फोटो फिचर | प्रदेश |

कन्याम र अन्तुमा अंग्रेजी नयाँ बर्ष मनाउन पर्यटक भीड (फोटो फिचर)

प्रेम अधिकारी
पशुपतिनगर, पुस १६ गते । अंग्रेजी नयाँ बर्ष २०२२ मनाउने पर्यटकले यतिबेला इलामका चर्चित पर्यटकीयस्थल कन्याम र अन्तु भरीभराउ भएको छ । सधैजसो पर्यटकले भरीभराउ हुने कन्याम र अन्तुमा अंग्रेजी नयाँ बर्ष मनाउने पर्यटकले अग्रीम होटल तथा होमस्टे बुकिङ गरेका छन् ।

नेपालका बिभिन्न जिल्लाका र बिशेषगरी भारतीय पर्यटकले यस पटक अग्रीम होटल, होमस्टे बुकिङ गरिसकेका छन् । सधै भीड हुने यी क्षेत्रमा अंग्रेजी नयाँ बर्षमा पर्यटकको चाप बढने भएर कोठा नपाइने भएपछि पर्यटकले अग्रीम बुकिङ गरेको अन्तुका होमस्टे सञ्चालक रुद्र घिमिरेले बताउनुभयो ।

उहाँकाअनुसार अन्तुका सबैजसो होटल, होमस्टे शुक्रबार र शनिबारका लागि बुकिङ भैसकेका छन् । घिमिरेले भन्नुभयो, “अंग्रेजी नयाँ बर्ष मनाउन यस पटक भारतीय पर्यटकको ओइरो लागेको छ ।” छिमेकी देश भारतको सिक्किम, बिहार, सिलीगुडी, दार्जिलिङ र पश्चिम बंगालका पर्यटकले होटल बुक गरेका छन । अन्तुमा ६४ वटा सामुदायिक र नीजि होमस्टे र ३८ वटा होटल तथा कटेज सञ्चालनमा छन ।

अन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोक गर्न आउने गरेका छन । अन्तु पोखरीमा डुंगा सयर गर्न र घोडचढी गरी चिया बगान डुल्न पर्यटक रुचाउँछन । चियावारी, फुलवारीभित्र चिटिक्कै सजाइएका काठे घर अनि स्थानीय उत्पादनको स्वाद चखाउँदै चलाइएका होमस्टेले पर्यटकलाई तान्ने गरेको अन्तु आउनु भएका स्वदेशी पर्यटक लक्ष्मी अधिकारीले बताउनुभयो ।

भारतको दार्जिलिङबाट अंग्रेजी नयाँ बर्ष मनाउन केहिदिन अघिदेखि अन्तुमा बसीरहनु भएका शरद भण्डारीले जति आएपनि अन्तु र कन्याम आईरहुँ लाग्नेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई यति नजिकै रहेका अन्तु र कन्यामले हरेक बर्ष नयाँ बर्षमा तान्न थालेको छ ।”

पर्यटकहरु राती अवेरसम्म कन्याममा रमाउने गरेका छन् । सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले दुई देशबीचको सामिप्यता अग्रेजी नयाँ बर्षले बढाएको बताउनुभयो । उहाँले भारतीय पर्यटक अन्तु र कन्याम आउन रुचाउने गरेको बताउनुभयो ।