निर्वाचनको तयारीमा आयोग : आचारसंहितालाई व्यवस्थित गरिने
धुलिखेल, पुस ८ गते । निर्वाचन आयोगले निर्वाचनको तयारी थालेको छ । निर्वाचन सञ्चालन, व्यवस्थापन सम्बन्धी पत्रकारका लागि आयोगल कार्यशाला गरेको छ । धुलिखेलमा आयोजित कार्यशालाको दोस्रो दिन बिहीबार निर्वाचन र आमसञ्चारका विविध आयामका विषयमा छलफल भएको छ ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले अहिलेको डिजिटल युगमा निर्वाचन सम्बन्धी गतिविधि प्रविधिमा आधारित गर्नुपर्ने बाध्यकारी अवस्था आएको बताउनुभयाे । अहिले छापामाध्यम मात्र नभएर डिजिटल मिडियाको वर्चश्व बढ्दै गएकाले पनि प्रविधिमा आधारित निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नुपर्ने उहाँकाे भनाइ छ ।
त्यस्तैगरी गोरखापत्र दैनिकका चिफ रिपोर्टर नारद गौतम, निर्वाचन आयोगका उपसचिव कोमलप्रसाद धमला र पत्रकार किरण चापागाईं, पत्रकार नितु पण्डितले आमसञ्चार र पत्रकारले निर्वाचनको बखतमा अनिवार्य पहरेदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
२०६६ पश्चात निर्वाचन आयोगले सञ्चारमाध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने स्वीकार गर्दै मुख्य सरोकारवालाका रुपमा व्यवहार गर्ने गरेको छ । हालको पन्ध्रौ पञ्चवर्षीय योजना अनुसार निर्वाचन आयोगले आफ्नो तेस्रो रणनीतिक योजना निर्माण गरेको छ । आयोगले निर्वाचनको अवधिमा सञ्चारमाध्यमलाई महत्वपूर्ण स्थान दिएको छ ।
२०४७ सालदेखि २०६२ सालसम्म आमसञ्चार र पत्रकारिता जगतको नियमन र नियन्त्रणका लागि आचारसंहिता बनाइएको थियो । २०६३ सालदेखि यता आचारसंहितालाई थप व्यवस्थित गर्ने प्रयास जारी रहेको छ । सोही समयदेखि नै निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना गरेर सञ्चारमाध्यमसँगको सहकार्य थप बलियो बनाएको छ ।