पार्टी विभाजन गरेर समाजवाद आउँदैन : अध्यक्ष ओली
काठमाडौँ, पुस १८ गते । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने आरोप लगाउनुभएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले भर्चुअल आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।
स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको आरोप उहाँको छ ।
उहाँले यस नयाँ वर्षमा नयाँ जनतमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्ने जनाउँदै सो कार्यमा निरन्तर सघाउन प्रवासी नेपालीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गराउन प्रवासी नेपालीको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।