राजनीति |

पाँच दलीय गठबन्धन झन बलियो हुनुपर्छ : दुर्गा पौडेल

काठमाडौं, पुस ११ गते । राष्ट्रिय जनमोर्चा पार्टीका उपाध्यक्ष दुर्गा पौडेलले उपलब्धीहरुमाथि हमला भइरहेको भन्दै पाँच दलीय गठबन्धन झन बलियो हुनुपर्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा आफ्नो शुभकामना मन्तव्य राख्नुहुँदै उहाँले माओवादी केन्द्रको मात्रै महाधिवेशन नभएको पनि बताउनुभएको छ ।

‘गणतन्त्र, लोकतन्त्रण र धर्मनिरपेक्षतामाथि चौतर्फी हमला भइरहेको छ,’ उहाँले भन्नुभयो,‘ ‘मतभेदकाबीच पनि उच्च प्रकारको एकता आवश्यक छ । आज प्रतिगमन चर्को रूपमा प्रस्तुत भइरहेको छ । यसविरुद्ध पाँच दलीय गठबन्धनलाई झन् एकताबद्ध बनाएर लैजानुपर्छ ।’

पौडेले गठबन्धन र एमसीसीबारे महत्वपूर्ण निर्णय महाधिवेशनबाट लिने अपेक्षा गरेको पनि बताउनुभयो । ‘राष्ट्रघाती एमसीसी खारेज गर्न पनि यो महाधिवेशनले महत्वपूर्ण निर्णय लियोस्,’ उहाँले भन्नुभयो ।

साथै उहाँले यो महाधिवेशनले लिने निर्णयले देशको राजनीतिलाई महत्वपूर्ण योगदान दिने पनि बताउनुभयो ।