सर्वदलीय बैठकअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक
काठमाडौँ, पुस ४ गते । सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्षनेता छलफलमा जुट्नुभएकाे हाे ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सहयोगी रमेश मल्लका अनुसार दिउँसो २ बजेदेखि सुरु भएको छलफल जारी छ । ‘सत्ता गठबन्धनको छफलफल २ बजेदेखि जारी छ’, मल्लले भन्नुभयो, ‘सङ्घीय संसद् सुचारु गर्ने विषयमा साझा धारणा बनाउने गरी छलफल भएको हो ।’
आइतबार अपराह्न ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ।
सङ्घीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको छ । त्यसअघि सत्ता गठबन्धनको आधिकारिक धारणा बनाउन बैठक बसेको हो ।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले, नेकपा (माओवादी केन्द्र (नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतलाई बोलाइएको छ । प्रतिपक्षी दल एमालेले भने बैठकमा सहभागी नहुने बताइसकेको छ ।