महाधिवेशनले पार्टी कहिल्यै नफुट्ने सन्देश दिएको छ : कमल थापा
काठमाडौँ, मङ्सिर २१ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले एकता अधिवेशनले पार्टी कहिल्यै नफुट्ने सन्देश दिएको बताउनुभएको छ ।
विभाजनको पीडा भोगेको पार्टी महाधिवेशनले कहिल्यै नफुट्ने सन्देश दिएको उहाँको भनाइ छ । थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सम्पूर्ण पदाधिकारी र सदस्यलाई बधाई दिँदै यस्तो बताउनुभएको हो ।
‘महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सम्पूर्ण पदाधिकारी र सदस्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु’, अध्यक्ष थापाले विज्ञप्ति सार्वजनिक गर्दै भन्नुभएको छ, ‘महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पीडा भोगेको हुँदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुँदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ ।’
अध्यक्ष थापाले अध्यक्ष पदमा पराजित भए पनि निरन्तर पार्टी एकताको पक्षमा सकारात्मक सहयोग रहने उल्लेख गर्नुभएको छ । थापाले नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजाले हस्ताक्षर गरेको भन्दै आपत्ति जनाउनुभएको छ । ‘अध्यक्ष पदमा पराजयका बाबजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहनेछ’, थापाले भन्नुभएको छ, ‘केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु ।’