उपसभापतिमा उम्मेदवारी दिने काँग्रेसकी नेतृ कोइरालाको घोषणा
काठमाडौं, मङ्सिर २५ गते । नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले १४ औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने हुनुभएको छ । शनिबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट काँग्रेस नेतृ कोइरालाले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
सिंहले सभापतिमा उम्मेदवारी दिन काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेतृ कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
सिंहको समूहबाट उपसभापति उम्मेदवार बन्ने घोषणा गर्नुभएकी कोइरालाले काँग्रेसको अनुहार फेर्ने क्षमता प्रकाशमान सिंहसँगमात्र भएको बताउनुभएको छ ।
‘मैले फर्किएर हेरेँ, म आफैँ पनि सभापतिको आकांक्षी हुँ । यत्ति धेरै उम्मेदवारमध्ये पार्टीको अनुहार फेर्ने क्षमता प्रकाशमानजीमा देखेँ’, कोइरालाले भन्नुभयो, ‘उहाँले महिलाको नेतृत्व स्वीकार गरेर उपसभापतिको स्थान दिनुभयो । त्यसका लागि म उहाँलाई धन्यवाद दिन्छु ।’
कोइरालाले देशभरका नेपाली काँग्रेसका साथरुले भोट हालेर अत्याधिक मतले जिताउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । ‘एक पटक नयाँ नेतृत्व हेरौँ’, कोइरालाले भन्नुभयो, ‘आम जनताले काँग्रेस बुढो भइसक्यो भन्ने कुराको अन्त्य गर्न हामी अगाडि बढेका हौँ ।’