राजनीति |

सङ्घीय संसद्ले सुशासनको सन्देश दिन सक्नुपर्छ : सभामुख सापकोटा

काठमाडौं, मङ्सिर २८ गते । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र संसद् सचिवालयले सुशासनको शक्तिशाली सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभएको छ । पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको सन्देश प्रवाह गर्न राष्ट्रसेवकलाई निर्देशन दिनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “चारैतिर निराशा रहेका बेला हामीले देश र जनताको सेवामा इमान्दार, निष्ठा र अनुशासनमा रही सुशासनको शक्तिशाली सन्देश दिन सक्नुपर्छ । हामी सबै त्यसतर्फ लागौँ ।” जीवन्त र जनमुखी मात्र होइन, जनताको ढुकढुकी र लोकधारकारुपमा रहेको संसद् सेवाका कर्मचारीलाई लोकतन्त्रको मूल्य मान्यताअनुरुप क्रियाशील हुन सुझाव दिँदै उहाँले भन्नुभयो, “म आफू पनि राष्ट्र र इतिहासले दिएको जिम्मेवारीलाई निष्ठा र इमान्दारीका साथ पूरा गर्नेछु ।”

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले संसद् सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन चुस्त र प्रभावकारी तुल्याउन सुझाव दिनुभयो । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले कर्मचारीका सेवा सुविधा र हित संरक्षण गर्दै लक्ष्यप्राप्तिमा आवश्यक ध्यान दिइने प्रतिबद्धता जनाउनुभयो ।

सचिवालयका सचिव ध्रुवप्रसाद शर्माले सरकारको काम कारवाही निगरानी गर्ने संसद सेवालाई मर्यादित्, गरिमामय र आकर्षक तुल्याउने प्रयास भइरहेको बताउनुभयो । संसद् कर्मचारी यूनियनका अध्यक्ष नवराज नगरकोटीले संसद् सेवाको ओज र सेवा सुविधा बढाउन नेतृत्वबाट पहल आवश्यक रहेको औँल्याउनुभयो ।

संसद् सेवामा आकर्षण बनाउन नसकेका कारण लोकसेवा उत्तीर्ण भएर आउने जनशक्तिलाई टिकाइ राख्न पछिल्लो समय चूनौति रहेको सो अवसरमा जानकारी दिइयो । संसद् सेवामा वर्षभरिको कार्यसम्पादनमा अब्बल ठहरिएका उपसचिव रामकुमार पौडेललाई रु एक लाख राशिको सर्वोत्कृष्ट सङ्घीय संसद् सेवा र शाखा अधिकृत दिपाकुमारी दुलाललाई रु ७५ हजार राशिको उत्कृष्ट सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गर्ने घोषण गरियो ।

वरिष्ठ प्रेस प्राविधिक राजेन्द्रप्रसाद लामिछाने र कार्यालय सहयोगी सिजन खनालललाई जनही रु ५०/५० हजार राशिको यस वर्षको सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गरियो । यस वर्षको संसद् सेवा दिवसको मूल नारा लगनशीलता र कर्तव्य निष्ठा : संसद् सेवाको प्रतिष्ठा तय भएको थियो ।

संसद्लाई स्वतन्त्र तवरले विशेषज्ञ प्रकृतिको सेवाका रुपमा स्थापित गर्न विस् २०५८ मङ्सिर २८ गते स्वायत्त संसद् सेवा गठन गर्न ऐन जारी भएको दिनको सम्झनामा सङ्घीय संसद् सेवा दिवस मनाइँदै आएको छ । विगतमा केही वर्ष संसद् नरहेको अवस्थामा दिवस मनाउने काम रोकिएकामा २०६४ सालबाट पुनःआरम्भ गरिएको थियो । सभामुख सापकोटाले समारोहमा सङ्घीय संसद् सचिवालयको वार्षिक प्रकाशन स्मारिका लोकार्पण गर्नुभयो । यस वर्ष संसद् दिवसका दिन अर्थात् आजैबाट हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ ।