राजनीति |

महाधिवेशन स्थलमा प्रधानमन्त्रीसहित शीर्ष नेताको उपस्थिति

काठमाडौँ, मङ्सिर २४ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटनन समारोहमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगै शीर्ष नेता पुग्नुभएको छ । शुक्रबार दिउँसो १ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही ढिला भए पनि कांग्रेस र अन्य दलका शीर्ष नेता उपस्थित हुने क्रम जारी रहेको छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, डा. शेखर कोइरालालगायत नेता उपस्थित भइसक्नुभएको छ ।

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन भने समारोह स्थलमा पुग्नुभएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेता उपस्थित हुनुहुनेछ ।

मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ। उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने क्रम सुरु भएको छ ।