‘गुफा’ अभ्यास
गीता श्रेष्ठ
नेपाली समाजमा जीवनोपयोगी अनगिन्ती धार्मिक–सामाजिक–सांस्कृतिक मूल्य, मान्यता, अभ्यास र रीति तथा संस्कार छन् । यी सबै संस्कार मानिसको मानसिक तथा शारीरिक विकास र आत्मविश्वास अनि भविष्यको शिक्षाका रूपमा हुने गरेका छन् । हरेक पर्व, संस्कार र संस्कृतिभित्र अथाह वैज्ञानिक ज्ञान, अभ्यास र रहस्य लुकेको हुन्छ, जुन मानव विकासका विविध चरणलाई क्रमबद्ध रूपमा व्यवहारमा उतार्दै लगिन्छ ।
सामान्यतः छोराको उमेर बढ्दै गएपछि उसको व्रतबन्ध गरिन्छ । यसले उसमा बिस्तारै परिपक्वता आउन थाल्छ । छोरा यौवनावस्थामा प्रवेश गर्दै गरेको सङ्केतका रूपमा व्रतबन्धलाई लिइन्छ । व्रतबन्ध नगरी विवाह गर्नु हुँदैन, यति मात्र हैन विविध धार्मिक–सांस्कृतिक कार्यमा पनि व्रतबन्ध नगरेकालाई प्रतिबन्ध हुन्छ । त्यस्तै छोरीलाई महिनावारी सुरु हुनुअगावै ‘गुन्यूचोली’ दिने चलन छ । महिनावारी भएपछि गर्ने विधि पनि अनेक छन् ।
छोरालाई जसरी परिपक्व बनाउन व्रतबन्ध गरिन्छ, छोरीको हकमा पनि यी त्यसैको अर्को रूप हो र यो प्रचलन सबै जातजातिमा कायम छ तर सामाजिक संस्कार तथा विधि र संस्कृति जात–समुदायअनुसार फरक–फरक हुने गर्छ ।यस्तै एउटा फरक संस्कृतिका रूपमा नेवारी परम्परामा छोरीलाई रजस्वला हुनुअघि ‘गुफा’ राख्ने चलन छ । बाहिरबाट हेर्दा र पश्चिमा बालअधिकारको नाराको पछि लाग्ने हो भने १२ दिनसम्म नाबालिग छोरीलाई बन्द कोठामा थुनेर राख्नु यातना हुनसक्छ तर ‘गुफा’ राख्नु छोरीलाई परिपक्व हुँदै गएको सन्देश दिनु, उसमा सामाजिक मूल्य, मान्यता र संस्कारको आभास दिनु एउटा पक्ष रहन्छ भने उसमा जिम्मेवारीबोध र सहनशीलताको पाठ पनि यही अवधिमा सिकाइन्छ ।
गुफा राख्ने चलन कुनै रूढिवादी परम्परा निर्वाह मात्र कदापि होइन । यसभित्र लुकेको ज्ञान र शिक्षा प्रवाहको रहस्य हामीले बुझ्नुपर्छ । नौदेखि १२ वर्षको उमेरभित्र गुफा बस्दा उनीहरूमा जुन किसिमको मानसिक विकास हुन्छ, त्यसले आजीवन उसलाई सघाउ पु-याइरहन्छ । जीवनोपयोगी ज्ञान, शिक्षा र अभ्यास उपयुक्त उमेरमा दिन सकियो भने मात्र त्यो प्रभावकारी हुन्छ । त्यसैले बालिकालाई उनीहरूको शारीरिक तथा मानसिक विकास भएर एउटा दृष्टिकोण निर्माण गर्न सक्ने अवस्थामा पुग्नुअघि नै असल संस्कार, अनुशासन अनि सहनशीलताको अभ्यास गराइने उच्च संस्कारित प्रथाका रूपमा ‘गुफा’ राख्ने संस्कृति हो ।
‘गुफा राख्ने’ चलनलाई सूर्यदर्शन पनि भन्निछ । यसमा सूर्यसँग विवाह गरिन्छ । हुन त नेवार समुदायमा महिलाको तीनपल्ट विवाह हुन्छ । पहिलो विवाह ‘बेल’सँग, दोस्रो गुफा राखेपछि ‘सूर्य’सँग अनि गार्हस्थ्य जीवनका लागि तेस्रो पटक लोग्नेमान्छेसँग गरिन्छ । बेल र सूर्यसँग विवाह गरिसकेपछि कुनै पनि नारी आजीवन सौभाग्य रहने विश्वास गरिन्छ ।
गुफा राखेर बाहिर निस्केपछि सूर्यदर्शन गरिएका बालिकालाई खराब मान्छे तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने छ । यसको सुरुको अवधिमा बालिकालाई सूर्यको किरण नजाने कोठामा बन्द गरी राखिन्छ । पहिलो छ दिनसम्म नुन नखुवाई बन्द कोठामा राख्ने र कोही पनि पुरुष मान्छेलाई भेट गर्न दिइँदैन । गुफा बसेको बालिकाले आफूले केही कुरा खानुभन्दा पहिले ‘बाह्रा ख्या’ (गुफाको भूत)लाई चढाउनुपर्ने हुन्छ ।
छ दिनपछि नुहाइधुवाई गरेर सफा कपडा लगाइन्छ, त्यसपछि आफन्त जस्तै माइजू, फुपू, काकी तथा छरछिमेकी फलफूल, मकै, भटमास तथा अन्य खानेकुरा लिएर भेट्न आउँछन् । गुफा राखेको अवसरमा विशेष प्रकारको पाउडर सबै महिलाले आफ्नो मुहार सुन्दर र सफा बनाउन प्रयोग गर्ने गर्छन् । १२औँ दिनमा गुफा बस्ने बालिकालाई विशेष शृङ्गार गरी बिहानी घाममा घरका महिला मिलेर बाहिर निकाल्ने गरिन्छ । विशेष पूजाआजा गराइन्छ । यसै दिनमा बनाएको जुरोलाई तीन दिनपछि मात्र फुकाइन्छ ।
जीवनमा उचित शिक्षादीक्षा प्राप्त भएमा मात्रै त्यो जीवन सार्थक हुन्छ, घरपरिवार र समाजलाई समेत राम्रो बाटोमा डो-याउन सकिन्छ । १२ दिनसम्म गुफामा बसेर प्राप्त ज्ञान बालिका हुँदै युवती अनि पत्नी, आमा, सासू बन्ने समयसम्म अति उपयोगी रहन्छ । त्यसैले गुफा राखिएको अवधिभर पुरुषको अनुहार त के आवाजसमेत सुन्न नहुने चलन छ । यसको वैज्ञानिक र व्यावहारिक पक्ष अलौकिक छ । नौदेखि १२ वर्ष सेरोफेरो उमेरका कन्यामा शारीरिक परिवर्तन आउने, रजस्वला हुने र प्रजनन क्षमताको विकास हुने भएकाले यही बेला महिला मात्र बसेर आवश्यक ज्ञान र शिक्षा दिने सुनौलो अवसरका रूपमा पनि लिन सकिन्छ ।
आजभोलि गुफा १२ दिन किन राख्ने भन्ने प्रश्न नउठेको हैन । मृत्युसंस्कारको अवधि छोट्याउनुपर्ने आवाज जस्तै गुफा राख्ने दिन पनि कम गर्नुपर्ने आवाज उठेको छ । शास्त्रीय विधिमा किन १२ दिन भन्ने बुझ्नु आवश्यक छ । १२ दिनको अवधिमा घरका, नातागोता महिला मात्र भएर एउटी बालिकालाई दिने जीवनोपयोगी व्यावहारिक ज्ञान प्राप्त गर्ने समय हो । यो ज्ञान विश्वको कुनै पनि विश्वविद्यालयबाट प्राप्त हुन सक्दैन ।
यस अवधिमा पाएको व्यावहारिक ज्ञान र शिक्षाबाट आफू, आफ्नो परिवार र समाजलाई राम्रो मार्गमा डो¥याउन, खराब चालचलन र अरूको छलकपटबाट बच्न, आफ्नो स्वास्थ्यको हेरविचार आफैँ गर्न र जीवनलाई रसमय बनाउन शृङ्गारिक ज्ञान प्राप्त गरून् भन्ने आशय हो । आजभोलि यसको व्यावहारिक र वैज्ञानिक तथा सामाजिक दृष्टिकोणले भन्दा पनि देखावटीपनका लागि गर्ने गरिन्छ । १२ दिनको साटो तीन दिनमै गुफा निकाल्ने गरिन्छ । यो कति शास्त्रसम्मत भयो र गुफा राख्नुको ताìिवक महìव र सान्दर्भिकता कति पूरा भयो भन्ने प्रश्न भने जीवन्त छ ।
कुनै पनि सस्कार, संस्कृतिको विधि, अवधि र समय हावादारी किसिमले तय गरिएको हुँदैन । गुफा राख्ने चलन पनि यस्तै हो । १२ दिन नै राख्नुपर्ने र यो १२ दिनको अवधिमा छोरीसँग गरिने भलाकुसारी र उनलाई दिइने व्यावहारिक ज्ञान नै उसको जीवनपर्यन्तको ज्ञान हो । जीवनका कुनै पनि समस्याको सामना गर्नसक्ने गरी मानसिक रूपमा मजबुत बनाउने र जीवनयात्रालाई सहज रूपमा पार गर्न अभ्यास गराउने पहिलो खुड्किलो हो ‘गुफा’ राख्ने चलन अनि सूर्यदर्शन ।
सूर्य ऊर्जाको स्रोत हो । हरेक दिन विशेष दिनका रूपमा लिने वैदिक सभ्यता र संस्कृतिमा ग्रह, नक्षत्र, उपग्रह, सूर्य, चन्द्र सबैको उच्च महìव छ । यी पक्षको अनुसरणबाट मानवले प्रशस्त लाभ लिन सक्छ । जीवनका हरेक पाइलामा आइपर्ने अप्ठ्यारा र अवरोधको सामना गर्न सिकाउने हाम्रा आफ्नै संस्कार, संस्कृति र सामाजिक अभ्यासमध्ये एक हो ‘गुफा राख्ने’ संस्कार र सूर्य दर्शन । मानवदेखि वनस्पतिसम्म सूर्यबाट प्राप्त ऊर्जाबाटै अस्तित्वमा रहन्छ । त्यसैले १२ दिनसम्मको गुफा बसाइपछि सूर्यदर्शन गरिन्छ । यो अवधिमा आफ्ना अग्रज महिलाबाट जीवन र व्यवहारका बारेमा कोठाभित्र बस्दा प्राप्त ज्ञानलाई सूर्यको प्रकाशले अरू शक्तिशाली बनाउँछ भन्ने मान्यताका एउटा अलौकिक अभ्यास हो ‘गुफा राख्ने’ चलन ।