राजनीति |

नौ पदाधिकारीका लागि ३३ जनाको उम्मेदवारी दर्ता

गोकुल पराजुली

विराटगनर, पुस ७ गते । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीले सहमतिमा पदाधिकारी छान्न नसकेपछि निर्वाचन प्रकृया अगाडि बढाएको छ ।

पदाधिकारी निर्वाचित गर्न साँझ ७ बजेबाट मतदान गर्ने गरी निर्वाचन समितिले निर्वाचन प्रकृया अगाडि बढाएको हो । प्रदेश कमिटीमा निर्वाचित हुने नौ जना पदाधिकारीका लागि ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदमा हर्कबहादुर नेम्वाङ्ग, मुक्साहाङ मेयाङ्बो र कुबेर श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । तीन उपाध्यक्ष पदका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ भने एक सचिव पदमा गणेश उप्रेती सुशील, सिपी कडरिया र वीरेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

तीन सहसचिव पदका लागि १४ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

साँझ ७ बजे भित्र उम्मेदवारी फिर्ता लिई अन्तिम नामावली प्रकाशन गर्ने र लगत्तै मतदान आरम्भ गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ।

मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको माओवादी केन्द्रले पदाधिकारी भने सहमतिमा छान्न सकेको थिएन ।

पटक पटक सहमतिको प्रयास गरे पनि सफल नभएपछि बुधबार अपराह्नबाट निर्वाचन प्रकृया अगाडि बढाएको हो ।