जनउत्तरदायी नेतृत्वको अपेक्षा
शान्तिकृष्ण अधिकारी
नेपाल परापूर्वकालदेखि नै यस्तो मुलुक हो, जहाँ मान्छेभन्दा धेरै देवताको बसोवास थियो । त्यसैले नै होला, हिन्दुका तेत्तीस कोटी देवता छन् भनिएको । अहिले पनि नेपालमा हेर्ने हो भने मानिस बस्ने घरको सङ्ख्याभन्दा निकै बढी मन्दिर पाइन्छन् । थरैपिच्छेका कुलदेवताका मन्दिर छन् । जातैपिच्छेका देवता छन् । धर्मअनुसार भिन्न–भिन्न भगवान्को पूजा गरिन्छ । आइतबारदेखि शनिबारसम्मका बारैपिच्छेका अलग–अलग भगवान् र देवता छन् । ग्रह, राशी र नक्षत्रका आधारमा एउटै धर्ममा आस्था राख्नेले पनि बेग्लाबेग्लै भगवान्को पूजा गर्ने गर्छन् ।
जसरी व्यक्तिपिच्छेका भगवान् छन्, त्यसैगरी तीन करोड जनताका आआफ्नै नेता छन् । नेपाली जनताले नेतालाई यति मान्दछन् कि बरु भगवान् बिर्सन्छन् तर नेता बिर्सन सक्दैनन् । नेता पनि कति छन् भने सङ्ख्या जोड्दा कतै जनसङ्ख्याभन्दा बढी हुने त होइन भन्नेजस्तै देखिन्छ । नेपालजस्तो सानो मुलुकमा राजनीतिक पार्टी नै सयौँ छन् र प्रत्येक पार्टीका गाउँ तहसम्मका नेता छन् । बालिग भएको प्रत्येक मान्छे नेता हो भन्दा फरक नपर्ने देखिन्छ ।नेपालमा ७५३ पालिका छन् । यी पालिकालाई छ हजार ७४३ वटा वडामा विभाजित गरिएको छ । प्रत्येक वडामा वडाध्यक्ष र सदस्य रहने व्यवस्था छ । यी पदका लागि निर्वाचन हुन्छ र निर्वाचन जितेको मान्छे नेता गनिने नै भए । प्रत्येक पालिकामा अध्यक्ष, उपाध्यक्ष या नगरप्रमुख, उपप्रमुख पदका लागि निर्वाचन हुन्छ । ७७ जिल्लामा जिल्ला विकास समन्वय समिति छन् । यी समितिमा पदाधिकारीहरू निर्वाचित भएर आउने गर्छन् । यसरी निर्वाचित भएर आएका सबै जना नेता हुने नै भए ।
नेपाललाई सात प्रदेशमा विभक्त गरिएको छ । सात प्रदेशका सांसदको कुल सङ्ख्या ५५० हुन्छ । प्रत्येक प्रदेशमा मुख्यमन्त्री, मन्त्री हुन्छन् । त्यसमाथि सङ्घीय संसद्को व्यवस्था छ । सङ्घीय संसद्मा प्रत्यक्ष र समानुपातिक निर्वाचनका माध्यमबाट चुनिएर आएका २७५ जना सांसद रहन्छन् । ५९ जनाको राष्ट्रिय सभा त कहिल्यै रिक्त नहुने गरी रहेकै छ । सङ्घमा प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री निर्वाचित वा नियुक्त हुने गरेकै छन् । सांसदहरू त नेताको कोटीमा यसै पर्ने नै भए । अझ यी नेतालाई त माननीयको उपाधिसमेत दिने गरिएको छ ।
यस्ता पदमा निर्वाचित, नियुक्त वा मनोनीत त सरकारी ओहोदाप्राप्त नेता नै भए । राज्यले नै नेताको पदवी दिएको मान्नुपर्दछ । कतिपय नेतालाई राज्यले तलब, भत्ता, आवास, यातायात आदि सुविधा अर्थात् परिवारको जीवनयापनका लागि आफ्नो सम्पत्तिको कत्ति पनि अंश खर्च गर्नै नपर्ने सुविधा दिने गर्दछ । कतिपय नेतालाई भने भत्ता मात्रको सुविधा दिइएको छ । त्यसैले यी नेतालाई अधिकारप्राप्त नेता भन्दा अत्युक्ति नहोला । तर यी नेताभन्दा पनि सयौँ गुणा बढीको सङ्ख्यामा अन्य नेता नेपालमा क्रियाशील भेटिन्छन् । राष्ट्रिय पार्टी भनिने राजनीतिक दलका त देशव्यापी रूपमा वडा तहदेखि केन्द्रीय तहसम्मका संरचना छन् । नेपाली काँग्रेसले त अहिले आफ्नो सङ्गठनलाई व्यापक बनाउन टोल–टोल र गल्ली–गल्लीमा समेत एकाइ गठन गरेको छ ।
प्रत्येक एकाइमा कम्तीमा पन्ध्र र बढीमा दुई सयसम्मका सदस्य छन् । तीन सय सदस्यको केन्द्र भएका पार्टी पनि छन् र विगतमा चार हजार सदस्यको केन्द्रीय समिति गठन गरेका पार्टी पनि थिए । केन्द्र र जिल्लामा मात्रै सङ्गठन भएका पार्टी पनि क्रियाशील नै देखिन्छन् । टोल समितिदेखि केन्द्रसम्मका यी एकाइमा कार्यरत सबै व्यक्तिलाई गरिने सम्बोधन पनि नेता नै हो ।शिक्षकको आफ्नै सङ्गठन छ । पार्टीपिच्छेका शिक्षक सङ्गठन छन् । प्रत्येक सङ्गठनका विद्यालयपिच्छे, गाउँपिच्छे, जिल्लापिच्छे, प्रदेशपिच्छे र केन्द्र तहका समिति छन् । शिक्षकको मात्रै होइन, वकिलको सङ्गठन त्यस्तै छ । प्राध्यापकको, इनिजनियरको, डाक्टरको, पत्रकारको अर्थात् सबै पेसाकर्मीको सङ्घ सङ्गठन जरादेखि टुप्पासम्मका पाइन्छन् । यति मात्र होइन, निजामती कर्मचारीको समेत पार्टीपिच्छेका सङ्गठन छन् । यी सङ्गठनका पदाधिकारी तथा सदस्य पनि नेताकै पगरी भिरेका हुने नै भए ।
उद्योगीका सङ्गठन, साना व्यवसायीको सङ्गठन, औषधि उत्पादकको बेग्लै, औषधि बेच्नेको आफ्नै, कपडा उत्पादकको बेग्लै, कपडा बेच्नेको अर्कै, खाद्यान्न उत्पादकको अलग्गै अर्थात् व्यापारीपिच्छेका भिन्नभिन्न सङ्गठन भएको मुलुक नेपाल हो । किसानको एउटै सङ्गठन होइन कि देशमा जति पार्टी छन्, त्यति नै सङ्गठन, पशुपालकको त्यस्तै, कुखुरा पाल्नेको एउटा सङ्गठन, बङ्गुर पाल्नेको अर्कै सङ्गठन पाइने मुलुक नेपाल नै हो । उखु उमार्नेको छुट्टै र तोरी उत्पादन गर्नेको बेग्लै सङ्गठन बनाइएको पाइन्छ । यी सबै सङ्गठनका हर्ताकर्तालाई नेता मान्न पर्दछ नै ।
यति धेरै नेता भएको मुलुक नेपाल भने सधैँ विकासको मार्गमा पछि परेको प-यै छ । आजभोलि प्रश्न उठ्ने गरेका छन्– नेपालका विश्वविद्यालय किन कहिल्यै सुध्रिन सकेनन् ? अस्पतालका सेवा सुविधामा किन सन्तोषजनक प्रगति हुन सक्दैन ? विद्यालयको गुणस्तरमा किन सुधार हुँदैन ? सरकारी सेवा प्रवाह जहिले पनि किन परम्परागत नै हुन्छ ? कुनै पनि सेवा प्रदायक संस्थाबाट सेवाग्राही सन्तुष्ट हुने अवस्था किन कहिल्यै नआएको ? के नेपालमा आम नागरिकले सधैँ यस्तै अवस्था भोग्नुपर्ने हो ? समुन्नत नेपाल र समृद्ध नेपाली देख्ने दिन कहिले आउँछ ?
संस्कृतमा एउटा पदावली छ– ‘नश्यन्ति बहुनायका ।’ अर्थात् धेरै नेता भए भने नाश मात्रै हुन्छ । के नेपालमा त्यस्तै भएको हो त ? नत्र आआफ्ना कर्मक्षेत्रका यावत् समस्याको समाधान गर्दै सुधार र प्रगतिको मार्गमा लैजाने प्रतिबद्धता बोकेका यत्रा नेता क्रियाशील हुँदा पनि कुनै पनि क्षेत्र सन्तोष गर्न लायकका पाइन नसकिएको ? भाषण र बोली सुन्दा त नेताले मुलुकको कायापलट नै गरिदिन्छन् जस्तो अनुभूति हुने गर्दछ ।
नेपाली बृहत् शब्दकोषमा भनिएको छ– नेता भनेको कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति, कुनै समाजमा नेतृत्व दिन सक्ने व्यक्ति, अगुवा, नाइके हो । त्यसैगरी नाटक, महाकाव्य आदिको प्रमुख पात्रलाई पनि नायक भनी लेखिएको छ । शब्दकोषकै अनुसार बाटो बताइदिने व्यक्ति, नायक वा मालिकलाई पनि नेता भनेर परिभाषित गरिएको छ । अर्थात् नेतृत्व गर्ने व्यक्ति नेता हो । मुलुकमा क्रियाशील यति धेरै सङ्ख्याका नेताले शब्दकोषले भनेझैँ असल बाटो देखाउने गरेको भए नेपालको अवस्था शायद यस्तो हुने थिएन होला । समाजमा नेतृत्व दिएर अगुवाको भूमिका निर्वाह गर्ने गरेको भए नेपाली जनताको आर्थिक स्थिति अर्कै हुने थियो होला । नेताको परिभाषाअनुसारको काम, कर्तव्य निर्वाह हुन नसकेकैले विश्वका मुलुकका बीचमा नेपाल विकासका दृष्टिले धेरै पछि रहनु परेको र नेपाली जनताको आर्थिक अवस्था सुध्रन नसकेको भन्न कुनै अप्ठेरो मान्नुपर्ने देखिँदैन ।
बरु नेताहरू शब्दकोषमा भनिएको नाटक, महाकाव्यको नायकजस्ता मात्रै भए कि भन्ने लाग्न सक्दछ । कतिपय नेताका व्यवहार र आचरण हेर्दा मालिकका रूपमा परिवर्तित हुँदै गएको आभाष मिल्दछ । असल बाटो देखाउनुको सट्टा खराब बाटो देखाउँदै हिँड्ने नेताहरूको सङ्ख्या बढी भएर असल नेताहरू पछि पर्दै गएका हुन् कि भन्ने प्रश्न उठ्न थालेको छ । मुलुक र जनताको अवस्थाले कि त नेताको परिवर्तन खोज्न थालेको छ कि त नेताको व्यवहारमा परिवर्तन । तेत्तीस कोटी देवता त दिए खान्छन् नत्र चुप लागेर बस्दछन् । पूजा गर्न आउने भक्तले चढाएको प्रसाद पनि खाँदैनन् र भक्तलाई नै फिर्ता दिन्छन् । नेता त त्यसैगरी नखाई बस्न सक्दैनन् । जनताले तिरेको राजस्वबाट नेताको जीवन चल्दछ । त्यसैले नेताहरू अब जिम्मेवार बन्नैपर्छ । देश र जनताप्रति उत्तरदायी हुनैपर्छ । आफ्नै स्वार्थ, आफ्नै पार्टीको मात्र हित हेर्ने नेता होइन कि नेपाल हेर्ने नेता मुलुकले खोजेको छ ।