देशको विकासको प्रमुख मार्ग नै जलविद्युत् उत्पादन र त्यसबाटै कृषि, उद्योग र सेवाका क्षेत्रमा अग्रसर हुनुको विकल्प छैन । यसैबाट मुलुकको तीव्र आर्थिक विकास सम्भव छ ।