माओवादी पदाधिकारीको चयन सोमबार
काठमाडौं, पुस १८ गते । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
प्रवक्ता महराका अनुसार सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ । महाधिवेशनबाट दुई सय ३६ केन्द्रीय सदस्य सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्यको नाम बन्दसत्रको हलले अनुमोदन गरेको हो ।
बाँकी पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकले टुंगो लगाउने महराले जानकारी दिनुभयो । सोमबार बस्ने केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित थप केन्द्रीय सदस्य चयन गर्ने उहाँको भनाइ छ ।