विचार/दृष्टिकोण |

मोहोर बन्न नसकेको फोहोर

बिन्दु अधिकारी ढकाल
दैनिक घरबाट निस्कने फोहोर हरेक परिवारका लागि समस्या हुने गरेको छ । पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज फोहोरमैलाको समयमै उचित व्यवस्थापन गर्न सकिएन भने मानव जीवनका साथै वातावरणमा समेत प्रतिकूल असर पर्न जान्छ । अतः विषाक्त कीटाणुबाट बच्न आफ्नो घर आँगनलाई सधैँ सफा राख्नु पर्छ ।

महानगर होस् या गाउँ घर नै किन नहोस् सरसफाइमा ध्यान दिनैपर्छ । दैनिक सञ्चालन हुने क्रियाकलापबाट निस्कने फोहोरमैला कही बाटोघाटो यत्रतत्र छरिएको हुन्छ भने कही वन क्षेत्र वा नदीकिनार नजिकै विर्सजन गरिएको हुन्छ । दीर्घकालीन हिसाबबाट फोहोर व्यवस्थापन गर्न डम्पिङ साइटको उचित प्रबन्ध नहँुदा राजधानी काठमाडौँलगायत मुलुकका विभिन्न सहरको अवस्था दुर्गन्धित भइरहेको छ ।

सङ्घीय संरचनापछि नेपालमा छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० वटा गाउँपालिका रहेका छन् । यी सहरको फोहोरमैला व्यवस्थापन कसरी गर्न सकिएला ? सामान्य हिसाबबाट सोच्दा यो विषय त्यति पेचिलो नलागे पनि व्यावहारिक दृष्टिकोणबाट मनन गर्ने हो भने दिनानुदिन जटिल बन्दै गइरहेको समस्या हो । जथाभावी फोहोरकै कारण जनस्वास्थ्यमा प्रतिकूल असर परी हजारौँ व्यक्तिमा झाडापखाला, ज्वरो, हैजा तथा उच्च रक्तचाप आदि समस्या हुन गई अस्पताल भर्ना हुनुपर्नेसम्मको अवस्था उत्पन्न भएको छ ।

आफ्नो घर तथा कार्यालयबाट निस्कने फोहोरलाई सडक छेउ अथवा नदी किनारमा फालेर हिँड्ने मानिसले वन तथा वन्यजन्तुमा कस्तो किसिमको असर पर्छ, पर्ला भन्ने बारे ख्याल गरेको देखिँदैन । यहाँ, मान्छेको मानसिकता कस्तोसम्म देखिएको छ भने जब साँझ पर्छ । आफूबाट सिर्जित फोहोरलाई ठूलो झोलामा, नअटे बोरामा अटसमटस हुने गरी खादेर सडक छेउमा छाडेर हिँड्छ । थाहा हुँदैन भोलि पुनः त्यहीबाटो हिँड्नुपर्छ भनेर । अनि थाहा हँुदैन त्यो गन्ध, दुर्गन्धले हैजा फैलाउँछ भनेर । यतिसम्म कुरामा हामी विचार नै गर्दैनाँै ।

काठमाडौँबासीलाई सास्ती भनेको कोही बेला हप्तौँसम्म फोहोर उठ्दैन । यहाँ दैनिक निष्कासन हुने करिब एक हजार दुई सय मेट्रिक टन फोहोर समयमा व्यवस्थापन हुन नसक्नु त्यसबाट फैलिएको दुर्गन्धले नागरिकको स्वास्थ्य जलथल, गाईबस्तु एवं कृषि उपजसमेतमा कस्तो प्रभाव पर्ला ? यसको लेखाजोखा कसले गर्ने ?

तर यही फोहोरबाट मोहोर बनाउन सकिन्छ । स्वीडेनमा प्लास्टिकजन्य फोहोरबाट विद्युत् उत्पादन गरिन्छ । नेदरल्यान्डमा नकुहिने फोहोर मात्र सङ्कलन गरिन्छ भने फोहोर उत्पादक स्वयंले कुहिने फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन गर्नुपर्ने सरकारी नियम छ । फिनल्यान्डमा सरकारी संस्थानको आम्दानीको मुख्य स्रोत फोहोर नै हो । उसो त नेपालमा पनि फोहोरकै डङ्गुरबाट मोहोर कमाउने मेसो अझै जुर्न सकेको छैन ।

हो फोहोरमा कवाडी सामान खोजेर बेच्दा दिनमै तीन चार हजार रुपियाँ जम्मा गर्नेहरूले घरायसी कामका लागि तलब दिएर मान्छे राखेका छन् । छोराछोरीको स्कुल शुल्क, घरभाडा तथा घरखर्च सबै आनन्दले टरेको छ भन्छन् ।
काम सानो होस् या ठूलो दुःख नगरी सुख मिल्दैन । अतः धेरै पढेकाले पनि योग्यताअनुसारको काम पाएका नै होलान्, छन् भन्ने छैनन् । चाहना त कसलाई हुँदैन मनग्य पैसा कमाउन । अनि, घर–घडेरी र गाडी किन्न । कवाडी बेच्दा एजेन्टले खाने कमिसन र फोहोर बोकेर आउँदा ट्याक्टर या टिप्पर चालकले माग्ने पैसाले भने धेरै नै समस्या पारेको गुनासो सुनिन्छ । उता विदेशी मुलुकमा जस्तै फोहोरलाई आम्दानीको स्रोत बनाउन सके यता, हामी कहाँ पनि रोजगारीको भरपर्दो विकल्प तयार नहुने होइन, हुन्छ ।

महानगर होस् या गाउँपालिका प्रायः सबै स्थानीय तहको फोहोर वन क्षेत्र वा नदी किनार नजिकै बिर्सजन गरिएको हुन्छ । जिल्लाका अन्य स्थानीय तहले भने फोहोर व्यवस्थापनको पाटोमा दीर्घकालीन सोचको कुनै योजना बनाएको देखिँदैन । फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी भएर पनि हो कि ? यसको अलवा जुन कार्य नगरपालिकाको प्रमुख प्राथमिकतामा पर्नुपर्ने हो सोअनुसार कार्यान्वनयन गर्न नसक्नु पनि समस्याकै रूपमा रहँदै आएको छ ।

अर्को, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेसिन तथा उपकरणको उचित प्रयोग नहुनु, यससम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, नियमित अनुगमन, मूल्याङ्कनको अभाव, निहित स्वार्थ, अन्तर नगरपालिका समन्वयको अभाव र स्रोत पहिचान गर्न नसक्नु ठूलो समस्या हो ।

फोहोरमैला व्यवस्थापनका लागि निजी क्षेत्रलाई समेत आकर्षित गर्ने गरी नगरपालिकाले विशेष कार्य योजना बनाई अघि बढ्न आवश्यक छ । फोहोरको वैज्ञानिक व्यवस्थापनबाट कम्पोष्ट मल मात्रै बनाउन सके पनि कुहिने जति फोहोरलाई दुर्गन्ध आउनु पहिलै टुङ्गोमा पु¥याउन समस्या हुने थिएन । मलको उपयोगिता करेसाबारी, कृषि फार्म र तरकारी खेतीमा मात्र काम लाग्दैन । बोटबिरुवाका साथै जुनसुकै कृषि कार्यका लागि रासायनिक मलभन्दा अति उत्तम त कम्पोष्ट मल हुन्छ ।

हामीले आफ्नो भान्साबाट निस्कने फोहोरमध्ये कुहिने जतिलाई स्वयंले व्यवस्थापन गर्न सक्ने हो भने फोहोर सङ्कलन टोली हप्तौँ नआए पनि दुर्गन्ध फैलिँदैन । त्यसरी तयार भएको मल आफ्नो वर बगैँचामा हाल्न पाउनु भ्याइनभ्याइ दौडधुप गरेर मल किन्न हिँड्ने हतारो, चटारो पनि भएन । अर्को कुरा समयसँगै पैसाको पनि बचत हुने भयो ।

फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले तोकेको क्षेत्राधिकारमा रहेका विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वका बारेमा स्पष्ट व्यवस्था गर्न जरुरी छ । दैनिक फोहोरमा कवाडीमाल सङ्कलन गर्नेहरूकै प्रसङ्गलाई उल्लेख गर्दा फलामका टुक्रा, कार्टुन, प्लास्टिक र बोतल बिक्रीबाट प्रति किलो दस रुपियाँ आम्दानी दिनको तीन चार हजार रुपियाँ हुन्छ । त्यही अनुपातको हिसाब गर्दा त महिनामा मनग्यै आम्दानी हुन्छ । खाडीको तातो घाममा श्रम गर्ने श्रमिकले भन्दा स्वदेशमा नै श्रम गर्ने व्यक्तिले धेरै राम्रो आम्दानी गर्न सक्छ ।