विचार/दृष्टिकोण |

क्षयरोगको सर्वसुलभ उपचार

गङ्गाराज अर्याल

हरेक वर्ष मार्च २४ तारिखका दिन मनाइने विश्व क्षयरोग दिवस यस वर्ष “क्षयरोग अन्त्य गर्न लगानी गरौँ, जीवन बचाऔँ” भन्ने नाराका साथ मनाइँदैछ । क्षयरोग नियन्त्रणको प्रतिबद्धताबमोजिम क्षयरोग निर्मूल गर्न लगानी गर्न आवश्यक छ । विश्वभर दुई वर्षअघिदेखि फैलिएको कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को परिप्रेक्ष्यमा समुदायस्तरमा जनचेतना अभिवृद्धि गरी क्षयरोग निर्मूल गर्ने लक्ष्य हासिल गर्न विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य कभरेज सुनिश्चित गर्नुपर्छ । यस वर्षको विश्व क्षयरोग दिवसले क्षयरोगजस्तो घातक सङ्क्रमणका कारण विश्वभरका समुदायस्तर सम्मको स्वास्थ्य, सामाजिक तथा आर्थिक प्रतिकूल असरलाई निराकरण गर्न आह्वान गरेको छ ।

क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुबाट अत्यन्त छिटो सर्ने रोग हो । जुनसुकै उमेरका व्यक्तिलाई र रोगसँग लड्ने क्षमता कम भएकालाई क्षयरोगले सजिलै आक्रमण गर्छ । क्षयरोग लागेका बिरामीलाई एचआईभीबाट सजिलै सङ्क्रमण हुन सक्छ । परिणामस्वरूप निको हुन गाह्रो हुनुका साथै अकालमा मृत्युसमेत हुन सक्छ ।क्षयरोगको अन्त्यबारे लगानी बढाएर समुदायस्तरसम्म जनचेतना अभिवृद्धि गरी क्षयरोगलाई विश्वबाटै अन्त्य गर्न माथिल्लो तहदेखि नै गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु हो ।

सन् १८८२ मा डा.रबर्ट कोच नाम गरेका वैज्ञानिकले ‘माइकोब्याक्टेरियम ट्युबरकुल’ नामक किटाणुबाट क्षयरोग लाग्ने तथ्य पत्ता लगाएका हुन् । त्यसकारण कोचकै नाम राखी माइको ब्याक्टेरियम ट्युबरकुललाई ‘कोच ब्यासिलस’ पनि भनिन्छ । सन् १९८२ मा क्षयरोग तथा फोक्सोसम्बन्धी रोगविरुद्धको अन्तर्राष्ट्रिय सङ्घको १००औँ वर्षगाँठमा रबर्ट कोचको प्रस्तुतीकरणबमोजिम हरेक वर्ष २४ मार्चका दिन विश्व क्षयरोग दिवसका रूपमा मनाउने औपचारिक घोषणा गरियो । त्यसैलाई आत्मसात् गर्दै विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगलाई सधैँका लागि अन्त्य गर्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाउन थालिएको हो ।

सन् १९९५ मा विश्व स्वास्थ्य सङ्गठन र रोयल नेदरल्यान्ड क्षयरोग फाउन्डेसनले पहिलो विश्व क्षयरोग दिवस मनाउन योजना तथा पैरवी बैठक गरी नियमित रूपमा विश्व क्षयरोग दिवस मनाउन सघाएको थियो । क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । मृत्युको मुखसम्म पु-याउन सक्ने भए पनि समयमै र पूरा अवधिसम्म उपचार गरेमा क्षयरोग निको हुन्छ । विश्वभर बर्सेनि ३० हजारभन्दा बढी व्यक्ति क्षयरोगद्वारा सङ्क्रमित भएको पाइएको छन् भने हरेक दिन चार हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्वको ४४ प्रतिशत जनसङ्ख्या क्षयरोगबाट सङ्क्रमित भएको छ ।

सन् २०१९ मा दक्षिण पूर्वी एसियाका चार लाख ३० हजारभन्दा बढी व्यक्ति क्षयरोगबाट सङ्क्रमित भएका थिए । राष्ट्रिय क्षयरोग कार्यक्रमको २०७६/७७ को प्रतिवेदनअनुसार क्षयरोगबाट २७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको पाइए पनि ६८ हजार सङ्क्रमित भएको अनुमान गरिएको छ ।क्षयरोग नेपालको मृत्युका दस कारणमध्ये एक भएको छ । देशको जनसङ्ख्याको झन्डै ५० प्रतिशत जनता क्षयरोगबाट सङ्क्रमित भएको पाइएको छ । तीमध्ये झन्डै आधाजति उत्पादनशील समूह (१५–५०) का युवा जनशक्ति सङ्क्रमित पाइएका छन् भने ५.५ प्रतिशत बालबालिका सङ्क्रमित पाइएका छन् । मुलुकमा चार हजार नौ सय ५५ परीक्षण तथा उपचार केन्द्र सेवारत छन् । क्षयरोग तथा एचआईभीबाट सङ्क्रमित भएका व्यक्तिमा प्रतिजैविक औषधिको निष्प्रभावबाट बढी मृत्यु हुने गर्छ ।

क्षयरोग दुई किसिमका हुन्छन् । पल्मोनरी टिबी । यो फोक्सोमा मात्र लाग्ने क्षयरोग हो, क्षयरोगका कीटाणुले फोक्सोमा सङ्क्रमण गरेमा पल्मोनरी अथवा फोक्सोको क्षयरोग हुन्छ । अर्को, एक्सट्रा पल्मोनरी टिबी । यो फोक्सोबाहेकका अङ्गमा लाग्ने क्षयरोग हो, जसमा मस्तिष्क, मिर्गौला, हाड, जोर्नी, मूत्र प्रणाली, रगत, जनेन्द्रीय आदि प्रणालीमा लाग्ने क्षयरोग पर्दछन् ।स्वस्थ्य व्यक्ति सँगसँगै बस्दा श्वास–प्रश्वास गर्दा, खोक्दा, हाच्छिउँ गर्दा, बोलचाल गर्दा हावाका माध्यमबाट स्वस्थ्य व्यक्तिमा क्षयरोग सर्छ । क्षयरोगबाट सङ्क्रमित व्यक्तिले श्वास फेर्दा हावामा फैलिएका क्षयरोगका कीटाणु स्वस्थ्य व्यक्तिका शरीरमा प्रवेश गरेमा क्षयरोग सर्दछ ।

क्षयरोगका प्रमुख लक्षणमध्ये मुख्य दुई हप्ताभन्दा बढी समयसम्म खोकी लाग्नु हो । साँझपख बढी ज्वरो आउनु, खकारमा रगत वा रगतका छिटा निस्कनु, खान मन नलाग्नु, बिना कारण शरीरको तौल घट्नु, कमजोरी हुनु, रातिमा पसिना आउनु र छाती दुख्नु । समयमा उपचार नभए मृत्युसमेत हुन्छ ।बालबालिकादेखि सबै उमेरकालाई, घरमा, स्कुलमा, काम गर्ने कार्यालय, अन्य कार्यस्थलमा र भीडभाड हुने स्थानमा तलका उपाय अपनाएमा सजिलै रोकथाम/नियन्त्रण गर्न सकिन्छ । कुनै पनि सुर्तीजन्य पदार्थ, हानिकारक मदिरा, लागूपदार्थ सेवन नगर्ने र सुरु गरेको भए तुरुन्तै छोड्ने, शिशु जन्मनासाथ सकेसम्म चाँडै (एक वर्षभित्रै) बी.सी.जी खोप दिने, दुई हप्ताभन्दा लामो समयसम्म खोकी र ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण गरी उपचार गर्ने र स्वास्थ्यकर्मीको परामर्शमा नियमित रूपमा नबिराइकन छ देखि आठ/नौ महिनासम्म निःशुल्क नियमित रूपमा उपचार गर्ने हो, औषधि खान थालेपछि पनि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समय–समयमा परीक्षण गर्ने, स्वस्थ जीवनका लागि क्षयरोगीले अनिवार्य रूपमा एच.आई.भी.परीक्षण गर्ने र एच.आई.भी सङ्क्रमितले अनिवार्य रूपमा क्षयरोगको परीक्षण गर्ने हो भने रोग निको हुन्छ ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी(डट्स) पद्धतिका निशुल्क प्राप्त हुने औषधि खान थाल्नुपर्छ । नियमित रूपमा बीचमा नछुटाइ छ देखि आठ/नौ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुन्छ । घरबाट टाढा जानु परेमा पनि औषधि लिएर गई सेवन सुरु गरेपछि बिरामीलाई आराम हँुदै जान्छ, तर बीचैमा औषधि खान छोड्नु हुँदैन । स्वास्थ्यकर्मीको सल्लाहअनुसार क्षयरोगको औषधिसँगै अन्य रोगका औषधि सेवन गर्न सकिन्छ ।
मुलुकको साक्षरता दर कम छ । शङ्का लाग्ना साथ नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराएमा निःशुल्क उपचार हुने सन्देश पाउन सकेका छैनन् । उत्पादनशील उमेर (१५–५० वर्ष) का ५० प्रतिशत युवा जनशक्ति क्षयरोग सङ्क्रमित छन् । सन् २०२० मा विश्व स्वास्थ्य सङ्गठनले गरेको क्षयरोग निर्मूलको प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन ।

बर्सेनि एक हजार पाँच सयजति बहुऔषधि प्रतिरोधी क्षमता ह्रास भएको क्षयरोग (मल्टिड्रग रेसिस्टेन्ट टिबी) का बिरामी छन् । अधिराज्यका २२ वटा केन्द्र र ८१ वटा उपकेन्द्रबाट बहुऔषधि प्रतिरोधी क्षयरोग (मल्टि ड्रग रेसिस्टेन्ट टिबी) को उपचार गरिन्छ । क्षयरोग नियन्त्रण कार्यक्रमका बिरामी–मैत्री क्षयरोग उपचार केन्द्रको अभाव छ । शङ्कास्पद क्षयरोगीको निदान र उपचारमा पनि सीमित सेवा केन्द्र स्थापना गरिएको छ । स्वास्थ्यकर्मीलाई क्षयरोग व्यवस्थापन तालिमको खाँचो छ । क्षयरोगको परीक्षण र उपचारबारे समुदायस्तरसम्म जनचेतना जगाउन सकिएको छैन । सङ्घीय–प्रादेशिक अस्पतालबीच समन्वयको अभाव छ । सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा अपेक्षित ध्यान पु-याइएको छैन । अझै पनि सामाजिक अपहेलनाको डरले क्षयरोगको समयमा परीक्षण गराउँदैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्रको स्थापना गरी कार्य सञ्चालन गरिएको छ । दक्षिण एसियाली राष्ट्रहरूको सहयोग सङ्गठनस्तरीय क्षयरोग नियन्त्रणमा सेवारत छ तर समुदायस्तरसम्म डट्स केन्द्र पर्याप्त स्थापना गर्न सकिएको छैन । शङ्कास्पद बिरामीको गुणस्तरीय परीक्षण तथा पूर्ण उपचारको कमी नै देखिन्छ । प्रत्यक्ष निगरानीमा गरिने उपचार (डट्स) केन्द्र चार हजार नौ सय ५५ मात्रले नपुग्ने हुँदा कम्तीमा दस हजार पु-याउनुपर्छ ।

अधिराज्यका अधिकांश शङ्कास्पद बिरामीले निःशुल्क परीक्षण तथा उपचार सुविधा पाउन सकिने सन्देश स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार कार्यक्रममार्फत दिन सकिएको छैन । अर्थात् समुदायसम्म व्यापक रूपमा जनचेतना पुग्न सकेको छैन । भौगोलिक दुर्गम स्थानका क्षयरोगीमैत्री डट्स उपचार केन्द्रको कमी छ, यसले गर्दा बिरामीलाई धेरै टाढा–टाढा पुगेपछि मात्र परीक्षण तथा उपचार पाइने हुनाले पूर्ण रूपले उपचार गर्न अप्ठ्यारो छ । राज्यले मुलुकका सबै स्वास्थ्य संस्थामा क्षयरोगको जाँच र निःशुल्क औषधिको व्यवस्था पु¥याउन सक्नुपर्छ । रोग लागेको जानकारी प्राप्त भएपछि उपचार थालिहाल्ने हो भने टिबी निर्मूल पार्न सकिन्छ ।