राजनीति |

काँग्रेस महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं, मङ्सिर २४ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा शुक्रबार राति ८ बजेबाट बन्द सत्र सुरु भएको काँग्रेस मिडिया सेन्टर संयोजक एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिनुभयो ।

भृकुटीमण्डपमा काँग्रेस महाधिवेशनको बन्दसत्र सुरुबन्दसत्रमा उपसभापति विमलेन्द्र निधिको नीति तथा अनुसन्धाान विभागको प्रतिवेदन, महामन्त्रीको सांगठनिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ ।

यसैगरी राससका अनुसार बन्द सत्रमा १४औँ महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्वन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पेश गरिएको छ ।    
    
 पेश गरिएका प्रतिवेदनउपर छलफल गरी पारित गरिनेछ । यसअघि आज भृकुटीमण्डपको प्राङ्गणमा महाधिवेशनको भव्यरूपमा उद्घाटन सम्पन्न भएको थियो । यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् ।    
    
 पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको छ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।    
    
 उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।