चाक्सीबारीमा महामन्त्री कोइराला र नेता सिंहबीच भेटवार्ता
काठमाडौँ । मङ्सिर ४ गते । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। भेटमा पार्टी महाधिवेशनमा सहकार्यको विषयमा छलफल भएको नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिनुभयो ।
नेता सिंहको निवास चाक्सीबारीमा भएको भेटमा महामन्त्री कोइरालाले सहयोग गर्न आग्रह गर्नुभएको छ । नेता सिंहले सहकार्यका लागि छलफल गर्नुपर्ने तर आफू सभापति उम्मेदवारबाट पछाडि फर्किन नसक्ने बताउनुभएको छ ।
'अब सभापतिको उम्मेदवारीबाट पछाडि फर्किने ठाउँ छैन’, सिंहको भनाइ उद्धृत गर्दै लामिछानेले भन्नुभयो, 'मिलेर जान सकिन्छ ।’ १४ औं महाधिवेशनमा दुवै नेताले सभापतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा दिनुभएको अभिव्यक्तिप्रति ‘सरी’ भन्नुभएको लामिछानेको भनाइ छ । सोमबार सर्लाहीको हरिवनमा आयोजित कार्यकर्ता भेलामा महामन्त्री कोइरालाले नेता सिंहलाई उपत्यका बाहिर कसैले नचिन्ने बताउनुभएको थियो ।