राष्ट्रियसभा सदस्यका लागि कर्णालीबाट छ जनाको उम्मेदवारी दर्ता
मुना हमाल
सुर्खेत, पुस २० गते । कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । तीन सिटका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजबादीको तीन दलीय गठबन्धन र एमालेले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट (सुर्खेत) र नेकपा एकीकृत समाजबादीका उदय बोहोरा (सल्यान) ले उम्मेदवार दर्ता गराउनुभएको हो । गुरुङ महिलाबाट, बिष्ट अपांगताबाट र बोहोरा अन्यबाट उम्मेदवारी दिनुभएको हो ।
यस्तै एमालेबाट सुर्खेतका चूडामनि शर्मा, महिलाबाट जुम्लाकी गंगा महत र अल्पसंख्यकबाट दैलेखका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराउनुभएको हो । माघ १२ गते हुने निर्वाचनमा कर्णालीमा तीन दलीय गठबन्धन र एमालेबिच प्रतिष्पर्धा हँुदैछ । कर्णालीमा एक महिला, अन्य एक र अपाङ्गता÷अल्पसङ्ख्यक कोटामा गरी तीन सदस्यका लागि निर्वाचन हुँदैछ । कर्णालीमा महिलाबाट कविता बोगटी, अपाङ्गताबाट जीवन बुढा र अन्यबाट ठगेन्द्रप्रकाश पुरीको पदावधि सकिँदैछ ।
राष्ट्रियसभा सदस्य चुनावका लागि कर्णालीमा स्थानीय तहका प्रमुख/उपप्रमुख १५६ र प्रदेशसभाका ३५ गरी कुल १९१ जना मतदाता छन् । स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ । माओवादी केन्द्रकाको एक हजार ५१२, नेपाली कांग्रेसको एक हजार आठ र एकीकृत समाजबादीको ३७८ मतभार छ । यस्तै नेकपा (एमाले)को कूल एक हजार ४३४ मतभार छ ।
गठबन्धनमा तीन दल रहेकाले गठबन्धनको सहजै जित सुनिश्चित छ । माओवादी केन्द्र, कांगेस र एकीकृत समाजबादी पार्टीको गरेर कर्णालीमा स्थानीय तहबाट एक हजार ८९० र प्रदेशसभाबाट एक हजार ८ मतभार गरी कुल दुई हजार ८९८ मतभार छ ।