फोटो फिचर | प्रदेश |

साेलुकाे पत्ताले हिउँले ढपक्कै, आन्तरिक पर्यटककाे भीड (फोटो फिचर)

सन्तोष राउत
पत्ताले (सोलुखुम्बु), पुस १६ गते । दर्जनौँ हिमशृङ्खला सहजै नियाल्न सकिने जिल्लाको तल्लो क्षेत्रमा रहेको पत्ताले पछिल्लो समय परेको हिमपातका कारण आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सदरमुकामबाट नजिक रहेको र लामो समय हिउँ रहने भएकाले पत्ताले घुमफिरका लागि रोजाईमा परेको हो ।

सदरमुकाम सल्लेरीबाट सडकमार्ग प्रयोग गरी करिब एक घण्टाको दूरीमा रहेको सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका र ओखलढुङ्गाको सिमानामा पर्ने पत्तालेमा हिउँ खेल्न आउनेको संख्या ह्वात्तै बढेको हिमाली होमस्टेका सञ्चालक स्थानीय प्रकाश मगरले बताउनुभयो ।

समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटर उचाइमा रहेको पत्तालेमा बाक्लो हिउँ भएकाले छिमेकी जिल्लाका नागरिक समेत हिउँ खेल्न आइरहेको उहाँको भनाई छ । पछिल्लो समय सल्लेरीमा रहेका कर्मचारी, विद्यार्थीलगायत आसपासका जिल्लाका सर्वसाधरण समेतको रोजाईमा पत्ताले परेको उहाँले बताउनुभयो ।

हिउँ पनि खेल्न पाइने र सगरमाथालगायत दर्जन बढी हिमशृङ्खलाहरुको दृष्यावलोकन पनि एकसाथ गर्न पाउने भएकाले पर्यटकको आकर्षण बढेको स्थानीयको भनाई छ । यहाँबाट सगरमाथा, गौरीशङ्करलगायत दर्जन बढी हिमाल अवलोकनको आनन्द लिन सकिन्छ । हिउँ खेल्न त्यहाँ पुग्नुभएका कैलाश कोइरालाकाअनुसार हिउँ खेल्नका लागि पत्ताले धेरै रमाइलो ठाउँ हो ।

पत्ताले क्षेत्रमा प्रसिद्ध धार्मिकस्थल गौरीटाप डाँडा पनि भएकाले हिउँ खेल्ने तथा घुमफिरका लागि आकर्षक बनेको छ । त्यहाँ गाईको खुट्टाको पाइला भएको प्राकृतिक ढुङ्गा रहेको छ भने शिव, पार्वती र गणेशको आकृति भएको प्राकृतिक ढुङ्गाले पर्यटकलाई आकर्षित गर्नेगरेको उहाँहरुको भनाई छ । त्यसको अवलोकन गर्न सयौँको संख्यामा आन्तरिक पर्यटक पुग्नेगरेको कोइरालाले बताउनुभयो । सो स्थानमा आगन्तुकको खान तथा बासका लागि गेष्ट हाउस, होमस्टे सञ्चालन गरिएका छन् ।