राजनीति | समाज |

संघीय शिक्षा ऐन फास्ट ट्रयाकबाट ल्याउने तयारी

काठमाडौँ, पुस ८ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन फास्ट ट्रयाकबाट ल्याउने तयारीमा भएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले शिक्षा सम्बन्धी संघीय ऐन संसद्‍मा लाने तयारी गरिएको बताउनुभएको हो ।

‘फास्ट ट्रयाकबाट शिक्षा ऐन मन्त्रिपरिषद्मा लैजाने तयारीमा छौं’, बिहीबारको बैठकमा उहाँले भन्नुभयो, ‘यसका लागि समितिका सदस्यले सहयोग गर्नुपर्छ ।’

लामो समयदेखि ऐनहरु रोकिएकाले शिक्षामा असर परिरहेको उहाँको भनाइ छ । ‘लामो समयदेखि ऐनहरू रोकिएकाले माध्यमिक, प्राविधिक तथा उच्च शिक्षामा असर परिरहेको छ’, मन्त्री पौडेलले भन्नुभयो, ‘यी ऐनका मस्यौदा तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । फास्ट ट्रयाकबाट भए पनि ल्याउँछौँ ।’

पूर्वशिक्षामन्त्रीले गरेका कामलाई निरन्तरता दिँदै संघीय शिक्षा ऐनका विषयमा सरोकारवाला पक्षसँग छलफल भइरहेको उहाँको भनाइ छ । कसैका प्रेसरले हुँदैन,’ उहाँले भन्नुभयो, ‘सम्बन्धित सरोकारवाला पक्ष र विज्ञका कुराबाहेक अन्य व्यक्तिको प्रेसर स्वीकार्य छैन ।’

स्थानीय र प्रदेश सरकारलाई संघीय सरकारको काम कतव्र्य प्रत्यायोजनको चरणमा रहेकाले धेरै कुरा संघीय शिक्षा ऐनले सम्बोधन गर्ने उहाँको भनाइ छ । शिक्षक सेवा आयोगको ११ औं सशोधन नियमावली मन्त्रिपरिषद्ले पास गरेको बताउँदै शिक्षकको आन्तरिक बढुवाको काम सुरु भएको उहाँको भनाइ छ ।

बैठकमा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्लानिङ कमिसनले तयार पारेको १५ औं योजना र उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

उहाँले विभिन्न कलेजले विद्यार्थीबाट मापदण्ड विपरित पैसा उठाइरहेको भन्दै यसमा अनुगमन गरेर कारबाही गर्न ध्यनाकर्षण गराउनुभएको हो । यस्तै, खगराज अधिकारीले अभिभावकको दायित्वको विषयमा पनि कानुनमा व्यवस्था गरिनु पर्नेमा जोड दिनुभएको छ ।