फोटो फिचर | पर्यटन |

कोभिडले सुनसान उपल्लो मुस्ताङमा देखिन थाले आन्तरिक पर्यटक

अमृतप्रसाद पौडेल
बेनी, भदौ १२ गते । हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो भेकमा पर्ने लो–घेकर दामोदर कुण्ड गाउँपालिका (साविकको सुर्खाङ गाविस)को दामोदर कुण्ड क्षेत्रमा आन्तरीक पर्यटकहरु पुग्न थालेका छन् ।
मुस्ताङका स्थानीय तहमा कार्यरत कर्मचारी बिदा मिलाएर एवम् मुस्ताङ भित्र वसोवास गर्ने अन्य जिल्लाका नागरिक घुमघामका लागि दामोदर कुण्डसम्म पुग्न थालेका हुन् । कोभिड–१९ ले पर्यटन क्षेत्र पूरै धरासायी भएको भए पनि अहिले ५ सय ५१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको भए पनि हाल जिल्ला भित्र ९ जना मात्रै सक्रिय संक्रमित रहेको अवस्थामा जिल्ला भित्रै रहेका कर्मचारी तथा अन्य व्यक्तिहरु उपल्लो मुस्ताङको पवित्र धार्मिक स्थल दामोदर कुण्डसम्म पुग्न थालेका हुन् ।
कर्मचारीहरु स्थलगत अनुगमन तथा अन्य कार्यका लागि पुग्ने गरेको र बाहिर मुस्ताङ बाहिर स्थायी वासोवास भै हाल मुस्ताङमा बस्ने नागरिकहरु आन्तरिक पर्यटकको रुपमा दामोदर कुण्ड पुग्ने गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको भनाई छ ।
मुस्ताङको सदरमुकाम जोमसोम पुग्दा धौलागिरी र नीलगिरी हिमालको मनमोहक दृष्य देखिदै अगाडि बढ्दै मुस्ताङका पाखापखेरा, मट्यौले डाँडा अनि कालीगण्डकीका बगर जता हे¥यो उतै मनमोहक दृष्य । यदि सामान्य अवस्था हुन्थ्यो भने यो समय थाकखोला (घाँसा देखि कागबेनीसम्म) क्षेत्रमा थाक खेलकुद तथा साँस्कृतिक महोत्सवको माहौल हुने समय तर कोभिडले गर्दा पछिल्लो दुई वर्ष देखि यो महोत्सव रोकिएको छ ।
निकै थोरै तर आनन्ददायक तबरले यात्रा गर्ने आन्तरीक पर्यटक भने फाट्टफुट्ट भेटिन्छन् । कोभिड–१९ को महामारी नभएको भए थाक खेलकूद तथा साँस्कृतिक महोत्सव भर्नका लागि कालीगण्डकीको किनार र पहाडको डिलमुनि रहेको साँघुरो अनि सुन्दर बजार जोमसोममा क्षेत्रमा पर्यटकले खचाखच भरिएको हुने थियो ।
तर अहिले माहौल त्यस्तो छैन । निकै कम त्यही पनि जिल्ला बाहिर कहिँ कतै लामो समयदेखि नगएका नागरिकहरु मात्रै हिड्छन् अहिले । एउटै कोठाको एक हजार पाँच सय देखि दुई हजारसम्म भाडा तिर्नु पर्ने मुस्ताङका होटलहरु अहिले पर्यटक कहिले आउलान् भनेर पर्खेर बसेका छन् भन्नुहुन्छ मुक्तिनाथका होटल व्यवसायी अमृत सुवेदी । कोभिड–१९ नियन्त्रण नभएसम्म त्यस क्षेत्रमा पर्यटक आउने सम्भावना पनि न्यून रहने सुवेदीको भनाई छ ।
हिमालपारीको जिल्ला मुस्ताङ धार्मिक ऐतिहासिक, पुरातात्विक र प्राकृतिक धरोहरको संगम रहेको पर्यटकका लागि विभिन्न गन्तव्य छन् । बौद्ध र हिन्दू धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्र मुस्ताङको मात्र नभएर नेपालकै प्रमुख धाममध्येको एक हो ।
यही जिल्लाकै अर्को एउटा प्रमुख पर्यटकीय क्षेत्र हो दामोदर कुण्ड । पवित्र शालिग्रामको उग्दम क्षेत्र मानिने दामोदर कुण्ड क्षेत्रमा सामान्य अवस्थामा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरु पुग्ने गर्दथे । मुस्ताङ सदरमुकाम जोमसोमदेखि कागबेनीमा पुगेर पृतृहरुलाई तर्पण दिएपछि मुक्तिनाथ तथा दामोदर कुण्डसम्म पुग्ने गरिन्छ । परापूर्व कालदेखि नै नेपाली हिन्दू धर्मावलम्बीहरु मुस्ताङको जोमसोमबाट तीन दिन पैदल यात्रा गरेर दामोदर कुण्ड पुग्ने गर्दथे । कठिन यात्रा भए पनि धार्मिक महत्वको स्थान भएको हुदा निकै लोकप्रिय छ ।
मुस्ताङको तल्लो भेकमा पर्ने थासाङ गाउँपालिकाको कोबाङका कर्मचारीहरु पनि आन्तरीक पर्यटकका रुपमा दामोदर कुण्ड पुगेर फर्केका छन् । कोबाङदेखि पहिलो दिन लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको याराघारा सम्म गाडीको यात्रामा पुगिन्छ । त्यस पछिको दोश्रो दिन घोडा तथा पैदल यात्रा करिब १० घण्टा पछि दामोदर कुण्डमा पुग्न सकिन्छ ।
दामोदर कुण्डमा बस्नका लागि ठाँटी हुन्छ र त्यहाँ बस्ने बन्दोबस्तको सामानहरु आफै लिएर जानु पर्छ । दामोदर कुण्ड क्षेत्रमा दूध कुण्ड, चक्रकुण्ड, तामाकुण्ड गरी तीन वटा कुण्ड रहेका छन् । हिन्दू तथा बुद्ध धर्म मान्नेहरुको आस्थाको केन्द्र मानिने दामोदर कुण्डमा बर्सेनि भारतीय तथा नेपाली धार्मिक पर्यटकहरु पुग्ने गरेको उक्त क्षेत्रमा पछिल्लो दुई वर्ष भने सुनसान प्राय छ । दामोदर कुण्डसम्म पुग्नका लागि कठिन भए पनि निकै मनमोहक र आनन्ददायक रहेको मंगला गाउँपालिका–२ म्याग्दी घर भई थासाङ गाउँपालिकामा कार्यरत सकुन्तला अधिकारीको भनाई छ ।
उपल्लो मुस्ताङ लोमान्थाङ तथा कोरला पुग्न प्रयास गर्नेहरु पनि अहिले मुस्ताङ भित्रैका रहेका छन् । भारत र तेस्रो देशका नागरिकहरु लोमन्थाङ, कोरला तथा दामोदर कुण्डमा बढी पुग्ने गर्दछन् ।
बौद्ध र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको महिमा नेपालभन्दा भारतमा धेरै रहेको छ । भारतका प्रधानमन्त्री मोदीले पनि मुक्तीनाथ मन्दीरको दर्शन गर्नुभएको थियो ।
केही वर्ष अगाडि मोदीले मुक्तिनाथ मन्दीरको दर्शन गर्न आएको समयमा भारतमा निर्वाचन चलिरहेको समय पर्दा भारतमा मुक्तिनाथ पुगेर सञ्चार माध्यममा कभरेज गराएर मोदीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै भारतमा विरोध पनि भएको थियो ।