विचार/दृष्टिकोण |

स्वनिर्भर अर्थतन्त्रको दिशा (सम्पादकीय)

आर्थिक विकासका प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपाल अल्पविकसित मुलुकमा लामो समय सीमित हुनुप-यो । आगामी केही वर्षमा नेपालले विकासशील मुलुकमा अगाडि बढ्न बाटो तय गरिसकेको छ । त्यो बाटो निश्चय पनि सजिलो छैन । अल्पविकसित मुलुकका रूपमा नेपालले पाउने कतिपय अन्तर्राष्ट्रिय वित्तीय तथा व्यापारको सुुविधाबाट वञ्चित हुनुपर्ने अवस्थासमेत आउन सक्छ । निरन्तर आयात बढ्दै गएको छ । निर्यातको वृद्धि सामान्य हुने गरे पनि आकार सानो हुँदा देश स्वनिर्भर मार्गमा सोचे जसरी अगाडि बढ्न सकेको छैन । देशभित्र रहेको प्राकृतिक साधन र स्रोतका प्रभावकारी उपयोगबाट मात्र देश स्वनिर्भर हुन सक्छ । त्यसका लागि निर्यात निरन्तर बढाउँदै आयातमा कमी ल्याउनु पर्नेछ । कामको खोजीमा विदेशिएको जनशक्तिलाई देशभित्रै काम दिन सक्ने अवस्था सिर्जना नगरी देश स्वनिर्भर हुन कठिन नै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आत्मनिर्भर अर्थतन्त्र नभएसम्म देशको समग्र विकास हुन नसक्ने स्पष्ट पार्नुभयो । बढ्दो आयातलाई न्यूनीकरण गर्न स्वदेशी वस्तुको उत्पादनमा जोड दिन प्रधानमन्त्रीको भनाइमा गम्भीर मर्म निहित छ । वाणिज्य नीति, २०७२ को प्रावधानअनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले अब देशलाई आत्मनिर्भर बनाउन लाग्नुपर्ने उद्घोषसमेत गर्नुभयो । यताका दशकमा देशको अर्थतन्त्र विस्तारै आयात र विप्रेषणमा आधारित हुँदै गएको छ । कृषि प्रधान देश नेपालको फाँटिला खेतबारी विस्तारै बाँझिँदै छन् । धेरै युवा बालिग हुन थालेपछि नै विदेशिने तरखरमा हुन्छन् । उद्योगधन्दाको विकास हुन नसक्दा आवश्यकता अनुरूप रोजगारी सिर्जना हुन सकेको छैन । सेवा क्षेत्रको केही विकास र विस्तार भए पनि युवा जनशक्तिलाई पर्याप्त रोजगारी दिन सकेको छैन । यो तौरतरिकाले देशको अर्थतन्त्रको विकास सम्भव नभएर नै आर्थिक विकासमा मुलुक पछाडि परेको हो ।

तुलनात्मक लाभ भएका वस्तुहरूको पहिचान गरी उत्पादन बढाउने दिशामा अगाडि बढ्नु अबको मूल आवश्यकता हो । त्यसका लागि नीतिगत, संस्थागत र संरचनागत सुधारसमेत आवश्यक भए त्यसका लागि पर्याप्त गृहकार्य हुनुपर्छ । बाहिरबाट ल्याउने वस्तुको आयात प्रतिस्थापन गर्न सक्दा पनि आयातका रूपमा विदेशिने धन स्वदेशमै बस्नेछ । देशभित्र निर्यात बढ्न सक्ने वस्तु उत्पादन गरी बाहिर पठाउन सक्दा बाहिरको धनसमेत स्वदेश भित्रिनेछ । निर्यात बढाउन देशभित्र लगानीको वातावरण सिर्जना हुनुपर्छ । विस्तारै ऊर्जामा स्वनिर्भर हुँदै गएको सन्दर्भमा अब गुणस्तरीय ऊर्जा भए लगानीको वातावरण सिर्जना गर्न सहयोग पुग्नेछ ।

चालू आर्थिक वर्षको आठ महिनामा आयात बढ्दै गएर दस खर्ब रुपियाँभन्दा बढी त व्यापार घाटा नै भएको छ । यद्यपि चालू आर्थिक वर्षको आठ महिनामा निर्यात उत्साहजनक नै देखिएको छ । गत वर्षभरिमा एक खर्ब ४१ अर्ब रुपियाँ हाराहारीको निर्यात रहेको थियो तर चालू आर्थिक वर्षको आठ महिनामै एक खर्ब ४७ अर्ब रुपियाँ हाराहारीको निर्यात भइसकेकेको छ । तथ्याङ्कमा निर्यात उत्साहजनक रहे पनि कतिपय वस्तु आयात गरेर त्यसमा केही मूल्य अभिवृद्धि गरी निर्यात गरिने वस्तुहरू समेतले निर्यातको आकार उत्साहजनक भएको यथार्थ पनि छ । देशभित्रैको साधन, स्रोत र कच्चा पदार्थमा आधारित भएर उत्पादन गरिएका वस्तु निर्यातले मात्र देशको अर्थतन्त्र सही अर्थमा बलियो हुने कुरा यहाँ बिर्सन मिल्दैन ।

पेट्रोलियम वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्य निरन्तर बढ्दै गएको छ । रुस र युक्रेनबीच जारी युद्धले अझ मूल्यमा बढोत्तरी आउने क्रम जारी छ । पेट्रोलियमको मूल्य वृद्धिले सबै क्षेत्रमा केही न केही असर पार्छ । बजार भाउ बढाउँछ । लगानीको सम्भावना घटाउन सक्छ । पेट्रोलियमको विकल्प भनेको देशभित्र उपलब्ध जलस्रोतको प्रभावकारी उपयोग हो । सौर्य ऊर्जाको उपयोग हो । यसले पेट्रोलियमको आयात प्रतिस्थापन गर्न सहयोग पु-याउँछ । देशभित्रै ऊर्जा उत्पादनले रोजगारी सिर्जना गर्नुका साथै लगानीका लागि वैदेशिक पुँजीलाई समेत आकर्षित गर्न सक्नेछ । नेपालको स्वनिर्भर आर्थिक विकासका लागि कृषि, पर्यटन र जलस्रोत प्रमुख क्षेत्र हुन् । यी तीन क्षेत्रमा पर्याप्त पुँजी, प्रविधि र जनशक्तिले काम गर्न सक्ने वातावरण भए देशले स्वनिर्भर आर्थिक विकासको मार्ग अवलम्बन गर्न सक्नेछ ।