राजनीति |

राजनीतिक दलविरुद्ध घृणा फैलाएर राजसंस्था फर्किंदैन : कमल थापा

काठमाडौँ, पुस ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राजनीतिक दलविरुद्ध घृणा फैलाएर राजसंस्था नफर्किंने बताउनुभएको छ । सामाजिक सञ्जालमा सक्रिय थापाले ट्वीट गर्दै दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलविरुद्ध घृणा फैलाएर राजसंस्था फर्किंन नसक्ने प्रष्ट पार्नुभएको हो ।

राजनीतिक दल र आम जनताको विश्वास नै राजसंस्था पुनःस्थापनाको बाटो भएको भन्दै उहाँले विदेशी गुहारेर केही नहुने उल्लेख गर्नुभएको छ। ‘राजनीतिक दल र आम जनताको विश्वास नै राजसंस्था पुन : स्थापनाको एकमात्र बाटो हो। विदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन’, उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’को सोचाइ गलत र प्रत्युत्पादक छ ।’

राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले निर्मल निवासप्रति आक्रोश व्यक्त गर्दै आउनुभएको छ । आफूलाई पार्टी अध्यक्षमा पराजित गर्न निर्मल निवासले भूमिका खेलेको उहाँको आरोप छ ।