बलियो स्थानीय सरकार
डा.पुरुषोत्तम मरहठ्ठा
स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलले प्रशिक्षण कार्यक्रमको थालनी गरेका छन् । सिद्धान्तको राजनीतिमा आएको विचलनकै कारण केही समय लोकतन्त्रले आफ्नो लय समात्न सकिरहेको छैन । राजनीति परिपक्व हुनसकेको छैन । प्रजातन्त्र, लोकतन्त्रहुँदै गणतन्त्र आएको समेत १३ वर्ष बितिसक्दा पनि राजनीतिक संस्कार बन्ने र भत्कने क्रम जारी छ । नेपालको सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र भूगोलसँग मिल्ने गरी दलहरूले प्रशिक्षण कार्यक्रम सञ्चालन नगर्ने हो भने कार्यकर्ताले भ्रम पाल्नुपर्ने स्थिति देखिन्छ ।
केही समयअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले पुँजीबजारमा लगानी गर्नु साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गर्नुभएको थियो । उहाँले चीनमा भएको पुँजीबजार विस्तार केको विकसित रूप हो त, भन्ने बारेमा केही बताउन सक्नुभएको छैन । उहाँको यही अभिव्यक्तिले व्यर्थमा त्यो समय सेयरबजार कति दिनसम्म ओरालो लागि रह्यो । त्यसैले नेताहरूले अबका दिनमा आफ्ना कार्यकर्तामाझ सस्तो लोकप्रियताका लागि बोल्दा मुलुकको कुन क्षेत्रमा के कस्तो असर पर्छ भन्ने विषयमा गम्भीर बन्न जरुरी छ ।
हालै नुवाकोटको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै समय केपी ओलीले नेतृत्व गरेको पार्टीका तर्फबाट भीम रावल रक्षामन्त्री बनेका बेला एमसीसी सम्झौता अघि बढेकाले सम्झौता खराब र राष्ट्रविरुद्ध थियो भने किन उतिबेला चुप लागेर बसेको भनी प्रश्न गर्नुभयो । सत्तामा बस्दा मौन बस्ने र बाहिर आएपछि धुवाँधार विरोध गर्ने यस्तो परम्परा जारी रहने हो भने कार्यकर्ताले व्यर्थमा दुःख पाउनेछन् । दोहोरो भूमिका खेलेर नेताहरूले आफ्ना मतदातालाई भ्रममा राख्दै जाने हो भने जनता सत्य र सही सूचना पाउनबाट वञ्चित हुन पुग्छन् । दुईजिब्रे कुराले अन्त्यमा दलहरूको साखमा समेत ठूलो क्षति पुग्नेछ ।
समयमा निर्णय गर्न नसक्दा कार्यकर्तामा भ्रम सिर्जना हुन पुग्छ । लामो समय यसरी कसैलाई पनि दुविधामा राख्नु लोकतन्त्रका लागि मात्र होइन मुलुककै लागि घातक हुनेछ । विरोध ग¥यो भन्दैमा लोकतन्त्रमा कसैको पनि मुख थुन्न सकिन्न । विरोध भनेको अधिनायकवादी हुन खोज्नेमाथि खबरदारी पनि हो । विरोधको अभावमा धेरै सत्ता निरङ्कुश हुन सक्छन् । जहाँ विरोधको मनग्ये स्थान रहन्छ त्यहाँ निरङ्कुशताको कुनै गुन्जायस रहन्न । त्यसैले विरोध विरोध मात्र नभएर यसले अन्यायविरुद्ध लड्ने रक्षा कवचको काम गर्छ । नेपालले हालका दिनमा विरोधीलाई विरोधको मौका दिएर बल प्रयोग भन्दा शान्तिपूर्ण तरिकालाई अवलम्बन गर्न खोजेको देखिन्छ । यसै क्रममा जनादेशको उत्तम मार्ग चुनाव नै हो । दलहरूले यसमा रणनीति र दाउपेचको भूमिका खेलिरहेका हुन्छन् । हालका दिनमा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी गरेर मात्र होइन व्यवहारबाटै पारदर्शी र विश्वसनीय बनाउनुपर्छ । जसको अनुभूति जनताले गरुन् ।
केही समयदेखि दलहरूमा परिपक्वता देखिँदै आएको छ । समीकरणलाई लिएर काँग्रेसमा विचार स्पष्ट हुन वाद, विवाद र संवाद देखिन थालेको छ । शेखर कोइराला नेतृत्वको विचार समूह एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा छ भने संस्थापन पक्ष विद्यमान सत्तासँग चुनावी गठबन्धनसम्म तालमेल नगर्ने हो भने त्यसभित्रका केही दल वामपन्थी धारसँग हात बढाउन सक्नेतर्फ सचेत गराइरहेका छन् । चुनावअघि विचारको भेन्टिलेट हुनु द्वन्द्व बढेको नभई राजनीति ध्रुवीकरणतिर नजाओस् भनेर गरेको खबरदारी पनि हो । अर्र्काेतर्फ माओवादीका नेता घुँडा टेकेर तालमेल गरिँदैन भन्न थालेका छन् । माओवादी पार्टीका उच्चस्तरीय नेता भने कार्यकर्तालाई एक्लै चुनाव लड्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिँदैछन् । जेहोस् तोकिएकै समयमा चुनाव हुनेमा भने सबै दल सहमत देखिएका छन् ।
समय परिस्थिति हेरेर हाल गठबन्धनमा रहेका दलसँग नै तालमेल गर्ने कि आगामी दिनको राजनीतिक परिस्थिति कसरी अघि बढ्छ त्यहीअनुसार गठबन्धन गर्ने भन्ने माओवादी मनसाय देखिएको छ । कुनै पनि दल सत्ता र शक्ति बिना रहन सक्दैन । शक्ति र सत्तामा दाउपेच चलिरहेको छ, चलिरहन्छ । राजनीतिका खेलाडीले आफ्नो दललाई अब्बल दर्जा दिन गोप्य रूपमा दाउपेच गरिरहेका हुन्छन् । विरोधीलाई असफल पार्ने रणनीति गुप्त रूपमै बनिरहेको हुन्छ । त्यसैले राजनीतिज्ञले दलको सिद्धान्तप्रति जनतालाई आश्वस्त बनाएर स्थानीय तहको चुनावमा आफ्नो दललाई विजयी बनाउन लाग्नुपर्छ । समयसापेक्ष रणनीति बनाउन सबै दल स्वतन्त्र छन् तर संविधानको रक्षा हुनेगरी प्रतिबद्ध र विश्वसनीय भएर प्रस्तुत हुनुपर्ने चुनौती पनि छ ।
संविधानले दिएको राजनीतिक दल खोल्न पाउने स्वतन्त्रताको सम्मानमा नचुक्ने र विधिबाट स्थापित दलको देशभक्तिमा कसैले प्रश्न गर्न सक्दैनन् । कुनै पनि दलले सस्तो लोकप्रियता र चुनावी रणनीतिका लागि कसैलाई राष्ट्रघाती र देशद्रोही भन्ने अधिकार छैन । राम्रो मनसायले काम गर्दा नेपाली काँग्रेसमाथि पटकपटक प्रहार भइरहेको देखिन्छ । ०१७ सालमा चुनाव धाँधली भयो भनेर विरोधी दलले चुनाव रद्द गराउने प्रयास असफल भयो । त्यसपछि पनि काँग्रेसको मोर्चामा डा. केआई सिंह, टङ्कप्रसाद आचार्य र रङ्गनाथ शर्मा मिलेर काँग्रेसले नेतृत्व गरेको सरकारको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक मोर्चा गठन गरेर संसद्भित्र र बाहिर विरोध सुरु गर्नुभयो । सरकारमा रहेका दललाई चौतर्फी आक्रमण गर्ने परम्परा नेपालमा विगतमा पनि निरन्तर चल्दै आएको छ । त्यसैले अबका दिनमा कार्यकर्तामाझ जाँदा नेताले कसैलाई पनि उचाल्ने र पछार्ने राजनीति गर्नु हुँदैन । सभ्य संस्कार निर्माण गर्नुपर्छ ।
सत्तासीन दलभित्र अझै पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल छ । प्रतिपक्षलाई सत्तोसराप गरेकै भरमा नेतालाई स्यावासी दिने परम्परा अबका दिनमा काम छैन । दलको विचारधारा, दर्शन र कार्यक्रम जति राम्रो हुन्छ त्यति सर्वसाधारणलाई आकर्षण गर्न सकिन्छ । हिजोको इतिहास भजाएर फेरि मतदातालाई छक्याउन सकिन्छ भन्ने भ्रम दलहरूले तोडे हुन्छ । नेपाली जनता सानो असन्तोषका लागि सडकमा आइसकेको हुन्छ । व्यवस्थापकीय क्षमता सिकेर मात्र जानिने हो । यतिबेला ठूला दलले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिन केन्द्रीय प्रशिक्षकका रूपमा खारिएका नेतालाई सातै प्रदेशमा खटाइसकेका छन् । हरेक व्यक्ति आस्थाको राजनीति गर्न स्वतन्त्र हुने भएकाले दलहरूलाई आआफ्ना कार्यकर्ता दलभित्र टिकाइराख्न ठूलो चुनौती बनेको छ । यसका लागि उग्र विचार पस्केर फाटो पार्ने काम कुनै पनि हालतमा सह्य हुँदैन, चुनाव त जितिन्छ वा हारिन्छ । बढ्दो प्रतिस्पर्धाका बीच प्रतिस्पर्धी दलसँग कसरी लोकतान्त्रिक संस्कार र आचरण कायम गर्ने ।
दलको विचार र स्वार्थ मिल्नेलाई प्रशिक्षित गर्न शालीन तरिकाले प्रस्तुत हुने प्रशिक्षकले कहिल्यै पनि एक अर्काे दलप्रति राग, द्वेष र घृणाको विजारोपण गर्नु हुँदैन । लोकतान्त्रिक अभ्यासमा हरेक व्यक्तिलाई आफ्नो दलसँग नजिक हुने र अरूको अधिकारको सम्मान गर्ने स्वतन्त्रता पनि उत्तिकै हुन्छ । नेताले कार्यकर्ताको सोचाइमा आउने परिवर्तनसँग गम्भीर बन्न सक्नुपर्छ । स्थानीय सरकार बलियो बनाउन भविष्यमा केकस्तो चुनौतीको सामना गर्नुपर्छ त्यसको पूर्वानुमान गर्दै आफ्ना कार्यकर्ता नै मुख्य औजार हुन् भन्ने महìव बुझाउन सक्नुपर्छ ।
जनताको सबैभन्दा नजिकको सरकार भनेको पालिका नै हो । स्थानीय जनताले त्यहाँ आफ्नो सम्मानजनक जीवनयापनको सपना देखेको हुन्छ । विकासका लागि राष्ट्रिय सहमति बन्न नसकिरहेको वर्तमान अवस्थामा सत्ताका लागि दलीय सहमति बन्न सक्छ भने निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि एक अर्कोलाई सम्मानजनक स्थान दिन सक्नुपर्छ । प्रशिक्षणमा खाली चुनाव जित्ने रणनीतिमा मात्र ध्यान दिने हैन आफ्नै पार्टीको आन्तरिक गठबन्धन कस्तो छ त्यसलाई पनि ख्याल गर्नुपर्छ । हरेक दलले प्रपोगण्डालाई यताका केही समय आफ्नो हितमा प्रयोग गर्दा त्यसले विरोधी दललाई पनि के कस्तो प्रभाव पार्छ भन्ने बिर्सेका हुन्छन् ।
नेपाली जनता हल्लाको पछि लाग्ने भएकाले वास्तविक कुरा बुझेर निर्णय गर्ने क्षमताको विकास नभएसम्म सासाना एजेन्डामा सडक तताउने कार्य जारी रहनेछ । नेताले भ्रम फैलाउनकै लागि बिकाउने समानबारे जबसम्म जनताले बुझ्दैनन् तबसम्म राजनीति सही मार्गमा हिँड्न सक्दैन । प्रपोगण्डाको राजनीतिबाट जनता चुनावमा प्रभावित भएनन् भने जनताले सही उम्मेदवार रोजेर पठाउने छन् । प्रशिक्षणको नाममा दलहरूबीच द्वन्द्वको विषवृक्ष फैलाउने काम नेताबाट नहोस् । यति भयो भने स्थानीय सरकार बलियो हुनेछ । लोकतन्त्र र लोकतान्त्रिक संस्कारको जग पनि दरिलो बन्नेछ ।