केपी ओली एमाले अध्यक्ष निर्वाचित
काठमाडौँ, मङ्सिर १४ गते । नेकपा (एमाले)को अध्यक्षमा केपी ओली निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्ष ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो ।
मङ्सिर १० गतेबाट चितवनमा सुरु भएको महाधिवेशनमा सहमतिको प्रयास विफल भएपछि मतदान भएको थियो । मङ्गलबार बिहान ४ बजेबाट सुरु भएको मतदानको मतपरिणाम साँझपख सार्वजनिक भएको हो । अध्यक्ष ओली पुनः पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुनुभएकाे हाे । एमाले निर्वाचन समितिका अनुसार ओली १८ सय ४० मत ल्याएर विजयी हुँदा अध्यक्षका अर्का उम्मेदवार रावलले २२३ मत मात्र ल्याउनुभएको छ । १० औँ महाधिवेशनका २ हजार १ सय ५३ प्रतिनिधिमध्ये २ हजार ९६ जनाले मतदान गरेका थिए।
पहिलो कार्यकालका लागि ९औँ महाधिवेशनमा ओलीले माधवकुमार नेपाललाई पराजित गर्नुभएको थियो । वि.सं. २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा जन्मनुभएका ओली वि.सं. २०२२ सालमा बसाइँ सरेर झापा आउनुभएको हो । वि.सं. २०२३ सालदेखि राजनीतिमा प्रवेश गर्नुभएका ओलीले वि.सं. २०२७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर भूमिगत हुनुभएको थियो ।
ओली पञ्चायत विरोधी आन्दोलनमा सहभागी हुँदा १४ वर्ष जेल बस्नुपरेको थियो । लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै दुई कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
१० औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित हुँदा अष्टलक्ष्मी शाक्यले लोकप्रिय मत प्राप्त गर्नुभएको छ । शाक्यले १९ सय ७६ मत प्राप्त गर्दा भुसालले ७२५ मत मात्र पाउनुभएको छ ।
सचिवमा भीम आचार्य र टङ्क कार्की पराजित हुनुभएको छ । आचार्यले १३०० मत प्राप्त गर्नुभएको छ भने कार्कीले पाँच सय मत ल्याउनुभएको छ। सचिवमा योगेश भट्टराईले सर्वाधिक १९६४ मत प्राप्त गर्नुभएको छ ।