राष्ट्रलाई भ्रष्टचार मुक्त गरेर जनतालाई न्याय दिनुपर्छ : रामचन्द्र पौडेल
काठमाडौं, मङ्सिर २४ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्र्टी नयाँ युगमा प्रवेश गर्ने बताउनुभएको छ । ‘नेपाल राष्ट्र र नेपाली कांग्रेसलाई रुपान्तरण गर्न १४ औँ महाधिवेशन महत्वपूर्ण बन्छ’, वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘महाधिवेशनले पार्टीलाई नयाँ युगमा प्रस्थान गर्नेछ ।’
वरिष्ठ नेता पौडेलले पैसाले चुनाव जित्नेकुरा समाप्त हुनुपर्ने भन्दै भ्रष्टचारबाट देशलाई मुक्त गरेर जनतालाई न्याय दिनुपर्ने बताउनुभयो । ‘विकृति र विसंगतीबाट राष्ट्रलाई अगाडि बढाउनुपर्छ । भ्रष्टचारबाट राष्ट्रलाई मुक्त गरेर आज निमुखा जनतालाई न्याय दिनुपर्छ’, पौडेलले भन्नुभयो, ‘आज निमुखा जनताले न्याय पाउन सकेका छैनन । सामान्य भन्दा सामान्य मान्छेले न्याय पाउने नेपाल बनाउने जिम्मेवारी काँग्रेससँग छ ।’
देशको परिस्थितिको बारेमा महाधिवेशनमा गम्भीर छलफल गर्नुपर्ने भए पनि त्यो सम्भव नभएको उहाँको भनाइ छ । नेता पौडेलले काँग्रेस नेतृत्वले कार्यकर्ता र कार्यकर्ताको मूल्यांकन नेताले गर्नुपर्नेमा जोड दिनुभयो ।
विधिमा काँग्रेस सञ्चालन हुन नसक्नु सबैभन्दा ठूलो चुनौती भएको उहाँको भनाइ छ । महाधिवेशनको समयले पार्टीको भविष्य निर्माण गर्ने उहाँको भनाइ छ । उहाँले सैद्धान्तिक रुपमा कम्युनिस्टलाई कसरी कमजोर बनाउने भन्ने एजेण्डा काँग्रेसले बोक्नुपर्नेमा जोड दिनुभयो ।