परम्परागत पर्यटनको विस्थापन
यादव देवकोटा
विश्वमा पर्यटनका आधारमा प्राकृतिक सौन्दर्य, कला, संस्कृति, धर्म, सामाजिक रीतिरिवाजलगायतका विषय परम्परागत रूपमा प्रचलित छन् । नेपाल यी सबै क्षेत्रमा सम्पन्न छ । पर्यटन विकासका प्रचुर सम्भावना छ तर यसको उपयोग नै हुन सकेको छैन । त्यस्तै पर्यटन प्रवद्र्धनका बहुआयामिक अन्य पक्षमा सरकार, व्यवसायी कसैको पनि ध्यान गएको छैन । पर्यटन विकासको नाममा पर्यटक सङ्ख्यालाई मात्र बढी प्राथमिकता दिइएको छ । पर्यटकको सङ्ख्याले मात्रै मुलुकको समृद्धिमा योगदान पुग्दैन ।
धार्मिक, सांस्कृतिक, प्राकृतिक विविधताको मुलुक नेपालमा यीबाहेक अन्य क्षेत्र पनि पर्यटन विकास र प्रवद्र्धनका लागि अनुपम उपहारका रूपमा रहेका छन् । अहिले विश्वमा कृषि पर्यटन, स्वास्थ्य पर्यटन तथा खेल पर्यटनको माहौल बनिरहेको छ । यसमा नेपाल सबभन्दा प्रभावशाली मुलुकमा स्थापित छ । यहाँका हरेक पक्ष पर्यटन विकासका लागि अनुपम छन् । खाँचो यिनको उपयोगको मात्रै हो ।
यद्यपि पर्यटनमा अपार सम्भावना बोकेको नेपालमा यसको विकास र यसबाट लिइएको लाभको लेखाजोखा गर्ने हो भने राष्ट्रिय आयमा यसको योगदान त्यति उत्साहजनक छैन, जति हुनुपर्छ र हुन्छ । यसका लागि स्पष्ट कार्ययोजना र दृष्टिकोणसहितको उत्कृष्ट पर्यटक भिœयाउने योजनासहित अघि बढ्नुपर्छ । किनभने नेपाल हरेक पल भ्रमणयोग्य मुलुक हो । यहाँको धार्मिक, सांस्कृतिक, भाषिक विविधता अनि प्राकृतिक सौन्दर्य र पौराणिक स्थल पर्यटकलाई हरपल आकर्षित गर्ने क्षेत्र हुन् । त्यसै भएर नेपालको पर्यटकीय महìवलाई विश्वका चर्चित सञ्चारमाध्यम र पत्रपत्रिकाले निकै महìवका साथ उल्लेख गरिरहेका हुन्छन् ।
तर विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाको हालत कस्तो छ ? देशको राजधानीको सडकको अवस्था, फोहोरमैला व्यवस्थापनको समस्या अनि सम्पदा नै छायाँमा पर्ने गरी निर्माण भएका भीमकाय भवनले यो देशको पर्यटन विकासमा टेवा हैन, अवरोध मात्र सिर्जना गर्छ । आज विश्वबाट मौलिकताको खोजीमा मानिस नेपाल आउने हुन् । नेपाली संस्कृति, संस्कार, यहाँको खाना–पिना अनि रमणीय वातावरण नै उनीहरूलाई आकर्षित गर्ने सामग्री हुन् तर यसको प्रचार–प्रसारको अभाव मात्र हैन, रैथाने खानेकुरालाई आयातित पश्चिमा खानाले विस्थापित गर्दै छ भने कसरी हुन्छ पर्यटन विकास ?
लिम्बू संस्कृति के हो ? थारू संस्कृति के हो ? नेवार, किराँत, मिथिला, तमु संस्कृतिका विविध आयामलाई समेटेर विश्वका धेरैभन्दा धेरै भाषामा वृत्तचित्र बनाएर प्रचार गर्नु अहिलेको प्रमुख कार्य हो । सधैँ सगरमाथा, लुम्बिनी, पशुपतिनाथको फोटो राखेर नेपाल भ्रमणको निम्तो दिएर हुनेवाला केही छैन । पर्यटनको विकास नै चाहने हो भने र पर्यटनबाट मुलुकको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने हो भने पहिला सानासाना कामबाट सफलता लिने सोच बनाउनुपर्छ ।
पर्यटकको वर्गीकरण हुनु आवश्यक छ । कस्ता पर्यटकलाई आकर्षित गर्ने भन्ने मूलभूत पक्ष हो । बेरोजगार भत्ता खाएर त्यही रकम जोगाएर नेपाल आउने, महिनौँ बस्ने अनि आफ्नो भत्ता जोगाउने खालका पर्यटकबाट कुनै टेवा पुग्दैन । दैनिक निश्चित रकम खर्च गर्न सक्ने पर्यटक नेपाललाई चाहिएको छ । पर्यटकका लागि भुटानको ‘मोडल’ अनुसरण गर्नु आवश्यक छ । जहाँ पर्यटकले दैनिक निश्चित रकम खर्च गर्नैपर्छ ।
भुटानलाई पर्यटकको टाउको गन्ने हैन, उसले खर्च गर्ने रकममा मात्र चासो छ । यसविपरीत हामी पर्यटकको टाउकोलाई महìव दिइरहेका छौँ । राष्ट्रिय आयमा पर्यटन क्षेत्रको योगदान अत्यन्त न्यून हुनुको प्रमुख कारण यो पनि हो । बुझ्नुपर्ने तथ्य के हो भने वसन्तपुरमा फुटपाथको चिया र पाउरोटी खाने पर्यटकले देश समृद्ध हुँदैन । हो, उनीहरूबाट पर्यटकको सङ्ख्या भने बढ्ला । पर्यटनको विकास र प्रवद्र्धन गर्न सरकारी तहबाटै स्पष्ट प्याकेजको घोषणा हुनुपर्छ । निश्चित समयका लागि निश्चित रकम खर्च गर्नैपर्ने भ्रमण तालिका बनाएर उनीहरूको सुविधाका लागि भौतिक पूर्वाधार बनाउने हो भने कुल राष्ट्रिय आयमा पर्यटनको योगदान ह्वात्तै बढ्छ ।
नेपालमा पर्यटन विकासको नयाँ आधारका रूपमा स्वास्थ्य पर्यटन पनि हो । हजारौँ वर्षदेखि अभ्यासमा रहेको आयुर्वेदिक उपचारलाई विश्वव्यापी बनाएर प्रचार गर्न सके नेपालमा यही उपचारका लागि पर्यटक आउने निश्चित छ । अहिले मानिस आयुर्वेद वा प्राकृतिक चिकित्सातर्फ आकर्षित भइरहेका छन् ।
चार शताब्दीभन्दा लामो इतिहास बोकेको सिंहदरबार वैद्यखाना तथा सयौँ वर्षदेखि सेवा प्रवाह गरिरहेको नरदेवी अस्पताल स्वास्थ्य पर्यटनको प्रमुख आधार बन्नसक्छ । यसका लागि सरकारले स्पष्ट नीति, योजना, कार्यक्रम र अनुसन्धान तथा प्रचारप्रसारका लागि लगानी गर्नुपर्छ । कोरोना कहरले मानिसलाई आयुर्वेदतिर कसरी मोडिन बाध्य पा-यो ? यसलाई मूल्याङ्कन गरेर हाम्रा लागि विदेशी मुद्रा आर्जन गर्ने स्रोतका रूपमा आयुर्वेदलाई लिनुपर्छ । बहुमूल्य जडीबुटी कौडीका भाउमा बेचेर मुलुक समृद्ध हुँदैन ।
त्यस्तै विश्वभर नेपाली खानाको प्रचार–प्रसार हुनु आवश्यक छ । सानादेखि ठूला होटलसम्म नेपाली खानाका परिकार अनिवार्य रूपमा राखिनुपर्छ । पर्यटकलाई त्यसप्रति आकर्षित गर्न सक्नुपर्छ । पर्यटक पिज्जा, बर्गर खान यहाँ पक्कै आउँदैनन् । ग्रामीण क्षेत्रमा घरबस पर्यटनले पाएको गतिबाट पनि सिक्नु आवश्यक छ कि पर्यटक के चाहन्छन् ?
पर्यटक र पर्यटनको परिभाषा अहिलेकोभन्दा धेरै फराकिलो बनाउन सके मात्रै हामीलाई प्रकृतिले दिएको, पुर्खाले छाडेको धरोहरबाट मुलुक समृद्धिको दिशातिर अग्रसर हुनसक्छ । आज पर्यटक भनेका ट्रेकिङ जाने, हिमाल चढ्ने, ¥याफ्टिङ गर्ने मात्र हुन् भन्ने बुझाइ धेरै छ । यो नै गलत परिभाषा हो । पर्यटन अब खेलबाट पनि विकास हुन्छ । पर्यटकीय आकर्षण भएका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका विश्वमा सबभन्दा बढी हेरिने र खेलिने फुटबल, क्रिकेटजस्ता प्रतियोगिता सञ्चालन गर्ने रङ्गशाला बनाउने हो भने यसले पर्यटन विकासमा ठूलो टेवा दिनेछ । पोखरा विश्वकै उकृष्ट क्रिकेट खेलस्थल हुनसक्ने विभिन्न क्षेत्रबाट धारणा प्रवाह भइरहेको छ ।
के पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट र फुटबल रङ्गशाला बनाउन सकिँदैन ? त्यस्तै चलचित्र छायाङ्कनस्थल अनि मौलिक संस्कृतिको संरक्षण अहिलेको प्रमुख कर्तव्य हो । यसका लागि धर्मान्तरण रोक्नैपर्छ । पश्चिमा देशबाट चर्च हेर्न हैन, नेपालको मौलिक, धर्म, संस्कृति, परम्परा हेर्न आउने हुन् । यिनीहरूको संरक्षण र प्रचारप्रसार उत्तिकै आवश्यक छ ।
संसारका कतिपय मुलुकले कृत्रिम संरचना बनाएर पनि दसौँ लाख पर्यटकलाई आकर्षित गरिरहेका छन् । हाम्रोमा प्रकृतिले नै यति धेरै संरचना दिएका छन्, पिता पुर्खाले यतिविधि सम्पदा दिएका छन् तर यिनीहरूको प्रचारप्रसारमा कमी मात्र हैन, संरक्षणकै अभाव छ । अव्यवस्थित सहरीकरणले सम्पदा अतिक्रमित भइरहेका छन्, ठूलाठूला महलले सम्पदा छायाँमा परेका छन् । यसलाई रोक्नेतर्फ तत्काल चासो दिनु आवश्यक छ । हनुमानढोका दरबार क्षेत्र टाढैबाट देखिने अवस्था बनाउन सकिएला ? प्रश्न यही हो कि हामीले ‘माल पाएर चाल पो पाएनौँ कि !’
अपार सांस्कृतिक सम्पदा, अपार धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा चाहिनेजति विकास गर्न नसक्नु नै हाम्रो विडम्बना हो । नेपालमा रहेका युद्धकिल्ला नेपाली वीरताको प्रतीक हो । यिनलाई युद्धस्मारकका रूपमा विकसित गरी विश्वभरका अध्येताका लागि अकर्षित गर्न सकिन्छ । बेलायतलाई पहिलो पटक पराजयको स्वाद चखाइएको सिन्धुलीगढी किल्लालाई किन अन्तर्राष्ट्रिय पर्यटनको आकर्षण बनाउन सकिएन ? सिन्धुलीगढीको इतिहास बेलायतको पराजय र नेपाली वीरताको जीवित सङ्ग्रहालय हो तर यसको प्रचारप्रसार नै हुन सकेको छैन ।
पर्यटन विकासबाटै राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्छ । यसको विकास कसरी गर्ने र यसका आधारको पहिचान भने हुनुपर्छ । माथि उल्लिखित क्षेत्र केही सामान्य मात्र हुन्, यस्ता अनगिन्ती क्षेत्र नेपालको पर्यटन विकासको आधार ठडिएका छन्, जसको पहिचान हुनु मात्र पर्छ र विकस गर्ने सोच देखाउनुपर्छ ।