राजनीति | राष्ट्रिय |

संविधानमाथि असन्तुष्टि अझै छ : महन्थ ठाकुर

काठमाडौं, मङ्सिर २४ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अझैसम्म आफूहरुको असन्तुष्टि संविधानसँग रहेको बताउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘हाम्रो असन्तुष्टि अझै पनि संविधानसँग छ’, अध्यक्ष ठाकुरले भन्नुभयो, ‘संविधानको मस्यौदा सार्वजनिक भएसँगै असन्तुष्टि प्रकट हुँदै आएको कुरा सबैलाई थाहा छ ।’

अध्यक्ष ठाकुरले संविधानप्रति असन्तुष्टि जनाउन भएका आन्दोलनका क्रममा केही साथीहरु जेलमा परेको र उहाँहरुले अझै न्याय नपाएको सम्झना गर्नुभयो । उहाँले आफ्नो पार्टीले उठाएका मुद्दाहरु सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले १३९ जना नेता तथा कार्यकर्ताहरुलाई जेलमुक्त गरेको स्मरण गर्दै अझै समस्याहरु बाँकी रहेको बताउनुभयो ।

साथै उहाँले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहेको समेत बताउनुभयो । सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने उहाँले बताउनुभयो ।