विचार/दृष्टिकोण |

गर्व गर्न लायक गौरव आयोजना

धर्मराज भट्टराई

देशका प्रमुख आर्थिक परिसूचक सन्तोषजनक रूपमा नरहेका तथ्याङ्क सार्वजनिक भइरहेको समयमा यही अर्थसँगै सम्बन्धित देशको हवाई पूर्वाधारले फड्को मारेको समाचारले केही मात्रामा घाउमा मलम लगाएको महसुस गराएको छ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको करिब सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ ।

समस्याग्रस्त अवस्थामा रहेको यो विमानस्थलको स्तरोन्नतिपछिको उपलब्धिले नेपाल नागरिक उड्डयन प्राधिकरणको इतिहासमा नयाँ उचाइ थपिएको छ । सन् २०१५ मा सुरु भएको यो विमानस्थल आयोजना नेपालमा छिटो सम्पन्न हुने राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्थापित भएको छ । यो विमानस्थल सञ्चालनको तयारी राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगतिमा समेत उदाहरणीय बन्न सक्ने र सम्पूर्ण देशवासीमाझ गौरव गर्न सक्ने आयोजनाका रूपमा स्थापित हुने आकलन गरिएको छ ।

देशको आर्थिक तथा सामाजिक विकासका लागि महत्त्वपूर्ण मानिएका आयोजनालाई समेटेर राष्ट्रिय गौरवका परियोजनाको घोषणा गर्ने गरिन्छ । राष्ट्रिय योजना आयोगसँगको समन्वयमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार यस्ता परियोजना पारित गर्ने प्रचलनअनुसार सर्वप्रथम आर्थिक वर्ष २०६८/६९ मा १७ वटा आर्थिक तथा सामाजिक महत्त्वका आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा समावेश गरियो । दोस्रो पटक, आ.व.२०७०/७१ मा चारवटा र तेस्रो पटक आ.व.२०७५ /७६ मा एउटा, त्यसैगरी आ.व.२०७६ /७७ मा एक र आ.व.२०७७ /७८ को बजेट वक्तव्यमार्फत ‘महाकाली सिँचाइ आयोजनालाई गौरवको आयोजनाको रूपमा विकास गरिनेछ’ भनेसँगै हालसम्म राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या २४ पुगेको छ । गौतमबुद्ध विमानस्थल यिनै राष्ट्रिय गौरवका आयोजनामध्ये रुग्ण अवस्थामा पुगेर पनि चाँडो प्रगति हासिल गरेको आयोजना हो ।

एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजना निर्माणका क्रममा विभिन्न बाधा एवम् अड्चन नआएका भने होइनन् । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी विमानस्थलको कामबीचमा निर्माण व्यवसायी कम्पनीको लापरबाहीले अवरोध भएको थियो । त्यसपछि पछिल्लो पटक सन् २०२० को मार्च महिनाभित्र निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको हो ।

समुद्री सतहबाट १०९ मिटरको उचाइमा रहेको भैरहवा विमानस्थल नामले समेत चर्चित यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै दोस्रो यस्तो विमान स्थल हुनेछ जुन विमानस्थल पूरै सोलार पावरबाट सञ्चालित हुनेछ । जुनसुकै मौसममा पनि लगातार कार्य गर्न सक्ने भनिएको यो विमानस्थलले घरेलु उडानसँगै छिमेकी राष्ट्र, खाडी मुलुकसँगै युरोप र अमेरिकासम्म उडान भर्न सक्ने स्थलका रूपमा हेरिएको छ । वार्षिक सात लाख पचास हजारभन्दा बढी यात्रुले सेवा लिन अपेक्षा गरिएको यो स्थानमा लुम्बिनी भ्रमण गर्न आउने म्यान्मार, श्रीलङ्का र थाइल्यान्ड मात्र नभई चीन, जापान र दक्षिण कोरियाबाट आउने पर्यटकको पनि उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

नेपालले बौद्ध धर्म मान्ने कम्बोडिया, भियतनाम, श्रीलङ्काजस्ता धेरै मुलुकसँग दुई पक्षीय हवाई सम्झौता गरिसकेको छ । हाल यी देशका बौद्ध तीर्थयात्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा भारत हुँदै लुम्बिनी आउने गरेका छन् । यो विमानस्थल सञ्चालनमा आएपछि तीर्थयात्री भैरहवा हुँदै सिधै लुम्बिनी आउन सक्छन् । विमानस्थलबाट लुम्बिनी क्षेत्र २२ किलोमिटर मात्र टाढा छ । लुम्बिनी विकास कोषले लुम्बिनी आउने विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान हुना साथ दुई गुणा वृद्धि हुने प्रक्षेपण गरेको छ । यसबाट नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनुको साथै पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने आकलन गर्न सकिन्छ ।

देशमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनाले अहिले त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसेकका हवाईजहाजले वैकल्पिक विमानस्थलको खोजीमा बङ्गलादेशको ढाका वा भारतका विभिन्न विमानस्थलमा जानुपर्ने बाध्यता छ । अब आपत्कालीन अवस्थाका साथै अन्य प्रयोगका लागि वैकल्पिक गौतमबुद्ध विमानस्थलले विकल्प दिनेछ । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । प्राविधिक हिसाबले समेत यो विमानस्थलमा जहाज उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न सहज, नयाँ कन्ट्रोल टावरसँग सम्बन्धित उपकरण परीक्षण गर्न, सञ्चार, धावनमार्गको एलाइन्मेन्ट, पार्किङ वेलगायत नयाँ संरचनाले हवाई उडानमा सहजता थप्नेछ ।

यस्तैगरी नेपालको वैदेशिक व्यापारमा समेत यसले सकारात्मक प्रभाव पार्ने देखिन्छ । नेपाल व्यापार एकीकरण रणनीतिले सन् २०१६ मा नेपालले फाइदा लिन सक्ने वस्तु तथा सेवाको पहिचान गरेको थियो त्यसमा दाल, अदुवा, अलैँची, औषधि र सुगन्धित बोटविरुवा परेका छन् । अहिले यी वस्तु स्थल मार्गबाट मात्र निर्यात हुने गरेका छन् तर यो विमानस्थल सञ्चालनमा आएसँगै यस्ता उच्च मूल्यका वस्तु हवाई मार्ग हँुदै निर्यात गर्न सम्भव हुनेछ । यसले एकातर्फ राजस्व चुहावटमा कमी ल्याउन सहयोग पुग्छ भने अर्कोतर्फ लागतमा पनि कम भार हुन जान्छ । यस्तै वैदेशिक रोजगारमा जाने कामदारलाई समेत सहज हुनेछ । नेपाली श्रमिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीडभाडबाट टाढा सहज तरिकाले सिधै मलेसिया, खाडी मुलुक र अन्य गन्तव्य मुलुक जान आउन सक्नेछन् ।

अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकायलगायतसँगको छलफलपछि आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान गरिने भएको छ । जेठ २ गतेदेखि व्यावसायिक उडान सञ्चालन गरिने नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जानकारी दिएको छ । यो विमानस्थल सञ्चालनमा आउने तयारीसँगै विदेशी हवाई कम्पनीसमेत नेपालमा उडान भर्न तयार देखिएका छन् । गल्फ एयर, थाई एयर, गो एयर, विज एयरलगायत हवाई कम्पनीले नेपालमा उडान गर्न खोजेका कुरा सम्बन्धित निकायले जनाएका छन् ।

विमानस्थल सञ्चालनको तयारीमा रहे पनि यो चुनौती मुक्त भने अवश्य छैन । हाल सञ्चालनमा रहेको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेलाबखत देखिँदै र भोगिँदै आएका व्यवस्थापकीय चुनौती, बजारीकरणको चुनौती, विभिन्न देशस्थित विमान कम्पनीसँगको समन्वयको चुनौती, सुरक्षाको चुनौतीको सामना यो विमानस्थलले पनि गर्न‘पर्ने हुन सक्छ । तसर्थ यी चुनौतीसँग जुध्न आवश्यक पर्ने औजारको उचित व्यवस्थापन गरी अगाडि बढेमा पक्कै पनि अन्य निर्माण हँुदै गरेका राष्ट्रिय गौरवका परियोजना र विशेषत, विमानस्थलसँग सम्बन्धित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले यस परियोजनाबाट उचित पाठ ग्रहण पाठ ग्रहण गर्न सक्छन् । यसबाट अहिले निर्माणाधीन र भविष्यमा निर्माण हुने परियोजनाका लागि यो परियोजना नमुना हुनेमा विश्वास गर्न सकिन्छ ।