माओवादी केन्द्र कर्णालीले राष्ट्रिय सम्मेलनका प्रतिनिधि टुंगो लगायो
राजन रावत
हुम्ला, पुस ६ गते । नेकपा (माओवादी केन्द्र) कर्णालीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको छ ।
पुस ११ गतेबाट राजधानीमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको माओवादी केन्द्र हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारीले बताउनुभयो । कर्णाली प्रदेशका १० जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि ८८ प्रतिनिधि छनोट भएको उहाँको भनाइ छ ।
पार्टीको सर्कुलर अनुसार १५ सय सदस्य बराबर एक जना सम्मेलन प्रतिनिधि र संघीय संसदको निर्वाचन क्षेत्रबाट दुई जना प्रतिनिधि छनोट गरिएको छ ।
कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिमबाट १५ र सबैभन्दा कम डोल्पा जिल्लाबाट तीन जना प्रतिनिधि छनोट हुनुभएको छ।
अन्य जिल्लाबाट राष्ट्रिय महाधिबेशनमा सहभागी हुने प्रतिनिधिमा सुर्खेत र जाजारकोटबाट १०–१० जना, मुगुबाट पाँच जना, सल्यान र कालिकोटबाट ११–११ जना, दैलेख, जुम्ला र हुम्लाबाट सात–सातजना जना प्रतिनिधि छनोट गरिएको छ ।
भण्डारीका अनुसार १० वटै जिल्लाका महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको हो ।