अराजकता रोक्ने चुनौती
रमेशप्रसाद गौतम
शिक्षामा सुधार र परिवर्तनका कुरा गर्दागर्दै हामी थाकिसकेका छौँ । समाज उस्तै छ, हामीले सोच्ने दृष्टिकोणमा भिन्नता छैन । आखिर किन यस्तो हुँदैछ ? सबै नैतिक, आदर्श र राष्ट्रियताका कुरा गर्न चुक्दैनन् । मुखले सबै राम्रा र असल कुरा गर्छन् तर व्यवहार किन फरक भइरहेको छ ? कथनी र करणीमा फरक किन ? नेतृत्वदायी पदमा आसीन दलका नेताले भनेका वा बोलेका कुरा किन मिथ्या साबित भइरहेका छन् ?
विगतमा जति आन्दोलन र क्रान्ति भए, ती समाजको परिवर्तन र सुधारका नाममै भएका थिए । राम्रोका लागि भनेर आम जनता पछि लागेका थिए । जनताले तदनुरुपको व्यवहार अनुभूत गर्न पाएनन् । जनताकै सहयोगमा २००७ सालको क्रान्ति सफल भयो । पञ्चायती व्यवस्था फालेर बहुदलीय प्रजातन्त्र हुँदै सङ्घीय गणतन्त्र पनि जनताकै बलमा आएको हो । राजनीतिक परिवर्तनसँगै शिक्षामा आउनुपर्ने सुधार र परिवर्तन आएन । पटक–पटक शिक्षा सुधार आयोग गठन भए । तिनका सुझावमा शिक्षा मन्त्रालयका कोठा भरिएका छन् । शिक्षा ऐनमा आठ पटकभन्दा बढी संशोधन गरिँदै आएको छ । तैपनि शिक्षामा सुधार आउन सकेन ।
सामुदायिक विद्यालयमा तहगत रूपमा शिक्षक व्यवस्थापन र दरबन्दी मिलान कार्यक्रम अझै पूरा हुन सकेको छैन । विगत लामो समयदेखि सामुदायिक विद्यालयमा नयाँ दरबन्दी वितरण हुन सकेको छैन । कतिपय विद्यालयमा राहत र पीसीएफ अनुदानबाट शिक्षक राख्ने प्रचलन गरिए पनि विद्यालयको खाँचो पूर्ति गर्न सकिएको छैन । माध्यमिक विद्यालय भन्नाले १२ कक्षासम्मलाई जनाउने भए पनि ११ र १२ कक्षामा पढाउने शिक्षक दरबन्दी पूर्ति हुने कुनै छाँटकाँट छैन । विषयगत शिक्षकको न्यूनतम दरबन्दी वितरण र शिक्षकको व्यवस्थापनमा सरकार आफैँ अलमलमै देखिन्छ । सामुदायिक विद्यालयको माध्यमिक तहका निम्ति कक्षा ९–१२ सम्म पढाउने शिक्षक दरबन्दी व्यवस्थापन तिनको योग्यता निर्धारण र तदनुरुपको पूर्ति गर्ने कार्य त्यति सजिलो छैन ।
शैक्षिक गुणस्तर शिक्षाको संरचनाले हैन, शिक्षकको गुणले बढ्ने हो । यसका लागि शिक्षकलाई पेसाप्रति इमानदार बनाउन सके गुणस्तरीय शिक्षा प्राप्त हुने हो । शिक्षकलाई सेवा सुविधा थप्दैमा जिम्मेवारी बोध हुने होइन, तिनलाई आत्माबोध गराउने सचेतनाको जरुरी छ । शिक्षक पेसाप्रति प्रतिबद्ध नबनुञ्जेल शिक्षाको स्तर माथि उठ्दैन । यसका लागि राजनीतिक दलमा पनि सुधार आउन जरुरी छ । आफ्ना क्षेत्रमा विद्यालयलाई प्रतियोगी र स्तरीय बनाउन सबै क्रियाशील हुनुपर्छ । दलको नेतृत्व र कार्यकर्ता एकले अर्का दलले गरेका राम्रा कार्यप्रति सहयोगी बन्नुपर्छ ।
अहिलेको मुख्य समस्या भनेको शिक्षक एवं कर्मचारीलाई कसरी दलीय चिन्तनबाट माथि उठाउने भन्ने हो । सबै शिक्षकलाई कसरी पेसाकर्मी बनाउने ? दलीय नेतृत्व यसप्रति गम्भीर हुन जरुरी छ । जबसम्म विरोधको राजनीति सिर्जनाको राजनीतिमा बदलिँदैन, तबसम्म हाम्रो शिक्षा क्षेत्र माथि उठ्न सक्दैन । राजनीतिक परिवर्तन भयो, देश सङ्घीय स्वरूपमा गयो तर देशको स्थिति बदलिएन । दलका नेतृत्वले सरकारमा आलोपालो प्रायः सबैले अवसर पाइरहेकै छन् । सरकार र सत्ताबाट अछूत कुनै पनि दल देखिँदैनन् ।
राजनीतिक दल सबैले चुनावमा जाँदा आफ्नो घोषणापत्रमा शिक्षालाई प्राथमिकतामा पारेकै हुन्छन् । भाषणमा सबै दलले पहिलो प्राथमिकता शिक्षा नै हो भन्छन् । व्यवहारमा शिक्षालाई नयाँ दिशा दिने संविधान अनुकूल एक थान नयाँ शिक्षा ऐन दिन सक्दैनन् । खाली शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक, व्यवस्थापन समिति आदिमा आफ्नो प्रभाव र शक्ति जमाउनमै तल्लीन रहिरहेका छन् । यस्तो अवस्थाबाट गुज्रिएको नेपालको शिक्षा व्यवस्थालाई गुणस्तरीय शिक्षामा बदल्न कम कठिन देखिँदैन । शिक्षकको प्रवृत्तिमा बदलाव आउन सके केही न केही सुधार आउने आशा गर्न सकिन्थ्यो, दलीय आबद्धताले त्यो पनि सम्भव हुन सकेन ।
शिक्षक राजनीतिक दलीय आग्रह र पूर्वाग्रहभन्दा माथि उठ्न सक्नुपर्छ । राजनीतिक नेतृत्व शिक्षक र विद्यार्थीलाई हतियार बनाएर शक्ति प्रदर्शन गर्ने सोचान्तरणमा बदलाव आउनुपर्छ । राजनीतिक पक्ष–विपक्षका धारले पनि शिक्षा सुधारका सवालमा एकमत जाहेर गर्न सक्नुपर्छ । शिक्षक युनियनका शिक्षकले पहिला शिक्षक हुँ, आफ्नो पेसाप्रति प्रतिबद्ध अनि मात्र ट्रेड युनियनको अधिकार खोज्नुपर्छ । सङ्घीय संरचनामा मुलुक आइसकेपछि पनि स्थानीय सरकारले शिक्षाको जिम्मेवारी स्वीकार्न सकिरहेको छैन । स्थानीय सरकारले शिक्षाको दायित्व बोध गर्ने र शिक्षक तथा प्रधानाध्यापकले पनि गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने हाम्रो जिम्मेवारी हो भन्नु बुझ्नु जरुरी छ ।
शिक्षकले राजनीतिको आडमा आफ्ना सेवासुविधाका लागि सङ्घर्ष र आन्दोलन गरेमा त्यो पेसाप्रतिको अपमान हुनेछ । राजनीतिक झोले केही शिक्षक प्रवृत्तिले आम शिक्षक दोषी भन्ने भान पर्न गएको छ । यसरी कैयौँ राम्रो पठनपाठन गर्ने शिक्षकसमेत राजनीतिक जालझेलको जालोमा बेरिन पुगेका छन् । मुख्य सरोकारवाला शिक्षा मन्त्रालय शिक्षकका पेसागत मर्यादा र हितका सम्बन्धमा चासो राख्दैन, उल्टो शिक्षा मन्त्रालय हाँक्ने शिक्षामन्त्री आफ्नो दल अनकूल बनाउन पाए दङ्ग हुन्छन् । शिक्षकका समस्या समाधान र कक्षाकोठाको प्रभावकारी सिकाइ शिक्षण विधिप्रति कसैको चासो देखिँदैन ।
राजनीतिक दलले शिक्षालाई कहिले प्राथमिकता दिन जानेन । परिणामतः शिक्षकका विभिन्न समयमा माग राखी गरिएका आन्दोलन सार्थक बन्न सकेनन् । अहिले अनेक प्रकारका शिक्षक कार्यरत छन् । कार्यरत स्थायी शिक्षक आफ्नो शिक्षण सिकाइप्रति प्रतिबद्ध छैनन् भन्ने गुनासो यथावत् छ । स्थायी शिक्षकको तुलनामा अस्थायी शिक्षक पढाइमा इमानदार छन्, विद्यालय प्रशासनको निर्देशनमा रही तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेका छन् । राजनीतिक आडमा नियुक्ति पाएर काम गर्ने स्थायी वा अस्थायी कुनै पनि शिक्षक विद्यालय प्रशासनलाई टेर्दैनन् भन्ने आम चर्चा छ ।
हाम्रो शिक्षाको स्थिति दिन प्रतिदिन खस्कँदै गएको गुनासो बढ्दो छ । विद्यार्थीको कक्षाकोठाको परफर्मेन्स सुध्रिएन भने शिक्षकको कमजोरी हो भन्ने बुझ्नुपर्छ । विद्यार्थीको कक्षाकोठाको पढाइभन्दा ट्युसन र कोचिङमा लाग्ने शिक्षकबाट आफ्नो दायित्व पूरा हुन सक्दैन । यसर्थ शिक्षकलाई आफ्नो काम कर्तव्यप्रति सजग गराउन जरुरी छ । तिनका जायज माग पूरा गरी सेवा र सुविधाको प्रबन्ध गरिनु पनि त्यत्तिकै आवश्यक छ । शिक्षकको कारणले मात्र पनि शिक्षा खस्केको भन्न मिल्दैन । मुलुकको राजनीतिक, सामाजिक, आर्थिक र भौगोलिक अवस्थाका कारणले पनि शिक्षाको सिकाइ स्तरमा प्रभाव पारेको छ ।
अब्बल शिक्षक बन्नका लागि अध्ययनशील हुन पनि जरुरी छ । पुरानै सोच र पुरानै ढर्राका नोट तयार पारी कक्षामा गएर लेखाउने वा भट्ट्याउने शिक्षकबाट विद्यार्थीले नयाँ कुरा पाउन सक्दैनन् । बदलिँदो समयसँगै शिक्षकले पनि नवीनतम ज्ञान र सीप सिक्नु आवश्यक छ । शिक्षकबाट राम्रो सिकाइ हुनसके विद्यार्थीको बानी बेहोरामा समेत परिवर्तन आउँछ । अहिलेसम्म शिक्षाले गुणात्मक प्रतिफल दिन नसक्नुका कारण प्रणालीमा भएको कमजोरी
त होइन ? शिक्षाका कमजोरी पत्ता लगाउन कुनै एउटा पक्षको मात्र सक्रियता भन्नुभन्दा समग्रमा आधारित भएर हेर्न, बुझ्न र विश्लेषण गर्न जरुरी छ ।
हरेकले आफ्ना कमजोरी स्वीकार्ने, त्यसका कारण पत्ता लगाउने र विगतका कमीकमजोरीबाट पाठ सिकेर भावी योजना तथा कार्यक्रम तय गर्ने गर्नुपर्छ । प्रायः हामीले अरूलाई दोष दिएर आफू उम्कने प्रवृत्ति त्याग्नुपर्छ । हामी सबैको कमजोरीबाट आज शिक्षाको यो गति भएको छ । तसर्थ हामी सबैले सामूहिक रूपमा जिम्मेवारीको संस्कार निर्माण गर्नु जरुरी छ । शिक्षकलाई सिकाउने प्राध्यापकबाट तालिमप्राप्त भइसकेपछिको प्रतिफल विद्यार्थीले पाउनेछन् । तालिम दिनुको मुख्य उद्देश्य नै विद्यार्थीको सिकाइमा सुधार ल्याउनु हो ।