पशुअधिकारप्रति मानवीय संवेदना
शिरीषबल्लभ प्रधान
जनावर पनि मानिसजस्तै संवेदनशील र चेतनायुक्त हुन्छन् । हुन त उनीहरूमा मानिसको जस्तो उच्च स्तरको चेतना र संवेदनशीलताको विकास भइसकेको हुँदैन तर सुख, दुःख, पीडा, हर्ष, विस्मात आदि भावना हुन्छ । पशुपन्छी हामीले जस्तो बोल्न नसके पनि अनुहारले, हाउभाउले अथवा आँखाले सुख, दुःखको अभिव्यक्ति दिन सक्छन् । हिजोआज विश्वव्यापी पशुअधिकारको संरक्षण र संवद्र्धनका निम्ति आवाज बुलन्द हुन थालेको पाइन्छ । हुन त यस मामिलामा पश्चिमी विकसित देशका पशुअधिकारकर्मी बढी जागरुक र सक्रिय भएको हामी पाउँछौँ । पूर्वीय दर्शनमा पनि पशुलाई पीडा दिनहुन्न, उनीहरूको शान्ति खल्बल्याउन र हिंसा गर्न हुन्न भन्नेबारे प्रसस्त सन्देश हामी पाउँछौँ ।
‘वसुधैव कुटुम्बकम्’ अर्थात् संसारका सबै प्राणी एकै परिवारका सदस्यसरह हुन् भन्ने मान्यतामा हाम्रो वैदिक धर्म आधारित छ । त्यसैगरी हाम्रो वैदिक दर्शनले ‘अहिंसा परमोधर्म’ भन्ने सिद्धान्त अँगालेको पाइन्छ । अत्यावश्यक परेको बखत बाहेक अरू अवस्थामा हिंसा नगर्नू भन्ने हाम्रो धार्मिक मान्यता छ । यहाँनिर भागवत् महापुराणमा उल्लिखित एक भनाइ स्मरण गर्नु सान्दर्भिक हुनेछ । त्यसमा भनिएको छ, जो मानिस गाउँ वा वनका पशुलाई डोरीले किलामा बाँधेर खेलबाड गर्दै अनेक पीडा दिन्छ, त्यसलाई मृत्युपश्चात् शूलप्रोत नामक नरकमा शूलले बाँधेर यातना दिइन्छ (भागवत ५.२६.३२) । यसको तात्पर्य मानिसले अरू प्राणीको दुःख र पीडाप्रति संवेदनशीलता देखाउनुपर्छ भन्ने हो ।
पशुपन्छीको पनि हृदय हुन्छ, उनीहरू पनि सुख, दुःख, पीडाको अनुभव हामीले जस्तै गर्छन् भन्ने कुरा मानिसले बुझ्नु जरुरी छ । त्यसैले अनाहकमा पीडा दिइनुहुन्न भन्ने मान्यतामा आधारित भएर पशुअधिकारका आवाज बुलन्द भइरहेका छन् । नेपालमा पनि एनिमल नेपाल, नेपाल पशुकल्याण महासङ्घलगायतका संस्थाले पशुअधिकारका मुद्दा उठाउँदै आइरहेका छन् । पशुलाई काटेर, मारेर खाइन्छ भन्दैमा उनीहरूलाई सधैँ पीडा र दुःख दिइरहनुपर्छ, भोक, प्यास, जाडो गर्मीको हेक्का राख्नु पर्दैन भन्ने सोचाइ गलत र संवेदनहीनताको पराकाष्ठा हो ।
मानिस सृष्टिको सबैभन्दा चेतनशील, बुद्धिमान र संवेदनशील प्राणी हो । त्यसैले उसले अरू प्राणीको पीडा, सुख, दुःखप्रति पनि संवेदना देखाउनुपर्छ । जनावर बोल्न र आफ्नो भावना व्यक्त गर्न जाँदैनन्, त्यसैले उनीहरूलाई जे गर्दा पनि हुन्छ, जसो गर्दा पनि हुन्छ भन्ने सोचाइ गलत छ । जेलमा आजन्म कैद पाएका वा मृत्युदण्ड पाएका व्यक्तिको समेत स्वास्थ्य परीक्षण हुन्छ । उसको मृत्युदण्डको समय नआएसम्म उसलाई मानवोचित व्यवहार र उपचार गरिन्छ, खाने पिउने उचित व्यवस्था गरिन्छ भन्ने हामीले सुनेका वा देखेका छौँ । त्यस्तै पशुको पनि सकेसम्म हिंसा नगरौँ, गर्नै परेको खण्डमा सकेसम्म कम पीडा पुगोस् भन्ने ख्याल राखौँ र काट्ने, मार्ने बेला नभएसम्म उनीहरूलाई पनि उचित र सम्मानित व्यवहार गरौँ ।
हिजोआज हाम्रो समाजमा जसरी पशुलाई डोरीले बाँधेर, सडकमा घिसारेर, नाकमा नत्थु हालेर, सानो गाडीमा टन्टलापुर घाममा कोचेर ओसारपसार गरिन्छ, त्यो पटक्कै सभ्य व्यवहार हैन । त्यसैगरी चार, पाँचवटा कुखुरालाई साइकलमा टाउको तल, खुट्टा माथि पारेर झुन्ड्याएर ल्याइने गरिन्छ भने खसी, बोकालाई गाडीको डिकीमा श्वासै फेर्न गाह्रो पर्ने गरी ओसारपसार गरिने कार्यलाई पनि हतोत्साही गरिनुपर्छ । हामीले एकछिन त्यो पशुको ठाउँमा आफूलाई राखेर सोचौँ । तराईबाट काठमाडौँमा राँगोलाई ट्रकमा बाँधेर ल्याउँदाको स्थिति पनि अति पीडादायी लाग्छ । उनीहरूलाई नाकमा डोरीले बाँधेर, एउटा सानो ठाउँमा हलचल नै गर्न नसकिने स्थितिमा पानीसमेत खान नदिएर जसरी ल्याइन्छ, त्यो पशुभन्दा पनि ज्यादा बर्बरता हो । त्यस्ता पशुपन्छीलाई सास्ती दिने, पीडा दिने, भोकभोकै राख्ने कार्यलाई नियमन गर्न कानुनी व्यवस्था गरिनुपर्छ । त्यससम्बन्धमा केही कानुन भए पनि त्यसको राम्ररी पालना हुनसकेको छैन ।
कतिपय पशु हाम्रा साथी हुन्, जसले हामीलाई अनेक प्रकारले सहयोग पु¥याइरहेका छन् । जस्तै– कुकुरले घरको रक्षा गर्छ भने बिरालोले मुसा नियन्त्रण गर्छ, । त्यसैले ती जनावर पाल्नु हाम्रोनिम्ति लाभदायक छ । त्यस्तै डल्फिन पानीमा मानिससँग खेल्छ, मित्रवत् व्यवहार गर्छ । हात्ती, घोडा, ऊँट आदि यातायातको साधनका रूपमा उपयोगी छन् । चराले पनि बोट, बिरुवामा लाग्ने कीरा खाएर बालिनाली जोगाउन हामीलाई मद्दत गरेको हुन्छ । जङ्गली जनावर, चराचुरुङ्गी, कीराफट्याङ्ग्रा आदि विविध प्राणीले वातावरण जोगाउन र प्रकृतिमा सन्तुलन कायम राख्नमा महìवपूर्ण भूमिका निर्वाह गर्ने गरेको हामीले सुनेका वा पढेका छौँ । तसर्थ पशुपन्छीको रक्षा गर्नु र उनीहरूलाई उचित व्यवहार गर्नु हाम्रो नैतिक दायित्व पनि हो ।
अर्को कुरा मठमन्दिरमा दिइने जनावरको बलिलाई हतोत्साही गरिनुपर्छ । जनावरलाई बलि दिएर धर्म लाग्ने वा मानिसको कल्याण हुने भन्ने भ्रम कतिपय मानिसमा, अझ शिक्षित भनाउँदामा पनि व्याप्त छ । कतिपय मानिसले यसलाई धार्मिक मूल्य र मान्यतासँग पनि जोडेर हेर्ने गरेका छन् । वैदिक धर्मका ग्रन्थमा बलिको अर्थ भिन्नै लगाइएको पाइन्छ । देवतालाई उपहार चढाउनेलाई बलि भनिन्छ । त्यस्तै पञ्चबलि भन्नाले हाम्रा पाँच प्रकारका गलत प्रवृत्ति जस्तै– काम, क्रोध, लोभ, राग, द्वेष आदिको बलि हो, न कि हाँस, कुखुरा, बोका, परेवा र राँगोजस्ता पाँच प्रकारका पशुपन्छीको मारकाट । बलि भनेको त्याग हो, बलिदान दिनु हो, जसको तात्पर्य खराब कुरालाई त्याग्नु हो । देवतालाई खुसी पार्नु भनेको मन, इन्द्रीय वशमा पारेर आत्मज्ञान हासिल गर्नु हो र त्यसका निम्ति हामीले खराब प्रवृत्तिको बलि दिनुपर्छ भनिएको हो । जनावरको रगत बगाएर कसैको कल्याण हुँदैन । त्यसले त हामीमा हिंसात्मक भावनाको मात्र विकास गराउँछ ।
दशैँमा हामीमध्ये कतिपय मानिस अझै पनि देवी दुर्गाको मन्दिरमा वा घरमा जनावरको बलि दिन्छौँ । यस प्रकारको बलिलाई कसै, कसैले शास्त्रसम्मत भन्ने गरेका छन् । शास्त्रको हामीले पूरा अध्ययन नै नगरी त्यसको अल्पज्ञान मात्र हासिल गरेका रहेछौँ र कसरी गलत अर्थ लगाएका रहेछौँ भन्ने दशैँमा पाठ गरिने ७०० श्लोक भएको दुर्गा सप्तशतीको अध्याय १३ मा उल्लिखित निम्न भनाइबाट स्पष्ट हुन्छ :
मेधा ऋषिबाट ज्ञान प्राप्त गरी सुरथ राजा र समाधि नामक वैश्यले नदीको किनारामा गई बालुवाबाट देवीको मूर्ति बनाई निराहार रही फूल आदिले पूजा गरी आफ्नै शरीरको रगत अलिकति चढाएर बलि दिए । यहाँ आफ्नो शरीरको रगत चढाएको भन्ने साङ्केतिक अर्थमा बुझ्नुपर्छ । उनीहरूले निराहार बसेर देवीप्रति त्याग र भक्तिभाव देखाएर दुःख, कष्ट सही उपासना गरे र त्यसबापत देवीबाट यथोचित बर पनि प्राप्त गरेको प्रसङ्ग त्यस कथामा छ । तसर्थ हामीले सभ्य र संवेदनशील मानवको परिचय दिने हो भने पशुअधिकारप्रति संवेदनशील हुनैपर्छ । जसरी हामीलाई पीडा र दुःख हुन्छ, त्यसैगरी पशुपन्छीलाई पनि हुन्छ भन्ने कुरा बुझी सभ्य र सुसंस्कृत व्यवहार गर्न सिकौँ ता कि सृष्टिकै सर्वोत्कृष्ट प्राणी मानिस हुनुमा हामीले गर्व गर्न सकौँ ।