प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे
काठमाडौँ, पुस ६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजे बस्ने सूचना सार्वजनिक गर्दै बैठक स्थगित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार अर्को बैठक पुस ७ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।
मङ्गलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच दुई अध्यादेश पारित भएका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गर्नुभएको ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पारित भएका हुन् ।
सांसद् प्रेम सुवालले दुवै प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सुवाललाई अस्वीकार प्रस्ताव फिर्ता गर्न अस्वीकार गरेपछि प्रतिपक्षी दल एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गर्नुभएको हो ।