स्वदेशमा लगानीको मर्म (सम्पादकीय)
संस्कृतमा एउटा प्रचलित भनाइ छ, ‘‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी,’’ अर्थात् जननी र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन्छन् । हुन पनि आफूलाई जन्म दिने आमा र जन्मेको ठाउँप्रति कसलाई माया हुँदैन, कसलाई प्यारो हुँदैन । आमा र माटो भनेको मानिसको अस्तित्व बोधको एउटा अनुपम सम्बन्ध हो । यो सम्बन्ध जीवनपर्यन्त अटुट रहन्छ ।
जन्मभूमि जति नै प्यारो भए पनि त्यही बसेर मात्र जीवन चल्दैन । उच्चशिक्षा, रोजगारी तथा अवसरको खोजी, बाध्यता, गुणस्तरीय जीवनशैलीको अभिलाषा, सन्ततिको सुन्दर भविष्यका खातिर लगायतका विभिन्न पक्षका कारण मानिसहरूमा बसाइँसराइको चाहनाले तीव्रता पाउन थालेको यथार्थ हो । परापूर्वकालदेखि नै निरन्तरता पाइरहेको बसाइँसराइको यो प्रक्रिया आधुनिक युगमा गुणात्मक रूपमा फष्टाउँदो देखिँदै आएको छ । नेपाली समाज पनि यसबाट अछूतो रहन सक्ने कुरो नै भएन । विशेषतः विकसित वा पश्चिमा मुलुकमा बसाइँसराइको प्रवृत्ति नेपाली समाजको गुण वा चरित्रका रूपमा लगभग स्थापित यथार्थ पनि हामीसामु छ ।
बाध्यताको यथार्थमा विदेशी भूमिमा आफ्नो सीप, ज्ञान तथा कौशलसाथ आजका दिनमा लाखौँ नेपाली समृद्ध जीवनयापन पनि गरिरहेका छन् । विश्वभरिका यिनै नेपालीहरूलाई मुख्यता नेपाली भावनात्मक दृष्टिबाट एकत्रित गर्ने उद्देश्यबाट गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को स्थापना नैै भएको दुई दशक पुग्दैछ । यसमा विश्वभरिका अधिकांश नेपालीको सहभागिता पाइन्छ । यो आफैँमा खुसी एवं गर्वको विषय पनि हो । यो संस्थाले विशेषगरी गोर्खा भूकम्प तथा कोरोना महामारीका समयमा नेपाल र नेपालीलाई गरेको अमूल्य सहयोग तथा सद्भाव निकै प्रशंसित पनि भएको हो ।
लामो समय विदेशमा बसेर त्यहीको शिक्षा, प्रविधि, सीप तथा कौशल आर्जन गर्नुका अतिरिक्त उच्च आर्थिक हैसियत निर्माण गर्न सक्षम हुनु गैरआवासीय नेपालीका लागि महìवपूर्ण उपलब्धि हो । श्रम र मिहिनेतले आर्जित उपलब्धि गैर आवासीय नेपालका लागि मात्र अर्थपूर्ण नभएर समग्रमा नेपालकै लागि पनि उपयोगी हुनसक्ने सबैले मानेकै विषय हो । यस अर्थमा उनीहरूको समृद्धि, विकास एवं प्रगति समष्टिगत रूपमा नेपाल र नेपालीका लागि समेत खुसीको विषय हो । अधिकांश गैरआवासीय नेपाली विदेशमा आर्जन गरेका पुँजीबाट स्वदेशमा लगानी गर्न सक्ने हैसियत निर्माण गर्न सक्षम भइसकेका स्थितिमा उनीहरूबाट नेपालको आर्थिक विकासमा केही योगदानको अपेक्षा गर्नु अतिशयोक्तिपूर्ण होइन । यसर्थ उनीहरूको नेपालमा लगानी अपेक्षित छ र त्यस्तो लगानी नेपालको आर्थिक तथा सामाजिक विकासका लागि महìवपूर्ण रहनेछ ।
सङ्घको काठमाडौँमा आयोजित १०औँ विश्व सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीको भूमिकाको निकै उच्च मूल्याङ्कन गर्नुभयो । उनीहरूकोे नेपाल आवागमनका साथै लगानी र सम्पत्तिको संरक्षणका विषयमा सरकार सधँै सकारात्मक रहेको स्पष्ट गर्नुभएबाट उनीहरूको आर्थिक सुरक्षामा निश्चित रूपमा टेवा पुग्ने देखिन्छ । संविधानमा नै गैरआवासीय नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्न प्राथमिकता दिइएको छ । यसबाट समेत गैरआवासीय नेपालीलाई दिइएको महìव स्पष्ट हुन्छ । प्रधानमन्त्री देउवाले जोड दिनुभएको लगानी प्रवद्र्धन वर्तमान सरकारको क्रियाशीलता र प्रतिबद्धता दुवै हो ।
नेपालको समृद्धि एवं निर्माण कार्यमा गैरआवासीय नेपालीहरूको लगानी एवं पुँजी उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरिरहेको जानकारी दिइएको छ । प्रधानमन्त्री देउवाले नेपालमा लगानी हरेक दृष्टिले सुरक्षित रहेको बताउनुभयो । कतिपय कानुनी तथा नीतिगत समस्या समाधन हुँदै जानेछन् नेपालमा लगानी प्रतिफलसमेत उच्च छ । लगानी सुरक्षा र प्रतिफल उच्च रहेकोले मातृभूमिमा निर्धक्क एवं सुरक्षित साथ लगानी गर्न सक्ने वातावरण निर्माण हुँदैछ ।
नेपालजस्तो अति कम विकसित मुलुकको वर्तमान आवश्यकता भनेको सडक, टनेल, जलविद्युत् अयोजनाजस्ता पूर्वाधार हुन् । लगानी त्यसै दिशामा अग्रसर हुनुपर्छ । सरकारले आवश्यक परे त्यसका लागि विशेष नीतिसमेत बताउनुपर्छ । आफूले आर्जित सीप, कौशल तथा पुँजी मातृभूमिको विकास निर्माणका लागि उपयोग गर्न सकिने अवस्था वास्तवमै गौरवपूर्ण हुन्छ । विदेशका आय र स्वदेशको लगानी र सेवाले मुनाफा र भौतिक प्रगति मात्र होइन, आत्मसन्तुष्टिसमेत उच्च हुन्छ । गैरआवासीय नेपालीको लगानी प्रवद्र्धनले वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्नेछ ।