विचार/दृष्टिकोण |

मित्रता अझ घनिष्ठ (सम्पादकीय)

जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यी अहिले नेपाल भ्रमणमा हुनुहुन्छ । दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्थान र भारत हुँदै शुक्रबार उहाँ नेपाल आइपुग्नुभएको हो । चीनको स्टेट काउन्सिलरसमेत रहनुभएका विदेशमन्त्री वाङ यी त्रिदिवसीय भ्रमण नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन असाध्यै महत्त्वपूर्ण देखिएको छ । नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणका लामो शृङ्खला रहे पनि कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी प्रभावको यो साढे दुई वर्षयता औपचारिक भ्रमण हुन सकेको थिएन । यताका वर्षकै यो औपचारिक उच्चस्तरीय भ्रमण हो । विदेशमन्त्री वाङले अरू दक्षिण एसियाली देशमा एक वा दुई दिन बिताए पनि नेपाललाई तीन दिन समय दिनुले भ्रमणको थप महत्त्व स्पष्ट हुन्छ ।

चिनियाँ विदेशमन्त्री वाङको आज तेस्रो दिवसीयको भ्रमण हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज विदेशमन्त्री वाङले भेट्नु हुनेछ । शनिबार उहाँले महत्त्वपूर्ण भेटवार्ता गर्नुभयो । शनिबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरी सम्बन्धका नयाँ आयाम थप्ने कार्य भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का र विदेशीमन्त्री वाङबीच द्विपक्षीय वार्ताका साथै नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइ दिन महत्त्वपूर्ण समझदारी भएका छन् । यी समझदारीले दुई देशबीच आर्थिक सहयोगका आयामहरू अझ विस्तार हुने विश्वास छ ।

सम्झौताका मुख्य आकर्षण नै अन्तरदेशीय रेलमार्गको अध्ययन हो । काठमाडौँलाई चीनको स्वशासित क्षेत्र तिब्बतसित जोड्न काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनले नेपाललाई प्राविधिक सहायता सहयोग गर्ने समझदारी भएको छ । यो समझदारीले कार्यान्वयनमा आएसँगै भूपरिवेष्ठित देश नेपाल रेलको नयाँ युगमा प्रवेश गर्न अग्रसर हुनेछ । यसैगरी चीनले नेपाल–चीन विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ । नेपालको चीनसँग ठूलो व्यापार घाटा रहेको छ । नेपालबाट चीन निर्यात हुने घाँसको स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी प्रोटोकल अगाडि बढ्ने भएको छ । यसले व्यापार घाटा घटाउन सहयोग पुग्ने देखिन्छ । त्यस्तै अरनिको राजमार्गको मर्मतसम्भारपछि हस्तान्तरण गरिने समझदारी भएको छ । चिनियाँ मेडिकल टिमलाई नेपालमा काम गर्न पठाउनेलगायत विषय समझदारीमा परेका छन् । सबै समझदारी आफैँमा महत्त्वपूर्ण छन् । तिनको कार्यान्वयनबाट नेपाल र चीनबीच मित्रता अझ घनिष्ठ हुने विश्वास गर्न सकिन्छ ।

नेपाल र चीनबीच अति पुरानो र आत्मीयताले परिपूर्ण सम्बन्ध रहेको छ । दुई देशबीचको सम्बन्ध बहुआयामिक छ । पाँचौँ शताब्दीमा बौद्ध भिक्षु बुद्धभद्रले चीनको भ्रमण गरेसँगै दुई देशबीच सम्बन्धको श्रीगणेश भएको हो । सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीको स्रङचङ गम्पोसित विवाहका साथै चिनियाँ भिक्षु तथा यात्रीहरूको नेपाल भ्रमण र तिनको यात्रा वृत्तान्त नेपाल र चीनबीचको युगीन सम्बन्धका अमूल्य आधार हुन् । नेपाल र चीनबीच १ अगस्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि मित्रताका नयाँ आयामहरू निरन्तर अगाडि बढिरहेका छन् । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपालले आफ्नो भूमि कसै मुलुकप्रति प्रयोग हुन नदिने नीतिलाई चीनले उच्च सराहना गरेको छ गर्दै आएको छ । उत्तरी छिमेकी मुलुक चीनसँग नेपालको एक हजार ४१४ किलोमिटर सीमा जोडिएको छ ।

विश्व विकासका लागि यातायात सञ्जालको महत्त्वपूर्ण र महत्त्वाकाङ्क्षी योजनामा चीन अगाडि बढिरहेको छ । बेल्ट एन्ड रोड (बीआरआई)को यो योजनामा नेपाल पाँच वर्षअघि नै प्रवेश गरिसकेको छ तर कोभिडलगायतका अवरोधले बीआरआईका परियोजनाहरू अगाडि बढ्न सकेका छैनन् । यो भ्रमणले बीआरआईका परियोजनाहरू अगाडि बढाउने सहयोग गर्ने विश्वास गरिएको छ । समझदारीको रेलमार्ग अध्ययन त्यसैको प्रारूप हो । नेपालले हालै मात्र मिलिनियम च्याजेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतको विद्युत् प्रसारण लाइन र सडक विस्तारको झन्डै ६० अर्ब रुपियाँको अमेरिकी अनुदान सहयोग स्वीकार गरेको छ । प्रतिनिधि सभाबाट त्यो पारित भएपछि कार्यान्वयनमा गएको छ । नेपालले आर्थिक तथा सामाजिक विकासका लागि पूर्वाधार विकासलाई जोड दिनुपर्नेछ । त्यसका लागि भरसक अनुदान सहयोगलाई पहिलो प्राथमिकतामा राख्नु राष्ट्रिय हित अनुकूल हुन्छ । नेपाल–चीन जोड्ने रेलमार्गलगायतमा नेपालले बीआरआईबाट यस्तै सहयोगको अपेक्षा राख्नु अन्यथा होइन ।