राजनीति | राष्ट्रिय |

सभापतिमा उम्मेदवारीबारे निधिको नीति तथा योजना सार्वजनिक

काठमाडौं, मङ्सिर ९ गते । सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा आफ्नो सभापतिमा उम्मेदवारीको औचित्य पुष्टिका लागि नीति एवम् योजनासहितको प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ ।

काँग्रेस उपसभापति निधिले १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणासँगै सम्पर्क कार्यालयमार्फत महाधिवेशनको तयारी अगाडि बढाउनुभएको थियो ।

आगामी निर्वाचनबाट काँग्रेसको एकल सरकार हुनुपर्ने मूल नारासहित घोषणापत्र सार्वजनिक गरिएको उहाँको भनाइ छ । मङ्सिर २४ गते हुने कांग्रेस महाधिवेशनबाट निर्वाचित कार्य समितिले आवधिक नीति तथा कार्यक्रम तय गर्नुपर्ने उहाँले बताउनुभयो ।

पार्टीलाई सुदृढीकरण एवम् संस्थागत गर्दै हिमाल, पहाड र तराईलगायत महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, पिछडिएका वर्ग, धर्म र सबै समुदायको सम्मान गर्ने पार्टीको रुपमा काँग्रेसलाई स्थापित गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी रहेको दाबी गर्दै पार्टी रुपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण आवश्यक रहेको बताउनुभयो ।

यसबाहेक देशको वर्तमान राजनीतिक समसामयिक विषय, परराष्ट्र नीति, छिमेक सम्बन्ध संविधान संशोधन एवम् विश्वव्यापीरुपमा फैलिएको जलवायु परिवर्तन लगायतका विषयमा उहाँले नीति तथा योजना प्रस्तुत गर्नुभएको हो।