मलाई नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक : भीम रावाल
काठमाडौँ, पुस ३ गते । नेकपा (एमाले) नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
शनिबार ट्वीट गर्दै नेता रावलले आफूलाई नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक रहेको बताउनुभएको हो । उहाँले यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यता विपरीत रहेको उल्लेख गर्नुभएको छ ।
‘मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ’, रावलले ट्वीटमा भन्नुभएको छ, ‘यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’
एमाले अध्यक्षमा पराजित भएपछि रावलले केन्द्रीय सदस्य बन्न अस्वीकार गर्नुभएको थियो । चितवनमा सम्पन्न एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावल केपी ओलीसँग भारी मत अन्तरले पराजित हुनुभएको हो ।
मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) December 18, 2021