रुस–युक्रेन युद्धको सन्देश
सन्तोष मेहता
सोभियत सङ्घको विघटनपछि शीतयुद्ध समाप्त भयो । अमेरिकी थिङ्क ट्याङ्क रहेका फ्रान्सिस फुकुयामाले सन् १९९२ मा पुस्तक ‘द इन्ड अफ हिस्ट्री’मा साम्यवादको पतन भएको र अब मानव अधिकार, उदार लोकतन्त्र र स्वतन्त्र बजार अर्थतन्त्र शीतयुद्धपछिको विश्वमा राष्ट्रहरूका लागि एक मात्र वैचारिक विकल्प बाँकी रहेको तर्क गर्नुभएको थियो । उहाँले विश्वमा विचारधाराको हेगेलियन अर्थमा द्वन्द्वको अन्त्य भई इतिहासको अन्त्य भएको तर्क गर्नुभयो । उहाँले विश्वमा अब कुनै युद्ध नहुने विश्वास व्यक्त गर्नुभयो ।
यस पुस्तकको ठीक एक वर्षपछि हन्टिङ्टनले सभ्यतामा आधारित नयाँ प्रकारको द्वन्द्वका बारेमा चर्चा गर्नुभयो र पछि १९९६ पुस्तक ‘द क्लास अफ सिभिलाइजेसन एन्ड द रिमेकिङ अफ वल्र्ड अर्डर’ लेखेर आफ्नो थेसिस विस्तार गर्नुभयो ।
हावर्डका प्रोफेसर र अन्तर्राष्ट्रिय द्वन्द्वका प्रभावशाली विद्वान् स्यामुएल हन्टिङटनको सन् २००८ मा मृत्यु भयो । शीतयुद्धपछिको संसारमा उहाँले भविष्यवाणी गर्नुभयोे, द्वन्द्व अब सांस्कृतिक भिन्नतामा आधारित हुनेछ । उहाँले साझा संस्कृति र धर्मको आधारमा विश्वलाई आठ सांस्कृतिक सभ्यता पश्चिमी, अर्थोडक्स इसाई, इस्लामिक, हिन्दु, सिनिक आदिमा विभाजन गर्नुभएको छ । यी आठमध्ये कुन कुन सभ्यताबीच कडा वा नरम स्तरको द्वन्द्व एवं समन्वय हुने कुरा उल्लेख गर्नुभएको छ ।
यसै पुस्तकमा हन्टिङटनले युक्रेनबारे पनि भविष्यवाणी गर्नुभएको हो ।अहिले रुसद्वारा विशेष सैन्य अभियानको नाममा घोषणा गरिएको युद्ध, रुस र युक्रेनबीच जारी छ । युद्धमा मृत्यु हुनेको सङ्ख्या यकिन छैन । हजारौँ मानिस घरबारविहीन भएका छन् । युक्रेन र रुसबीचको बढ्दो तनावलाई शीतयुद्धपछि युरोपमा सबैभन्दा ठूलो सुरक्षा सङ्कट मानिएको छ । युद्धका कारण युरोपमा विश्वयुद्धको अवस्था सिर्जना हुँदै गएको छ । यतिबेला सारा विश्वको नजर यी दुई देशमा गएको छ । युक्रेन पश्चिममा युरोप र पूर्वमा रुससँग जोडिएको छ ।
उल्लेखनीय कुरा के छ भने युक्रेन कुनै समय रुसी साम्राज्यको हिस्सा थियो । सोभियत सङ्घको विघटनपछि युक्रेनले सन् १९९१ मा स्वतन्त्रता प्राप्त गरेको थियो । सोभियत सङ्घको पतनपछि युक्रेनको विभाजनलाई धेरै रुसी राजनीतिज्ञले इतिहासको ठूलो गल्ती मान्छन् । रुस र युक्रेनबीचको विवादलाई अहिले नाटोसँग जोडेर हेरिएको छ तर यी दुईबीच पटकपटक विवाद भइसकेको छ । युक्रेनको पश्चिमी भागमा युक्रेनी राष्ट्रवाद बलियो छ । यद्यपि युक्रेनमा पनि रुसीभाषी अल्पसङ्ख्यकको उल्लेखनीय सङ्ख्या छ र यी मानिस रुसको छेउछाउको पूर्वी क्षेत्रमा बढी छन् ।
रुसले युक्रेनमा बसोबास गर्ने ८० लाख रुसीभाषी नागरिकको सुरक्षाका लागि आवाज उठाउँदै आएको छ । सन् २०१० मा भिक्टर यानुकोभिक युक्रेनको राष्ट्रपति बन्नुभयो र रुससँग धेरै घनिष्ट सम्बन्ध बनाउनुभयो । यी सम्बन्धका आधारमा उहाँले पहिलेदेखि योजनामा रहेको युरोपेली सङ्घमा सामेल हुने सम्झौतालाई अस्वीकार गर्नुभयो । त्यसको जवाफमा युक्रेनी राष्ट्रवादको भावना बोकेका जनताले व्यापक विरोध प्रदर्शन गरे, जसका कारण राष्ट्रपति यानुकोभिकले २०१४ मा आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । पश्चिमा समर्थित प्रदर्शनकारीको विरोधका कारण उहाँले फेबु्रअरी २०१४ मा देश छोडेर भाग्नुपरेको थियो ।
सन् १९९४ मा अमेरिका, फ्रान्स, बेलायत र रुसबीच बुडापेस्ट, हङ्गेरीमा एउटा सन्धि भएको थियो, जसलाई ‘बुडापेस्ट मेमोरेन्डम’ पनि भनिन्छ । यस सन्धिअन्तर्गत यी देशले कुनै पनि परिस्थितिमा युक्रेनको हितको रक्षा गर्ने र युक्रेनले स्वतन्त्र राज्यका रूपमा काम गरिरहने कुरा सुनिश्चित गर्ने आश्वासन दिए । सोही सन्धिअनुसार युक्रेनले क्रिमियालाई युक्रेनको हिस्सा भएको सर्तमा आफूसँग भएका सबै आणविक हतियार रुसलाई फिर्ता दिएको थियो । आज यो सन्धिमा हस्ताक्षर गर्नेमध्ये एक रुसले युक्रेनमाथि हमला गरेको छ भने अर्कोतर्फ अमेरिका, फ्रान्स र बेलायतले युक्रेनलाई खासै सहयोग गर्न सकेका छैनन् ।
१२ जुलाई २०२१ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर लामो लेख लेख्नुभयो । रसियन र युक्रेनियनहरू एउटै मानव भएको उहाँको कथन थियो । सोभियत समयमा गल्तीले ऐतिहासिक रुसी भूमि युक्रेनको अधीनमा गएको उहाँले दाबी गर्नुभएको छ । युक्रेनको पूर्वी भागमा डोनबास (लुहान्स्क र डोनेट्स्क क्षेत्रहरू)मा रुस समर्थक पृथकतावादी र युक्रेनी सेनाबीच लगातार द्वन्द्व चलिरहेको थियो ।
त्यहाँ पृथकतावादीलाई रुसले समर्थन ग¥यो । यद्यपि रुस यो स्वीकार गर्न तयार छैन । पृथकतावादीहरूले पूर्वी युक्रेनको ठूलो हिस्सा आफ्नो कब्जामा लिन सफल भए । त्यहीबेलादेखि रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीच लडाइँ चलिरहेको छ । लडाइँमा १४ हजारभन्दा बढी मारिइसकेका थिए । यसपछि रुसले युक्रेनविरुद्ध आक्रामकता देखाउँदै त्यहाँको क्रिमियाली राष्ट्रवादको समर्थनमा पृथकतावादीलाई सहयोग ग-यो, जसको फलस्वरूप उसले युक्रेनको क्रिमिया प्रायद्वीपलाई स्वतन्त्र घोषणा गरी कब्जा गरेको थियो । यो घटनापछि युक्रेन पश्चिमासँग झन् नजिक भयो ।
रुसी राष्ट्रपतिले पूर्वी युक्रेन अर्थात् डोनवास क्षेत्र छाड्ने भए वा उनीहरूलाई स्वायत्तता दिने भए युद्धविराम हुन सक्ने बताएका छन् । युक्रेनमा मात्र होइन, केही दिन अगाडि रुसी सांसद पावेल शापरोपले सोभियत सङ्घबाटै छुट्टिएको कजाखस्तानबारे टिप्पणी गर्दै “कजाखस्तानमा अल्पसङ्ख्यक रुसीलाई आप्रवासी मानेर व्यवहार गर्नु गलत हुनेछ किनकि यो भूमि हामीबाट अस्थायी हिसाबमा मात्रै छुट्टिएको हो, सीमा अजम्बरी होइनन्, हामी रुसको भूमिलाई फेरि फिर्ता ल्याउनेछौँ” भनेका थिए । पूर्वी कजाखस्तानको रुससँग नजिक रहेको सीमा क्षेत्रमा पनि करिब २० प्रतिशत रुसी मूलका नागरिक छन् । रुसले पनि आफ्नो अल्पसङ्ख्यक नागरिकलाई दमन गरेकोजस्ता आरोप नलागेका होइनन् ।
युक्रेनी सङ्कटभन्दा धेरै वर्षअघि उहाँले भन्नुभएको थियो कि युक्रेन ऐतिहासिक, भौगोलिक र धार्मिक रेखामा आन्तरिक रूपमा विभाजित रहेको छ, पश्चिमी युक्रेन बलियो रूपमा पश्चिमा निकट छन् भने पूर्वी युक्रेन अर्थोडक्स रुसको नजिक छ । युक्रेनमा दुई अलगअलग संस्कृतिका मानिस बस्छन् । एकल संस्कृतिकै आधारमा युक्रेन रहे पूर्वी भाग रुसमा विलय हुन सक्ने चेतावनी दिएका थिए ।
शीतयुद्धपछिको विश्वमा द्वन्द्वका कारण राष्ट्रहरूबीचको विचारधाराको मतभिन्नताभन्दा पनि प्रमुख सभ्यताबीचको सांस्कृतिक र धार्मिक भिन्नता हुने हन्टिङ्टनको विचार थियो । हन्टिङ्टनले ‘सभ्यताको सङ्घर्ष’ पुस्तक लेख्दा यो विचार ९० को दशकमा दिनुभएको थियो तर आज विश्वका धेरै महìवपूर्ण घटनाले युग सभ्यताको सङ्घर्षमा प्रवेश गरेकोजस्तो लाग्छ । जस्तै– भारतमा नरेन्द्र मोदीले हिन्दुत्व विचारधाराको सशक्तीकरण गर्नु, चीनको सी चिनफिङको पश्चिमी प्रभावविरुद्धको सङ्घर्ष, इस्लामिक कट्टरपन्थी, पश्चिम र अर्थोडक्स रुस देशबीचको द्वन्द्व, विश्वका धेरै देशमा राष्ट्रवादको उदय, संयुक्त राज्य अमेरिकाभित्र पनि राष्ट्रवादको पुनरुत्थानलाई यस प्रकारको सभ्यतावादको एक मोडका रूपमा देख्न सकिन्छ ।
सन् २०१५ मा भएको मिनिस्क शान्ति सम्झौताअनुसार जहाँ युक्रेनमा रहेको रुसीभाषी जनताको स्वायत्तता प्रदान नगरिएको बहानामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमिया र डोनबासमा रुसी जातीय संरक्षणको नाममा सैन्य आक्रमण गर्नु तथा युक्रेनको पक्षमा पनि पश्चिमा उभिनु यी सब घटना हन्टिङ्टनको सभ्यता थियोरीसंँग नजिक रहेको छ । हिन्दु सभ्यताको पश्चिमा वा रुसीहरूसंँग उस्तै उस्तै द्वन्द्व र समन्वय हुने पुस्तकमा उल्लेख गरेझैँ युक्रेन मामलामा आज मोदीको तटस्थता हेर्दा पनि हन्टिङ्टनको सभ्यता थियोरीसँंग
मिलेकै देखिन्छ ।
सिनिक र इस्लामिक सभ्यताबीच गठबन्धन हुने कुरा हन्टिङ्टनले भनेझैँ चीनको पाकिस्तान, बङ्गलादेशसंँगको सहकार्य, इरान र टर्कीसँगको समझदारी र अफगानिस्तानको तालेवानीप्रतिको स्नेहले हन्टिङ्टनले लेखेझैँ, “शीतयुद्धपछिको संसारमा मानिसबीचको सबैभन्दा महìवपूर्ण भिन्नता वैचारिक, राजनीतिक वा आर्थिक होइनन् तर सांस्कृतिक हुनेछन ।” यसले थियोरीलाई नै समर्थन पुगेको छ । यस आलोकमा युक्रेन–रुस युद्ध पनि सभ्यतावादजस्तो देखिन्छ । यसबीच थुप्रै रुसी राष्ट्रवादी लेखकले रुसी सभ्यताको एकीकरण अर्थात् रुसी इतिहास, संस्कृतिको एकीकरण हुनुपर्ने आशयका लेख लेखेका छन् । पुटिनले पनि आफ्नो युद्ध भाषणमा पनि यस्तै भन्नुभएको थियो ।
वास्तवमा धेरै युक्रेनी स्वतन्त्र रहन चाहन्छन् तर पूर्वी युक्रेनका मानिस युक्रेनलाई रुससँग विलय गर्नुपर्छ वा उनीहरू स्वायत्तता चाहन्छन् र युरोपेली सङ्घ वा नाटोको सट्टा रुससँग मित्रता चाहन्छन् । युक्रेनी राजनीतिमा नागरिक र नेता दुई गुटमा विभाजित छन् । एउटा पार्टीले रुसलाई खुलेर समर्थन गर्छ भने अर्को पार्टीले पश्चिमी देशलाई समर्थन गर्छ । यही कारणले गर्दा आज युक्रेन विश्वका ठूला शक्तिबीचको द्वन्द्वमा फसेको छ । यो सबै सभ्यताबीचको सङ्घर्ष हो । स्यामुएल हन्टिङ्टनले ‘सभ्यताको सङ्घर्ष’ पुस्तकमा भनेअनुसार ‘अर्थोडक्स’ र ग्रिक क्याथोलिक युक्रेनको घरेलु दुई संस्कृतिवादबीचको द्वन्द्व, भूराजनीतिक प्रतिस्पर्धाका कारण विशाल छिमेकी रुसको अर्थोडक्स र पश्चिमी युरोपको ग्रिक क्याथोलिकबीचको द्वन्द्वको स्वरूप लिएको हो ।
रुसले सार्वभौम युक्रेनमाथि गरेको आक्रमण मानवतामाथिको आक्रमण हो । यसको निन्दा गर्नैपर्छ तर युक्रेन सङ्कटको मूल जरोको विश्लेषणबाट एउटा महìवपूर्ण पाठ भने सिक्न सक्छौँ । युक्रेनजस्तो बहुसांस्कृतिक राष्ट्रवादमा आधारित देशको सन्दर्भमा पनि हन्टिङ्टनले भन्नुभएको छ कि यस्तो देशले सावधानीपूर्वक सबैको संस्कृतिको सम्मान तथा कुशल कूटनीतिको परिपालन उपयुक्त हुन्छ । जब कि युक्रेनले सन् २०१४ देखि पूर्वी युक्रेनका भाषामाथि पनि प्रतिबन्ध लगायो । राष्ट्रिय एकता कमजोर भएको देशमा प्रोक्सी युद्ध वा प्रायोजित युद्धको जोखिम हुने रहेछ ।
युक्रेनको सन्दर्भमा पनि हन्टिङ्टनले या त विभाजनले समाधान गर्ने वा दुवै संस्कृतिक राष्ट्रवादको आकाङ्क्षालाई सम्मान गर्ने सङ्घ निर्माण भएको बताउनुभयो अर्थात् त्यो भनेको सङ्घमा साझा शासन तथा स्व–पहिचान, स्वायत्ततासहितको सङ्घीयताबाटै राष्ट्रिय एकता सम्भव छ । त्यस अर्थमा बहुसांस्कृतिक मुलुक कमजोर भएमा अन्य मुलुकले देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र त्यसमा अनिश्चितता र अस्थिरता उत्पन्न हुने सम्भावना रहन्छ । त्यहाँ युक्रेनझैँ अन्तर्राष्ट्रिय कानुन र सन्धिहरूको पनि कुनै महìव हुँदो रहेनछ । नेपाल पनि बहुसांस्कृतिक राष्ट्रवाद भएको देश हो तर यहाँ पनि एकल सांस्कृतिक दृष्टिकोणबाट राज्य सञ्चालन गर्ने प्रयास भइरहेको छ । युक्रेनबाट नेपालले सिक्नुपर्ने पाठ धेरै छन् । á